२४ फागुन, काठमाण्डौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (बिहीबार) सक्टल्यान्डको सामना गर्दैछ। जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे खेल सुरु हुनेछ। स्कटल्यान्ड जारी प्रतियोगिताको समूह बी को शीर्ष स्थानमा रहेको छ। नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ।

नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन। चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा स्कटल्यान्ड पनि नेपालको बाधक बनेको थियो। त्यस्तै विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो। जारी प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टिम जिम्बावेसँग खेलेको थियो। उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।

प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले भने दुवैमा जीत हासिल गरेको छ। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेट तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो।

सुपर सिक्समा पर्नका लागि पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ। समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ।

चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ। दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक-एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। दुवै टोली अंकविहीन छन्।

प्रतिकृया

प्रतिकृया