७ चैत, काठमाण्डौं । कालीमाटीस्थित काठमाडौँ इञ्जिनीयरिङ कलेजकासञ्चालक, प्राध्यापक र कर्मचारीको कार्यकुशलतालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले आध्यात्मिक अभ्याससहितको तालीम कार्यक्रम आयोजना गरिएको छ ।

तीनदिने योग, प्राणायाम र ध्यानसहितको तालीमको संस्थामा काम गर्दा कार्यसम्पादनलाई चुस्त बनाउने सीप प्रदान गर्ने लक्ष्य रहेको थियो ।

काम गर्दा उत्पन्न तनावको व्यवस्थापन गर्न नसक्दा लक्षित प्रतिफल प्राप्ति हुँदैन । कार्यशालामा ‘आर्ट अफ लिभिङ’मा आबद्ध निभा प्रधानले कलेजका सञ्चालक, प्राध्यापक र कर्मचारीलाई आफ्नो काम र जीवनलाई कसरी व्यवस्थित गर्ने, मनलाई कसरी स्थिर राख्ने, तनावबाट मुक्त भएर कसरी काम गर्ने, आफ्नो विचार कसरी प्रष्ट रुपमा व्यक्त गर्नेलगायत विषयमा तालीम दिए।

सो अवसरमा कलेजका प्राचार्य चाँद रानाले व्यक्तिलाई हृदयदेखि धन्यवाद दिँदा उसमा पनि ऊर्जा बढ्ने र आफूमा पनि प्रफुल्लता आउने अनुभव सँगालेको सुनाउँदै तालीम लिएपछि चाहे जे काम पनि गर्नसक्छु भन्ने आँट आएको बताए।

कार्यक्रममा सहभागी इञ्जिनीयर प्रा डा दिनेशकुमार शर्माले तनावका बेलामा श्वास छिटोछिटो चल्ने र शरीरमा कडापन पनि बढ्दै जाने भएकाले व्यायामद्वारा शरीर लचिलो र लामो गहिरो श्वासप्रश्वासको अभ्यास गर्दा स्वतः कम हुने आफ्नो अनुभव सुनाए।

इ राजन लामा, सरस्वती थापालगायतले शरीर र मन दुवैलाई व्यवस्थित गरेर सकारात्मक ढंगले काम गर्ने तौरतरीकाका लागि आध्यात्मिक अभ्यास गर्नुपर्ने विचार राखे। आइतबारदेखि शुरु भएको तालीममा १०० जनाको सहभागिता थियो । कलेजले १० वर्षदेखि लगातार योगको विशेष कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
– रासस

प्रतिकृया

प्रतिकृया