२९ पुस,काठमाडौँ । डा. गोविन्द केसीले १४ औँ पटकको अनशन तोडेका छन । शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने नथुनिया मोतीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन । हिजो बेलुका स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग ५ बुँदे सहमति गरेर डा। केसी अनशन तोड्न सहमत भएका हुन ।

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा शशी शर्मालाई पुनर्वहाली गर्ने फैसला गरेपछि डा. केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै गएको सोमबारदेखि अनशन बसेका थिए । अनसन तोड्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने बताए ।

डा. केसी र सरकारबिच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन ।

प्रतिकृया

प्रतिकृया