३ बैशाख,बाँके । प्रहरीको बाँकेको जानकी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

हतियार कारोबार र ओसापसारमा संलग्नताको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सङ्घीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको हो ।

सङ्घीय प्रहरी इकाइ कार्यालयका प्रहरी सहायक निरीक्षक राजकुमार सिंह नेतृत्वको टोलीले नेपालगञ्ज उप–महानगरपालिका २० मा रहेको मनकामना ग्याँस उद्योग नजिकै चेकजाँचका क्रममा जानकी गाउँपालिका–६, का प्रमोदकुमार चमारलाई भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाइछिपाइ राखेको कटुवा पेस्तोल एकथान र त्यसमा प्रयोग हुने गोली ३ राउण्डसहित पक्राउ गरेको हो ।

चमारले मोटरसाइकलमा हतियार ल्याउँदै गरेको पूर्व सूचनाका आधारमा चेकजाँच गर्दा हतियार फेला परेको हो । आइतबार साँझ पक्राउ परेका चमारले जानकी गाउँपालिका–६, का शोभाराम यादवबाट हतियार खरिद गरेको बयान दिएपछि यादवलाई सोमबार बिहान पक्राउ गरिएको हो ।

सङ्घीय प्रहरी इकाइ कार्यालय भेरीले पक्राउ परेका दुवै व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया