२९ फागुन, काठमाण्डौं । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मंगलबार चुनाव हुँदैछ ।

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ ।

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ ।

नयाँ शक्ति पार्टीले भाग नलिने

मंगलबार हुने राष्ट्रपतिको चुनावमा नयाँ शक्ति पार्टी नेपालले मतदान नगर्ने भएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति चुनावमा सामेल नहुने जनाएको हो । उसले संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा जोड दिएको छ ।

तर विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको र दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न नसकेको नयाँ शक्तिले आरोप लगाएको छ । नयाँ शक्तिले राष्ट्रपतिको चुनावसँगै उप–राष्ट्रपतिको चुनावमा पनि सामेल नहुने स्पष्ट पारेको छ ।

प्रतिकृया

प्रतिकृया