–धीरज ‘निष्पक्ष’ अधिकारी


प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने राजकीय भारत भ्रमणसँगै दुई मुलुकको सम्बन्ध सुधारिने सङ्केत प्रवल देखिएको छ । एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा बिग्रिएको सम्बन्ध दोश्रो कार्यकालमा आईपुग्दा नेपाल–भारत सम्बन्धमा नयाँ पालुवा पलाएको छ । जसको व्यवहारिक परिणाम नेपालको भौतिक विकासमा भारतले गर्ने सहयोग हो ।

ओली–मोदी सम्बन्ध विपरीत ध्रुवमा उभिएको भनेर जसरी चर्चामा आएको छ, त्यसैगरी प्रधानमन्त्रीको भारत भ्रमणपछि उनीहरुबीच निकटता छाएको पछिल्लो सहमतिबाट आँकलन गर्न सकिन्छ । त्यसो त प्रधानमन्त्री ओलीले समेत भारतसँगको सम्बन्ध सुधारिसकेको उद्घोष गरेका छन् ।

रेलमार्गः

सहमतिअनुसार नेपाललाई भारतले रेल, जलमार्ग र कृषिमा सहयोग गर्ने बाचा गरेको छ । भारतले आफ्नै लगानीमा नेपालको सीमावर्ती नाका रक्सौलदेखि राजधानी काठमाण्डौसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ ।

सहमतिअनुसार नेपालमा रेललाईन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतको आर्थिक सहयोगमा नेपालको राजधानीसम्म रेललार्इन विस्तार गर्ने उल्लेख गरिएको छ । यसले नेपालले प्रचुर मात्रामा लाभान्वित उठ्नसक्ने जानकारहरुको दाबी छ । नेपाल–भारत संयुक्त सहमतिमा रेल लार्इन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ भने रेल लाइनको सर्भे पनि भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रैमा पुरा गरिसक्ने उल्लेख छ । त्यसपछि दुई देशबीच यो रेल लार्इनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदनसमेत साझा ढङ्गबाट गरिने भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा जारीगतिरोधलाई अन्त्य गर्दै केही नेपालपक्षका लागि महत्वपूर्ण सहमतीय उपलब्धि हासिल गरेको छ । यद्यपि यसको कार्यान्वयन पक्ष भने हेर्न बाँकी नै छ । सहमतिअनुसार दुई देशबीच आर्थिक तथा जनसम्बन्ध विस्तार, विकासका क्षेत्रमा प्रगति हासिल गर्नका लागि दुई देशबीच जयनगर–जनकपुर र जोगवनी विराटनगर रेलमार्ग सन् २०१८ भित्र सम्पन्न गर्ने समेत समझदारी भएको छ । त्यस्तै जयनगर–विजलापुर–बर्दिवास र जोगबनी– विराटनगर रेलमार्गलाई प्राथमिकतामा राखी काम अगाडि बढाउने सहमति भएको छ । सहमति मात्रै गर्दै आएको भारतले यसपटकको सहमतिलाई कार्यान्वयन गरे वास्तवमै नेपालले अतुलनीय लाभ उठाउन सक्नेछ ।

नेपाल–भारत रेल्वेलिङ्कअन्तर्गत भारतको पश्चिम बङ्गालको न्यू जलपाईगुडी–काँकडभिट्टा र नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रेलमार्ग निमार्णका लागि अध्ययनलाई अगाडि बढाउने सहमति भएको छ । यसले पूर्णता पाए नेपाल रेल्वे रुटको अन्तराष्ट्र्रीय लिङ्का जोडिने छ ।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणको अर्को सहमतीय उपलब्धि भनेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलार्इनको संयुक्त उदघाटन हो । प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले गरेको यो पाइपलार्इनको शिलान्यासको विषयले १२ बुँदे संयुक्त वक्तव्यमा स्थान पाएको छ ।

भारत भ्रमणकै क्रममा संयुक्त रुपमा उद्घाटन भएको वीरगञ्जस्थित भारतले बनाएको एकीकृत भन्सार जाँचचौकी हो । जुन औपचारिकरुपमा भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।

जलमार्गः

प्रधानमन्त्री ओलीको अर्को सपना भनेको पानीजहाजमा नेपालको पहुँच र त्यसमा जोडिनु । त्यसमा पनि नेपाल–भारत सम्बन्धको नवीन आयामले सहमतिसम्म पुर्याएको छ । नेपालले भारतसँग जलमार्गबाट सामान ओसार–पसार गर्ने सम्झौता गरेको छ । यसलाई पनि महत्वका साथ हेरिएको छ । यही सम्झौतालाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री मोदीले ‘सगरमाथाको देश सागरसँग जोडिएको’ बताएका छन् ।

समुद्रमा नेपाली ध्वजाबाहक फराउँदै पानीजहाज चलाउने बताउँदै आएका प्रधानमन्त्री ओलीको सपनालाई साकार पार्नका लागि भारत सैद्धान्तिकरुपमा सहमत देखिएको छ । दुई मुलुकको समझदारी अनुसार यस क्षेत्रको आर्थिक विकासका लागि ‘इनल्याण्ड वाटर वे’को विस्तारका क्षेत्रमा सहमति भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमतिअनुरुपै एक साताभित्रै विशेष महाशाखा बनाएर जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताएका छन् ।

मङ्गलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठको धारणाले यस्तै पुष्टी गरेको छ । ‘हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो,’ उनले भने ।

साथै मन्त्री महासेठले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलमार्ग र जलमार्गबारे भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञासमेत दिएका छन् ।
भारत भ्रमणको क्रममा ‘इनल्याण्ड वाटर–वे’को लागि ओली–मोदीले यसको मोडालिटी, निमार्ण प्रक्रियाका क्षेत्रमा काम थाल्न सम्बन्धि देशका अधिकारीहरुलाई निर्देशन दिने सहमति जनाएका हुन् ।

कृषि क्षेत्रमा सहकार्यः

त्यसैगरी भारत भ्रमणका क्रममा तीनबूँदे कृषि क्षेत्रमा साझेदारीसम्बन्धी साझेदारीका विषयमा सहमति भएको छ । नेपाल कृषिप्रधान मुलुक भएको हुँदा, प्रत्यक्ष रुपमा यस सहमतिबाट नेपालले बढीभन्दा बढी लाभ उठाउनुपर्ने विज्ञहरुको राय छ । यसले कृषिविज्ञान र प्रविधि, कृषि उत्पादन, कृषि प्रशोधन क्षेत्रमा फट्को मार्नसक्ने अनुमान गरिएको छ ।

सहमतिअनुसार माटो परीक्षणदेखि लिएर कृषि अनुसन्धान, प्राङ्गारिक मलको अनुसन्धान लगायतका क्षेत्रमा भारतको कृषि अनुसन्धान परिषद र नेपालको कृषि अनुसन्धान परिषदबीच साझेदारी गरी काम अगाडि बढाईने सहमति भएको छ ।

नेपाल–भारत सम्बन्धलाई निरन्तरता दिईनुपर्नेः

यद्यपि अहिलेसम्म जतिपनि भारत र नेपाल बीच सम्झौता र सहमति गरिएको छ, त्यसको कर्यानवयन हुनु जरुुरी छ १ प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई मुलुकको सम्बन्ध नयाँ गतिले उचाई लिएकोे विश्लेषण भएको छ ।

नेपाली समाजमा भनेजस्तै आमाबुवा पाल्ने छोराले सधैँ स्याहार–सुसार गरेता पनि भिन्न बसेका छोराले एकदिन ल्याईदिएको वस्तु वा व्यवहारलाई आमाबुवाले गुन सम्झेर भिन्न बसेको छोराको प्रशंसा गरेझैं सधैँ नजिक भएर तीतामीठा सम्बन्धका यात्रा सङ्गालेको नेपाल–भारत सम्बन्धको केही कालखण्डमा आएको दरारभित्र अर्कै पााहुलाले प्रतिबद्धता जनाएकोे कुरामा नेपालीले गुन सम्झनुजस्तै नहोस्, नेपाल–भारतको प्राचीन सम्बन्ध । यस अर्थमा दुबै मुलुक चलाखो हुँदै द्विपक्षीय सम्बन्धका विकासमा अगाडि बढ्दा दुबैलाई फाईदा पुग्ने देखिन्छ ।

नेपाल–भारत सम्बन्धका आरोह–अवरोहमा धेरै तीतामीठा घटना जोडिए पनि भाषिक, सांस्कृतिक हिसाबले यी दुई मुलुकबीचको समानता निकट छ । तसर्थ, प्रधानमन्त्रीको भारण भ्रमणको क्रममा भएका समझदारीहरुलाई दुबै मुलुकले ईमान्दारितापूर्वक पालना गरे नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुनसक्ने देखिन्छ ।

प्रतिकृया

प्रतिकृया