अग्नि सापकोटा, नेता माओवादी केन्द्र


नेकपा एमाले र माओवादी केन्द्रबीच चैत्रको पहिलो साताभित्र सूत्रबद्ध एकता हुने नेता अग्नि सापकोटाले बताएका छन । माओवादी केन्द्रका नेता सापकोटाले कार्यदल र त्यसअन्तर्गत बनेका विभिन्न उपसमितिले यतिबेला युद्धस्तरमा काम गरिरहेको जानकारी नेता सापकोटाले दिए । कार्यदलको म्याडेड आगामी शुक्रबार सकिने र त्यसपछि बाँकी कुरा मिलाएर चैतको पहिलो साताभित्रै पार्टी एकताको औपचारिक घोषणा हुने नेता सापकोटाले बताए । उनै नेता सापकोटासंग राज ढुंगानाले गरेको कुराकानी ।

० पार्टी एकताको प्रक्रिया के हुँदैछ ?

– होइन, कार्यदलको बैठक बसिरहेको छ, विभिन्न उपसमितिहरु बनाइएको छ, ती उपसमितिहरुले काम गरिरहेका छन् । प्रतिवेदन लेख्ने जिम्मा पनि दिइएको छ । संगठनात्मक विधान तयार समिति र संरचनासम्बन्धी कार्यदलले काम गरिरहेको छ । कार्यदललाई १५ दिनको म्याडेड दिइएको छ, त्यो समयसीमा २५ गते पुग्छ । त्यसबेलासम्म दुवै कार्यदलले प्रतिवेदन पेस गरिसक्छन् । मलाई लाग्छ, चैतको पहिलो साता सूत्रबद्ध एकता हुन्छ ।

० कार्यदलले तपाईले भनेको जस्तो कस्ता ठोस निर्णय गर्दैछ ?

– कार्यदलले निर्णय गर्ने होइन, प्रतिवेदन तयार गर्नेका लागि उपसमिति गठन गरेको छ । कार्यदलको गाइडलाइन भनेको ७ बुँदे सहमति हो । यही ७ बुँदे सहमतिमा टेकेर प्रतिवेदन लेखन, संगठनात्मक संरचना, विधान तयार गर्ने काम हुन्छ । सबैलाई वहसमा लैजाने ७ बुँदेमा भनिएको छ । बहुदलीय जनवाद, माक्र्सवाद, लनिनवाद, २१ औं शताब्दीको जनवादलाई पनि बहसमा लैजानुपर्छ ।

० जनजीविकाको सवालमा पनि कार्यदलले छलफल गर्दैछ ?

– पार्टीले नै सरकारमा पठाउने हो, पार्टीले पहिला विचार, सिद्धान्त, राजनीति, रणनीति, कार्यनीति, योजना तय गर्छ । त्यसकारण पार्टीको नीति कार्यक्रमअनुसार सरकार चल्ने हो । दुईवटैं नेताले अध्यक्षता पालैपालो गर्ने भन्ने टुंगो लागेको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त वा जनजीविकाको सवाललगायतका कुरा पार्टीले निश्चित गरेको विषयमा संलेषण गरिन्छ ।

० कार्यदलमा छलफल चाहिँ सकिएको हो ?

– कार्यदलमा आधारभूत कुरामा सहमति भएको छ । कार्यदलको उपसमितिले प्रतिवेदन लेख्दैछ । प्रतिवेदन लेखिसकेपछि फेरि बैठक बस्छ । कार्यदलमा एकरुपता आइसकेपछि पार्टी एकता संयोजन समितिमा पठाउँछ । त्यसपछि त्यसले अन्तिम रुप पाउँछ ।

० कार्यसमिति ठूलो बन्छ भन्ने कुराहरु आईरहेका छन खास के हो ?

– एकताको विशिष्ठ स्थिति भएको हुनाले कार्यसमितिको आकार केही ठूलो हुन्छ । त्यसमा धेरै कटौती र छाँटकाँट हुन्छ । जति विशाल पार्टी बन्दैछ, त्यसको तुलनामा कार्यसमिति चुस्त दुरुस्त हुन्छ ।

प्रतिकृया

प्रतिकृया