प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ । प्रधानमन्त्री ओली चैत २३ गते भारतको राजकीय भ्रमणमा निस्किने छन् । उनी २५ गते नेपाल फर्किने तालिका छ । भारत भ्रमणमा रहँदा ओलीले समकक्षी नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्ने छन् । यस्तै, ओलीले वरिष्ठ केही मन्त्रीहरुसँग पनि भेट गर्ने छन् । ओलीको भारत भ्रमण सद्भावना भ्रमण हुने भनिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नै प्रधानमन्त्रीको यो पटकको भ्रमणमा भारतसँग कुनै माग नराख्ने बताएका छन् । उनले प्रधानमन्त्रीको भ्रमण यसअघि भएका असमझदारी र तिक्तता हटाउन केन्द्रीत हुने पनि बताएका छन् । प्रधानमन्त्रीको भारण भ्रमणलाई कसरी लिने हो ? यो भ्रमणमा के कुरा भन्न छुटाउनु हुँदैन ? हामीले यही विषयमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग कुरा गरेका छौँ ।

० प्रधानमन्त्रीको यो भ्रमणलाई सद्भावना भ्रमण, सम्बन्ध सुधारको कसी अथवा नेपाल–भारत विकास साझेदारीको महत्वपूर्ण अवसर,, के भन्ने हो ?
–हाँस्दै,, यो तीन वटै हो ।

० कसरी ?
–नयाँ आयामबाट सम्बन्ध बढाउने अवसर हो नै । सद्भावना भ्रमण पनि हो । सद्भाव कायमै राख्ने हो । विग्रेको सम्बन्ध सूधार गर्ने हो । नाकाबन्दी असफल भएपछि भारत पनि चेताएको छ । टेढिएर हुँदैन भन्ने उसले पनि बुझेको छ । नयाँ सिराबाट सम्बन्ध सुधार्न खोजेको छ । त्यसलाई नेपालले पनि स्वागतै गरेको छ । अर्को कुरा तपाईले भनेको जस्तो सम्वृद्धिका लागि अहिले नयाँ चरणबाट कुरा गर्नु आवश्यक छ । किन भने नेपाली जनताले आशा गरेको सम्वृद्धि ने हो । कसरी निर्यात प्रवद्र्धन गर्ने र कसरी यहाँको कनेक्टिभिटी भारतसँग पनि बढाउने ?, कसरी व्यापार घाटालाई कम गर्ने ? भन्ने उपाय खोज्ने । जलविद्युतमा एकतर्फी फाइदा मात्रै होइन दोहोरो फाइदा कसरी हुन्छ ? भन्ने विषयमा पनि सोच्नु पर्छ । प्राकृतिक स्रोतमा दोहोरो हितको सन्तुलन कायम गर्ने हो । बंगलादेशलाई पनि ट्रान्समिसन लाइन बनाएर विद्युत पठाउने । ट्रान्समिसन लाइनको कुरा मात्रै होइन भारत नेपालमा चाँडै रेल ल्याउन चाहन्छ । त्यसैले आगामी सम्वृद्धिका लागि भारत लगायतका छिमेकीहरुसँग विकासमा साझेदारी आवश्यक छ । त्यसको खाका तयार गरेर अगाडि बढ्ने ग्राउण्ड तयार गर्ने भ्रमण हुनेछ यो ।

० चीनबाट पहिलो भ्रमण हुन्छ कि, भारतबाट भन्ने सर्वत्र चाँसो थियो । अन्ततः भारतबाटै प्रधानमन्त्रीको विदेश भ्रमण सुरु हुने भो, यो पल्ट भारतबाटै अलिक बढी बोलावट भएको हो ?
–पहिलो बधाई दिने पनि भारतै भयो । प्रधानमन्त्रीले सपथ ग्रहण नगर्दै विदेशीमन्त्री सुष्मा स्वराजलाई पठाएर सद्भावनाको आधार तयार गर्ने काम पनि भारतबाटै भयो । भारतबाटै बढी बोलावट भयो भन्न सकिन्छ र नेपालको प्रधानमन्त्रीले पनि भारतको निमन्त्रणालाई स्वीकार गरेर जानु स्वभाविकै हो । तर, भारतले नै बोलाएको भनेर हस्याङफस्याङ गर्दै जाने होइन, पूरा तयारीले जानु पर्छ ।

० ओलीका लागि यो शुभ संकेत हो ?
–शुभ संकेत हो नि । किन भन्दा,, अहिले दुवै छिमेकीहरु प्राथमिकतामा छ । दुवै प्राथमिकतामा छ भन्ने शुभ संकेत पनि हो । छिमेकी नजिकको भएपछि समस्या पनि अनेक हुन्छ । तर, त्यसलाई समाधान गर्न सकिन्छ भनेर उच्चस्तरमै कुरा हुन लागेको हो । हिजोको जस्तो कर्मचारीतन्त्रको भर पर्ने होइन, कि अब राजनीतिक तहबाटै सम्बन्ध बढाउन भारत सकारात्मक देखिन्छ । यो ओलीका लागि शुभ संकेत नै हो ।

० अब उसो भए, दुबै तर्फ बराबर हैसियतमा र त्यो पनि उच्च तहमा सम्बन्धबारे कुरा हुन्छ ?
–गर्नु पर्ने नै त्यही हो । कर्मचारीतन्त्रले भएको समझदारीलाई कार्यान्वयन गर्ने हो । विशेष गरी सानालाई हेप्ने र ठूलाको चाकडी गर्ने भारतीय कर्मचारीतन्त्र अब सम्बन्ध विस्तारमा फेल भइसक्यो । अब समान हैसितमा समान मुलुकबीचको सम्बन्ध भन्नु पर्दछ । त्यसैले राम्रो सम्बन्ध बनाउनु पर्छ । त्यो राम्रो सम्बन्ध भनेको समानतामा आधारित हुनु पर्दछ ।

० यही भ्रमणबाटै हामी अब उच्च तहसँग सोझै आँखा जुधाएर कुरा गर्न सक्ने भयौँ ?
–अवश्य । अहिलेको भेटघाट उच्च तहमै राखिएको छ । अन्य तहमा पनि भेट हुन्छ । तर, पहिले उच्च तहमा हुने भनिएको छ । भ्रमणको थोरै समय छ, तर राजकीय सम्मानसाथ हुँदैछ । यो राजकीय भ्रमण हो । यसले दुई छिमेकीको बीचमा नयाँ सम्बन्धको आधारशीला खडा गर्ने छ । र, मोदी जीको पनि अब कार्यकाल सकिने बेला हुँदैछ । त्यसैले उहाँ सम्बन्धकाबारे पूरै समीक्षा गरेर अब के आवश्यक छ भन्ने कुरामा जानकार हुनुहुन्छ । अब राजनीतिक तहबाटै कुरा गर्ने अभ्यासको सुरुवात हुनेछ भन्ने मेरो विश्वास हो ।

० ओली भारत जानुअघि पाकिस्तानी प्रधानमन्त्री नेपाल आइदिनु भयो । यो विषयमा भारतले कुरा झिक्ला नझिक्ला त्यो एउटा कुरा भो । यो भ्रमणमा नेपालले राख्नुपर्ने विषय के हुन् ?
–हामीले राख्नु पर्ने त, असल छिमेकी सम्बन्ध बढाउनलाई अहिलेसम्मका सोंचमा सुधार हुनुपर्दछ । त्यो दोहोरो । एकले अर्कोलाई सम्मान गर्ने । अर्को तपाईले पाकिस्तानको कुरा उठाइहाल्नु भो । छिमेकी भन्नाले पहिले भारत विशेष भन्ने गरिन्थ्यो । त्यो अध्याय समाप्त भयो । अहिले चीन पनि सक्रिय भएर आउन थाल्यो । पाकिस्तान समेत हामी छिमेकी हौँ भने, यही बधाई दिन आयो । बंगलादेशले हाम्रो जलिविद्युतमा लगानी गर्न खोजिरहेको छ । बंगलादेश नेपालको विजुली लैजान चाहन्छ । नेपालसँगको समबन्ध बढाउन भनि छिमेकीहरु प्रतिस्पर्धात्मक रुपमा आएका छन् । अन्य शक्ति राष्ट्रहरुको पनि सक्रियता बढेको छ । त्यसैले हामीले सम्वृद्धिको बाटो समात्न धेरैतिरको सहायताको आवश्यकता रहन्छ ।

मल्टिनेशन्सहरुलाई नेपालको लगानीको आह्वान गर्न सकिन्छ । त्यो सरकारको दायित्व हो । नभए विकास हुँदैन । हिजो खुब आयात भयो र भन्सारका पैसा बढ्यो भनेर दंग हुने गरिन्थ्यो । अब त्यसो गर्नु भएन । निर्यात गरेर हाम्रो अन्तशुल्क बढाउनु पर्दछ । परआश्रित अर्थतन्त्रलाई अन्तरनिर्भरताको अर्थतन्त्रमा परिणत गर्ने दायित्व छ । हिजो आयात बढी थियो, अब निर्यातलाई बढाउनु पर्छ । उद्योगहरु बढाउनु पर्छ । हरेक गाउँपालिकाको वडालाई प्रशासनिक र राजनीतिक ईकाई मात्रै होइन, विकास पनि हो भनेर ती ठाउँहरुमा एउटा न एउटा निर्यात वस्तु उत्पादन गर्नै पर्छ । भारत र चीनबाट आउने रेल उताबाट भरिएर आउने र यताबाट खाली जाने अवस्था नहोस् भन्ने हो । त्यसैले त्यो तहमा कुरा हुनुपर्दछ । दुईटा निकै ठूलो जनसंख्या भएका मुलुक छन् । त्यहाँ यहाँको अन्न, फलफुल र माछा, मासु जति पठाएपनि हुन्छ । त्यो हैसित राख्नु पर्छ । निर्यात सहज पार्नु पर्छ ।

० चीनले नेपालका विभिन्न आयोजनामा चासो राखिरहेको छ । यतिसम्म कि क्रस बोर्डर लाइनसम्मको कुरा गरिरहेको छ । यो अवस्थामा भारतसँग के एजेण्डा राख्ने हो ?
–बालुवाबाट त तेल आउँदैन नि । तेल निकाल्न त तोरी नै चाहिन्छ । कृषिमा बढावा दिने कुरा गर्न सकिन्छ । यो पल्ट भारतको बजेट हेर्ने हो भने आधा भन्दा बढी कृषि मै खन्याइएको छ । जनसंख्या बढी कृषिमा आधारित भएको हुनाले कृषिलाई आनुनिकीकरण गर्ने, विविधिकरण गर्ने, यान्त्रिक प्रयोग बढाउने र सिंचाइलाई नयाँ ढंगले विस्तार गरेर उत्पादन बढाउने कुरामा साझेदारी गर्ने कुरा पहिलो प्राथमिकता हो । पर्यटन अर्को महत्वपूर्ण हो । दुवै देशको ठूलो जनसंख्या घुम्न चाहन्छ । दुवैतिरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्यटन क्षेत्रले व्यापार घाटा घटाउन पनि मद्दत गर्छ । मूख्य कुरा भारतको सहयोग हामीलाई किन चाहियो भने ? हाम्रो व्यापार घाटा घटाउनलाई । अलिकति नेपालीले उत्पादन गर्न थाल्यो भने भारतले निर्यातमा बाधा गरिहाल्ने समस्या छ । व्यापारी र कर्मचारीतन्त्रको असहयोग नीतिलाई हटाएर भारतीय बजारमा नेपालको उत्पादन विना अबरोध पुग्ने अवस्था सिर्जना गर्नु पर्दछ । त्यो व्यवस्था दीर्घकालका लागि गर्ने पहल गर्नु पर्दछ ।

० अहिले नाकामा देखिएको समस्या र व्यापार घाटाबारे पक्का कुरा हुन्छ भन्ने विश्वास लिने हो ?
– हुन्छ । त्यो गर्नै पर्छ । दुबै छिमेकी उन्नति गर्ने अनि हामी मात्रै अविकसित भएर बस्ने भन्ने त हुँदैन नि । त्यो मिल्दै मिल्दैन । अबै त दुबैको सम्वृद्धिबाट लाभ उठाएर आफै पनि प्रस्ताव राख्न जाने हैसित बनाउनु पर्छ । सबै अस्थिरता हटेको छ । स्थिर सरकार आएको छ । सामान्य होइन तीब्र गतिमा विकासमा जान छिमेकीको साथ सहयोग, सफलता, लगानी सबैमा जानु पर्दछ । यो पटकको भारत भ्रमणमा पनि सम्वृद्धिका लागि आर्थिक एजेण्डा राख्नु पर्दछ ।

० सार्कबारे कुरा गर्नु पर्छ कि पर्दैन ?
–यो त नगरी नहुने हो । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । अस्ति पाकिस्तानी प्रधानमन्त्री आएको मूख्य उद्देश्य नै त्यही हो । सार्कलाई सक्रिय बनाउनु अहिलेको आवश्यकता हो । जीत–जीतको सम्बन्ध एउटा कुरा हो भने, सबै राष्ट्र समान हुन भन्ने अर्को कुरा हो । सार्कमा भएका सबै मुलुक सार्वभौम समान हुन् । यो औपनिवेशिक नीतिकाविरुद्ध समानताको आधारमा सबैको क्षेत्रीय स्वार्थ हेर्ने हो । त्यसैले सार्क जोगाउँ भनेर कुरा गर्नु पर्छ ।

प्रतिकृया

प्रतिकृया