पुरु रिजाल/


“प्रेमदिवस र प्रेम”

सधैँ गरिराख्ने कुरालाई पनि कुनै न कुनै दिन विशेष दिन मानेर मानाइन्छ । याे हाम्राे छुट्टै विशेषता हाे । हामीले प्रेम के हाे भन्ने बुझेर प्रेमदिवस हर्ष र उमङ्गका साथ मनाउनुपर्छ ।

केहि महिनादेखि मैले नेपाली साहित्यका थुप्रै कथासंग्रह र उपन्यासहरू पढिरहेछु । सामाजिक सञ्जालमा पनि भुराभुरी पिङमा झुण्डिएझैँ झुण्डिरहेकै छु । मैले ती पुस्तकमा पढेको र सामाजिक सञ्जालका भित्तामा टाँसिएका विभिन्न स्रष्टाहरूको प्रेम विषयक विचारहरू, अनि मैँले एक, दशकदेखि पढ्दै आएको संस्कृत साहित्यको महान् ग्रन्थहरूमा निरूपण गरिएका प्रेम विषयक चर्चाहरूमा आकाश र पातालको भिन्नता पाएँ । हुन त मलाई संस्कृतसाहित्यको महान् ग्रन्थहरूको प्रभाव परेर होला, म अहिले अरुले अर्थ्याएको प्रेमको विषयमा गरिएको परिभाषमा १ प्रतिशत पनि सहमत छैन । मेरो विचारमा अहिले प्रेम शब्दको नै दुरूपयोग भएको छ । अहिले जुन कुरालाई प्रेम भनिरहेका छन्, त्यो त वासना मात्रै हो । मैले धेरै मान्छेहरूलाई भेटेको छु । सामाजिक सञ्जालले पनि यसमा धेरै सहयोग गरेको छ । ती मध्ये कमैले मात्र होला मलाई घृणा गर्ने, मेरो प्रगति भएको हेर्न नचाहने । फेरि बाँकी रहेकाहरूले चाहिँ सबैले प्रेम गर्छन् भन्न खोजेको पनि हैन । विभिन्न गुणहरू देखेर र रूप देखेर प्रेम गर्ने त धेरै भेटेको छु तर सच्चा प्रेम गर्ने चाहिँ कमै मात्र भेटेको छु ।

केही मानिस प्रेम गर्नेसंग प्रेम गर्छन्, केही प्रेम नगर्नेसंग प्रेम गर्छन् र केही चाहिँ यस्ता पनि हुन्छन् जो कसैलाई पनि प्रेम गर्दैनन् । प्रेमदातासंग प्रेम गर्ने स्वार्थी हो । जस्तो उदाहरणको रूपमा हेरौँ- अबोध बालक । बालकले कसैलाई प्रेम नगरे पनि बालकलाई सबैले प्रेम गर्छन् । प्रेमको सबैभन्दा ठूलो उदाहरण त श्रीमद्भागवतमहापुराणमा छ । म यो ग्रन्थलाई साहित्यको सबैभन्दा ठूलो ग्रन्थ मान्छु । जसमा धेरै छन्दहरूको, धेरै अलङ्कारहरूको, नवै ओटा रसहरूको अझै भन्नुपर्दा असल साहित्य सिर्जना गर्दा चाहिने सबैकुराको प्रयोग भएको छ । यो ग्रन्थमा सच्चा प्रेमको उदाहरण गोपिनीहरूले श्रीकृष्णलाई गरेको प्रेमको उदाहरण हो । हुन त श्रीकृष्ण भन्नेवित्तिकै धेरैले औँला उठाउने गरेको पाइन्छ । मलाई लाग्छ ती औँला उठाउनेहरूले बुझेर कहिल्यै पनि औँला उठाएनन् होला । जतिले औँला उठाएका छन् नबुझिकन उठाएका छन् । साहित्यले अभिधार्थलाई मात्र बुझाउँदैन । स्रष्टाले कुन उद्देश्यले शब्द प्रयोग गरेको छ त्यो पाठकले बुझ्नु आवश्यक हुन्छ । कौवाले कान लग्यो भन्दैमा कौवाको पछि लाग्नु वेकुफीपना हो, त्यस्तै मूल रहस्य नबुझिकन औँला उठाउनेहरू पनि त्यही वर्गमा पर्दछन् । अतः औँला उठाउनु पूर्व त्यस विषयको पूर्ण जानकारी हुनु आवश्यक छ । कुनैपनि विषयको पूर्ण जानकारी भएपछि मात्र त्यो विषयमा औँला उठाउनु उपर्युक्त हुन्छ ।

संस्कृत साहित्यको स्रष्टा वेदव्यासले गापिनीहरू र श्रीकृष्णको माध्यमबाट असल प्रेमको प्रस्तुत गरेका छन् । प्रेम भनेको योग हो । योगको अर्थ हुन्छ जोड्नु । प्रेमले पनि प्रेमी प्रेमी बीचमा योग गराउँछ । जहिले पनि प्रेम अन्तरङ्गमा हुन्छ । काम, वासना, मोह इत्यादि कुराहरू चाहिँ बहिरङ्गमा अर्थात् बाहिरी रूपमा हुन्छ । प्रेमलाई त्यागको अपेक्षा चाहिन्छ भने मोहलाई उपभोगको । प्रेम विरहबाट पुष्ट हुन्छ भने मोह संयोगबाट पुष्ट हुन्छ । वियोगमा प्रियपात्रको सतत स्मरण भइरहन्छ संयोगावस्थाको अपेक्षामा विरहावस्थामा प्रेमपात्रका साथ तादात्म्य धेरै हुन्छ । त्यसकारण वियोगलाई एक विशेष प्रकारको योग मानिन्छ । जसले विरह—व्याकुल भएर प्रेमी प्राप्त गर्दछ, ऊ निकै प्रेमीको सान्निध्यमा हुन्छ । गोपिनीहरूलाई निकै नजिकको बनाउन श्रीकृष्ण अदृश्य हुनुभएको थियो । श्रीकृष्णको विरहले गोपिनीहरू यति व्याकुल भएका थिए कि उनिहरू वनका पात–पतिङ्गर, फूल, वृक्ष लहरा इत्यादिलाई मेरो प्रेमी श्रीकृष्णलाई देखेका छौ भनि सोध्दै सोध्दै हिँड्दथे । यो हो सच्चा प्रेम । उनिहरूलाई यत्ति पनि ज्ञान भएन कि पात—पतिङ्गर वृक्ष लहरा इत्यादि जड हुन् यिनीहरूलाई थाहा हुँदैन । उनिहरू त्यसरी विरहले व्याकुल भएका थिए । यसरी धेरै विरह पछि गोपिनीहरूको प्रेमी श्रीकृष्ण प्राप्त भएका थिए, त्यसैले गोपिनीहरू श्रीकृष्णको निकै आत्मीय बनेका थिए ।

जो प्रेमीको विरहमा तल्लीन भएर लाग्छ, उसलाई विरहाग्निले भतभति पोल्दा—पोल्दै पनि अन्तरङ्गमा संयोगको अनुभूति हुन्छ । जो प्रेमीको विरहले हुन्छ, उसको सम्पूर्ण काम वासना बिरहरूपी अग्निले सखाप बनाउँछ र स्वच्छ निर्मल प्रेममात्र बाँकी रहन्छ । त्यसैले विरह विशिष्ट प्रकारको योग हो । प्रेममा अतिशय धैर्यको आवश्यक हुन्छ । धैर्यपनि रुक्मिणीको जस्तो हुनुपर्छ । रुक्मिणीले श्रीकृष्णलाई पठाएको प्रेमपत्रमा यस्तो लेखिएको थियो । ”यर्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात्” । अर्थात् प्रिय प्रियतम मैले जति जन्म लिनु परेपनि हजुरलाई नै वरण गर्छु । हजुरविना म एक्लै रहन सक्दिन । अतः हजुरले मलाई स्वीकारिबक्सियोस् । यो हो अतिशय धैर्यको उदाहरण । यो त हो एउटा उदाहरण यस्ता कयौँ उदाहरण छन् मेरा संस्कृतका महान् ग्रन्थहरूमा । रामायणमा सीताले रामलाई गरेको प्रेम पनि सच्चा प्रेमको उदाहरण हो । रामले सीतालाई सच्चा प्रेम गरेका थिए कि थिएनन् यसमा मलाई शङ्का छ, तर सीताले भने रामलाई सच्चा प्रेम गरेकीथिइन् । महाभारतमा पनि धेरै छन् सच्चा प्रेमको उदाहरणहरू । अतः प्रेम रूपमा गरिदैन प्रेम त आत्मामा गरिन्छ ।

दुःख लाग्छ मलाई मैले कसैलाई प्रेम गरेको छु भनि सुनाउने साथीहरूदेखि । प्रेम बस्यो भनेको दुइ चार दिनपछि मेरो छुट्यो यार धोका भो भनेर सुनाउँछन् । म बुझ्न सक्दिन यो उनिहरूको कस्तो प्रकारको प्रेम हो । प्रेम हरेकलाई गर्न सकिन्छ । एउटा केटाले एउटी केटीलाई या एउटी केटीले केटालाई मात्र प्रेम गरिदैन । प्रेम गरिसके पछि कहिल्यै छुट्दैन ।

अाजकल प्रेम वासनाकाे रूपमा परिणत भएकाे छ । धेरैले याे दिनलाई दुरूपयाेग गरिरहेकाछन् । वासनाकै कारण प्रेम दिवसकाे दिन अप्रिय अप्रिय घटनाहरू घटिरहेका छन् ।

यसलाई बुझ्न प्रयास गराैँ ।
निष्कर्षमा भन्दा प्रेम अपरिमेय वस्तु हो,जाे जति गऱ्यो उति बढ्दै बढ्दै जान्छ ।

प्रतिकृया

प्रतिकृया