२९ चैत, काठमाण्डौं । पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडि सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन्। श्रेष्ठले कानुन विपरित सर्वोच्चको गाडि, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएको भन्दै कर्मचारीहरूले गाडि खासेका हुन्।

श्रेष्ठले प्रयोग गर्दै आएको बा १३ च ६२४१ नम्बरको गाडि सर्वोच्चका कर्मचारीले खासेका हुन्। इन्धन तथा मर्मत खर्च लिन सर्वोच्च अदालत गएका गाडिका चालक र गाडिलाई कर्मचारीले नियन्त्रणमा लिएर मुख्य रजिष्ट्रार राजन भट्टराईलाई बुझाइदिएका हुन्।

श्रेष्ठले कानून विपरित गाडि प्रयोग गर्दै आएकोले गाडि र चालक जोगमान महतोलाई सर्वोच्च प्रशासनमा बुझाइएको आधिकारीक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए। महतो सर्वोच्चका स्थायी कर्मचारी हुन् । तर उनले श्रेष्ठ निवृत्त भएपछि पनि उनकै गाडि चलाइरहेका छन्।

पूर्व विशिष्टलाई सरकारी सुविधा दिँदा कानून बनाएर मात्रै दिनू भन्ने सर्वोच्चको आदेश भएपनि सो आदेशलाई लत्याउँदै सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरूले नै विभिन्न सुविधा प्रयोग गर्दै आएका छन्।

पूर्व विशिष्टलाई सुविधा दिने बारेमा अहिलेसम्म कानुन बनिसकेको छैन। ‘१३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चको गाडि, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएका छन्,’ भट्टराईले भने, ‘सबैले कानुन विपरित गाडि चढिरहेका छन्।

पूर्व विशिष्टलाई सुविधा दिने विषयमा अहिलेसम्म कानुन बनेको छैन ।’ सर्वोच्चका प्रधानन्यायाधीशहरुले आफ्ना पालामा महंगा गाडि किन्ने र पछि तिनै गाडि लिएर घर जाने गरेको उनले बताए ।

सर्वोच्चबाट गाडि लिएर जाने पूर्व प्रधानन्यायाधीशले सरदर दुई करोड मुल्य पर्ने गाडिहरु कानुन विपरित प्रयोग गरिरहेका छन्।

मैले गाडि लिएर फर्किसकें : चालक जोगमान कर्मचारीले नियन्त्रणमा लिएर बुझाएको गाडिको चाबी सर्वोच्चका मुख्य रजिष्ट्रार भट्टराईले उतिबेलै फिर्ता गरेका छन् । गाडिका चालक महतोले उतिबेला नै आफूले गाडि लिएर गएको बताए। ‘कर्मचारीहरुकै अगाडि मलाई गाडिको साँचो फिर्ता दिनुभएको हो,’ उनले भने, ‘घटना सामान्य हो, खासै केही पनि होइन ।’

महतोले गाडि लिएर आफू पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग पुगिसकेको बताए। सुशीला कार्की पनि कानुन विपरित सर्वोच्चको गाडिमा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि कानुन विपरित सर्वोच्च अदालतको गाडि चढिरहेकी छन् ।

उनी सहित १३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चका गाडि चढिरहेका छन्। पूर्व प्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशव उपाध्याय, हरिप्रसाद शर्मा, दिलीप कुमार पौडेलले सर्वोच्चको गाडि चढिरहेका छन्।

त्यस्तै केदार गीरी, मिनबहादुर रायमाझी, दामोदर प्रसाद शर्मा, रामकुमारप्रसाद शाह, गोपाल पराजुली र सुशीला कार्कीले पनि सर्वोच्चका गाडि कानून विपरित चढिरहेका छन्। सर्वोच्चले नै कानुन निर्माण नगरी पूर्व विशिष्टलाई सुविधा नदिन आदेश दिएको थियो।

प्रतिकृया

प्रतिकृया