२५ चैत, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दा सुरु र अन्तिममा नेपाली भाषासमेत प्रयोग गरेका छन् । बाँकी समय हिन्दीमा बोलेका मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देशलाई सागरसँग जोडिने बताए । त्यसैगरी काठमाडौंलाई रेलले भारतसँग जोड्नेसमेत बताए ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले गरेको सम्वोधनको नेपाली अनुवाद यस्तो छः

 

भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय

सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु,

तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ ।

प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए ।

स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुबैलाई हृदयदेखि नै अभिनन्दन गर्छु । र, धेरै धेरै बधाइ दिन्छु ।

नेपालले अब राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ । एक छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ भारतमा हाम्रा लागि हर्षको विषय हो ।

साथीहरु, हिजो र आजको हाम्रो कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि आफ्नो बोल्ड भिजनका बारेमा मलाई विस्तारमा जानकारी दिनुभयो ।

हामीले यो विषयमाथि पनि चर्चा गर्‍यौं कि यस भिजनलाई साकार पार्नका लागि भारत नेपाल सरकारका साथ कुन प्रकारले भागिदार बन्न सक्छ ? म सम्झन्छु कि भारतको विकासका लागि मेरो “सबका साथ सबका विकास” को मूल मन्त्र हो । र, नेपालका लागि प्रधानमन्त्री ओलीजीको समृद्ध नेपाल सुखी नेपालीको अभियान एक दोस्रोका पूरक हुन् । यसका लागि हामी दुबै पूर्णतः सहमत छौं कि हामी जनकेन्दि्रत भिजन, विकासको साझा लक्ष र दुबै देशका जनताको सुख शान्ति एवं अपेक्षाहरुलाई साथमा लिएर अघि बढ्नुछ ।

साथीहरु,

नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले अगाडि पनि उहाँका साथ पूरै तरह सहयोग गरिरहन्छ । हमेसातरह यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ ।

सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर बि्रज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।

यसैप्रकार रेल्वेमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौं । र, यसका लागि काठमाडौंदेखि भारतलाई जोड्ने एक नयाँ रेल लाइनलाई संंयुक्तरुपमा विकसित गर्नेबारेमा पनि हाम्रो सहमति बनेको छ ।

कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरुको आवगमनको इन्फास्क्ट्रचरसँग जोडिएको हुन्छ । केही समय पहिले हामीले वीरगञ्ज रक्सोल एकीकृत चेकपोष्टको उदघाटन गर्‍यौं । यो आइसीपी भारत र नेपालको शदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ ।

आजको हाम्रो कुराकानीमा हामीले कनेक्टिभिटीका सबै प्रोजेक्टहरुमा प्रगतिको रिभ्यु गर्‍यौं । तेल पाइपलाइन होस् वा एकीकृत चेकपोष्ट होस्, या फेरि तराई रोड (हुलाकी सडक), यसप्रकारका सबै कनेक्टिभिटी प्रोजेक्टहरुलाई हर सम्भव गतिदिनेबारे हामी दुबै सहमत छौं ।

साथीहरु,

भारत र नेपाल दुबै कृषिप्रधान देश हुन् । यसका लागि हामी हामीले कृषिको क्षेत्रमा एक नयाँ भागिदारीको सुरुवात गरेका छौं । यो भागिदारीबाट अग्र्यानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयहरुमाथि हामीले आफ्नो सहयोग बढाउनेछौं । मलाई खुशी लागेको छ कि आफ्नो बहुमूल्य समय निकालेर प्रधानमन्त्रीजी भोलि पन्तनगरस्थित कृषि विश्वविद्यालय जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीजीको साथमा मिलेर मैले जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरें ।

हामी दुबै अरुण-३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत छौं ।

साथीहरु,

भारत र नेपालका वीच रक्षा र सुरक्षाका विषयमा धेरै गहन सम्बन्ध छ । हामी दुबै आफ्ना खुल्ला सीमाको दुरुपयोगलाई रोक्ने र हाम्रा साझा सुरक्षा हितहरुलाई अगाडि बढाउनेबारे सहमत छौं ।

दुबै देशका वीचमा ओपन बोर्डर दुबै देशका सामान्य मानिसहरुका वीच एक लिभिङ बि्रज रहेको छ । रामायण एवं बुद्ध सर्किटको विकास तथा सीप विकास, शिक्षा, स्वास्थ्य आदि जनकेन्दि्रत क्षेत्रमा पनि हामी सहयोग बढाउनेछौं । यसबाट हाम्रो दुबै देशका वीच पारम्परिक सम्बन्ध अरु प्रगाढ हुनेछ ।

मलाई विश्वास छ आज हामीले जुन ऐतिहासिक कहल गरेका छौं, यसबाट दुबै देशको विकासको हाम्रो भिजनलाई साकार गर्नमा महत्वपूर्ण योगदान हुनेछ ।

साथीहरु,

नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनमा दुबै देशको आपसी सहयोग, विचार विमर्श र अनुभवको आदान प्रदानको महत्वपूर्ण भूमिका हुन सक्छ ।

म एकपटक फेरि प्रधानमन्त्री केपी ओलीजी, उहाँकी धर्मपत्नी र पूरै डेलिगेसनलाई भारतमा हार्दिक स्वागत गर्छु र यो पनि चाहन्छु कि फेरि भेट होला । धेरैधेरै धन्यवाद ।

प्रतिकृया

प्रतिकृया