३० फागुन, काठमाण्डौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमन्डलले पूर्णता पाउने बताएका छन् ।

किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा बुधबार राजधानीमा आयोजित ‘प्रदेश नम्बर–१ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाइ कार्यक्रम’मा उनले भने–‘बिहीबार वा शुक्रबारसम्म मन्त्रिमन्डलले पूर्णता पाउँछ ।’

अध्यक्ष दाहालले मन्त्रिमन्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै ‘वाम गठबन्धनले संयुक्तरुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्नेछ’–भने ।

प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिँदै उनले भने–‘प्रदेशको नामकरण प्रदेश नम्बर–६ कोजस्तै जनताको भावना, ऐतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।’

अध्यक्ष दाहालले ‘केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउनेछौं’ भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चलेपनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताए ।

प्रदेश नम्बर–१ ले राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि उक्त प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उनले बताए ।

सो अवसरमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावनाअनुसारको प्रदेशको नामाकरण गर्नुपर्ने बताउँदै निर्वाचनमा वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धतालाई अलिकति पनि तलमाथि नहुने गरी काम गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नम्बर–१ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रदेश नम्बर–१ को नाम किरात राख्नुपर्ने माग राख्दै सहभागी केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल, पूर्वसभामुख नेम्वाङ र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । रासस

प्रतिकृया

प्रतिकृया