२७ फागुन, काठमाण्डौं । गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरूको म्युजिक भिडियो काठमाडौंमा शनिबार सार्वजनिक गरिएको छ।

गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र भर्खरै सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त जीवनको ‘चियाबारीको पातैपात’ बोलमाथि निर्मित म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। नेपाली सेनाका महासेनानीसमेत रहेका गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइ पुग्नुपर्ने बाध्यता, अरुण नदीको परिवेश जस्ता विषयवस्तु समेटिएका छन्।

त्यसैगरी जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माइपोखरी जस्ता विषय समेटिएको समीक्षकहरूले बताएका छन्। गीतमा संगीतकार वसन्त मुकारुङले संगीत दिएका छन् भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर रहेको छ। विज्ञान राई र जीवन मुकारुङले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, चाँदनी राई, अशोक मुकारुङ, युनिशा श्रेष्ठ, मन्दिप मुकारुङ र सिमरन श्रेष्ठको अभिनय रहेको छ।

गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताए।

संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’ रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताए। गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृतिको सम्मिश्रण रहेको बताए।

मुकारुङ परिवारका तीन पुस्ताले उक्त गीतमा काम गरेका हुन्। साथै नाति पुस्ताका मुस्कान मुकारुङको स्वर पहिलो चोटि रेकर्डिङ भएको छ।

प्रतिकृया

प्रतिकृया