२८ फागुन,काठमाडौँ । ५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन ।

जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन्, ‘छोराछोरीले भनेअनुसार पुर्‍याउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनैमुस्किल छ ।’

एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् ।

छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी पुर्‍याउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ उनलाई । ‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,’ उनले सुनाइन् ।

४ छोराछोरी मंगलसैनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् ।

प्रतिकृया

प्रतिकृया