२८ चैत्र,काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्त भएका सर्वेन्द्र खनालले आइजिपीको दौडमा रहेका डिआईजी रमेश खरेललाई सँगै मिलेर काम गर्न आग्रह गरेका छन् । खरेलले राजीनामा दिन लागेको खबर सार्वजनिक भएपछि खनालले यस्तो आग्रह गरेका हुन् ।

सरकारले सबै प्रक्रिया पूरा गरेर आईजीपी नियुक्तिको निर्णय गरेको होला भन्दै नवनियुक्त आईजीपी खनालले अनलाइनखबरसँग भने, ‘हामी प्रतिस्पर्धी थियौं तर, मिसन एउटै थियो । नेपाल प्रहरीलाई सशक्त बनाउन र देशको हितमा काम गर्न सँगै काम गरौं भनेर आग्रह गर्छु ।’

उनले अघि भने, ‘राजीनामा दिने नदिने व्यक्तिको कुरा हो तर, म सँगै काम गरौं भन्न चाहन्छु ।’

सरकारको निर्णय शीरोधार्यः पुष्कर कार्की

आईजीपीकै प्रतिस्पर्धामा रहेका अर्का डीआईजी पुष्कर कार्कीले भने सरकारले गरेको निर्णय आफूलाई शीरोधार्य रहेको प्रतिक्रिया दिएका छन् ।

आफू आईजीपीको दाबेदार रहेपनि सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया उनले दिएका छन् ।

कार्कीले भने, ‘यतिका वर्ष व्यवसायिक निष्ठा राखेर काम गरियो । अझै धेरै काम गर्न बाँकी छ । सरकारको निर्णय कुन बेला के आउँछ त्यो अलग कुरा हो । तर जोसँग जे खुबी छ त्यहिअनुसार काम गर्नुपर्छ ।’

प्रतिकृया

प्रतिकृया