-धीरज निष्पक्ष


दुईतिहाईभन्दा बढी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित केपी शर्मा ओलीको भारत भ्रमणपछिको अवस्थाले दुई मुलुकको सम्बन्ध थप बलियो र नयाँ चरणमा प्रवेश गर्न खोजेको सङ्केत गरेको छ । विगतमा चिसिएको ओली–मोदी सम्बन्ध सुमधुरतर्फअघि बढ्दै नयाँ मोडेलमा स्थापित हुन खोजेको प्रष्ट सङ्केत देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत गएका प्रधानमन्त्री ओली सम्बन्ध सुधारको आशाको पोकोसहित तीनेदिने राजकीय भ्रमण सकेर आईतबार साँझ स्वदेश फर्केका छन् । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच पटक–पटक औपचारिक र अनौपचारिक छलफलमा जलमार्ग र रेलमार्गसहित दुई देशबीच रहेको बहुआयामिक सम्बन्धको पुनरावलोकन गर्दै नेपाल(भारत सम्बन्धलाई नयाँ शिराबाट उठाउने विषयमा समेत समझदारी जुटेको छ ।

पूर्व, पश्चिम र दक्षिणतिर घेरिएको मुलुक भारतका शक्तिशाली कार्यकारी प्रमुख र वामगठबन्धनसहितको दुईतिहाईभन्दा धेरै मतको विश्वासप्राप्त प्रधानमन्त्री ओलीबीच पुराना कुरा बिर्सदै नयाँ ढङ्गबाट दुई द्विपक्षीय सम्बन्धलाई पुन जोड्न समझदारी गरेका छन् ।

यी दुबै मुलुकका कार्यकारी प्रमुख एक अर्काप्रति यसरी न्यास्सिएका रहेछन् कि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएपनि दुई देशका प्रधानमन्त्रीबीचको ‘वन टु वन’ अनौपचारिक वार्ता भयो । त्यसैगरी द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विषयले उच्च महत्व पाएको देखियो ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भारतसँगकको नेपालको सम्बन्ध नमुनायोग्य बन्ने उद्घोष गरे । उनले पहिलोपटक आफू प्रधानमन्त्री भएको बेला भारतसँग चिसिएको सम्बन्धमा सुधार गर्ने पक्षमा उभिएको सङ्केत गरेका हुन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको बेला भारतले पनि नेपालको संविधानलाई स्वागतसम्म नगरी संविधान संशोधनमा निरन्तर जोड दिँदैआएको लाईनलाई परिवर्तित परिस्थितिसँगै लचिलो बन्न तयार भएको सन्देश दिन खोजेको छ । भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिले त्यो लाईन परिवर्तन भएको पुष्टि गरेको हो । उनले संविधान कार्यान्वयनको चरणमा भएका तीन तहका निर्वाचन, सङ्घीयता कार्यान्वयनको पक्षमा सकारात्मक अभिव्यक्ति दिए ।

‘नेपालको सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई दरिलो बनाउन नेपाल–भारतबीच आपसी सहयोग, विचार–विमर्श र अनुभव आदानप्रदानको ठूलो भूमिका हुन्छ’, उनले भने । पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अगाडि भने, ‘नेपाल यतिबेला राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ । एक नजिकको छिमेकी मित्र देशको नाताले एवम् विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा नेपालको इतिहासको यो स्वर्णिम अध्याय शुभारम्भ हाम्रा लागि खुसीको विषय हो ।’

भारतीय संस्थापनले पछिल्लोसमय नेपालप्रतिको दृष्टिकोणमा आमूल परिवर्तन भईसकेको तुलना पत्रकार सम्मेलनमा प्रष्टसँग झल्किन्थ्यो जबकि एमाले अध्यक्षसमेत रहेका ओली पहिलोपटक प्रधानमन्त्री भएपछि भएको भारत भ्रमणमा संयुक्त विज्ञप्ति नै जारी नगरेर भारतले ओलीप्रति आफ्नो समर्थन नरहेको व्यक्त गरेको थियो । तर, यसपटक ओली(मोदीले संयुक्त ब्रिफिङ्गपछि सर्वजनिक गरियो ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध पारस्परिक विश्वासमा आधारित नमुनाका रूपमा विकास गर्ने चाहना रहेको बताउँदै समानता, न्याय, पारस्परिक सम्मान र हितमा आधारित शान्तिपूर्ण सह(अस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवम् प्रगाढ बनाउनपर्ने औंल्याए ।

‘उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुन्छन्’, प्रधानमन्त्री ओलीले भने । उनले अगाडि थपे, ‘दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभबारे मोदीजीसँग छलफल भयो । यसपटकको भ्रमणलाई उच्चस्तरीय राजनीतिक तहमा हुने संवादलाई जारी राख्न अझै अर्को महत्वपूर्ण अवसरका रूपमा लिएको छु,ु उनले भने ।
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले पूरापूर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘भारतको विकासका लागि मेरो सच्चा साथ विकासको मूल मन्त्र र ओलीजीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान एकअर्काका पूरक हुन्, नेपाल सरकारद्वारा निर्धारित प्राथमिकता र आवश्यकतामा आधारित भएर भारतले सहयोग गर्छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भएको छ,’ उनले भने । अगाडि भने, ‘सगरमाथाको देश समुद्रसँग जोडिनेछ । सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ, यो ऐतिहासिक शुभारम्भ हो । नेपाल भूपरिवेष्ठित मात्र नभई जलवेष्ठितबाट पनि जोडिनेछ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीचको भेटमा नेपाल भ्रमणको औपचारिक निम्तो दिइएको हो । भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले भने, ‘नेपालका प्रधानमन्त्री ओलीले मोदीजीलाई चाँडो नेपाल भ्रमणको निम्तो दिनुभयो ।’ उनका अनुसार मोदीले सन् २०१८ भित्रै नेपाल भ्रमण गर्ने वाचा दिएका छन् । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रतिकृया

प्रतिकृया