हरिभक्त श्रेष्ठ

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउनु समयको माग त होला तर सामाजिक हिसाबले भने उपयुक्त होइन।

किनभने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं शहरसँगै रहेको छ। दिनभर काम गरेर राति आराम गर्ने समयमा विमानको ठूलो आवाजले जीवनस्तरमा नै प्रभाव पार्न सक्छ । सरकारले यस विषयमा सोच्नुपर्ने हुन्छ।

सञ्चालनमा चुनौती
समयको माग सम्झेर संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री रबीन्द्र अधिकारीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने सोच एक हिसाबले राम्रो पनि हो। २१ घण्टा सञ्चालन गर्ने हो भने सञ्चालनमा ल्याउन नसकिने भन्ने छैन।

तर यसका धेरै चुनौती छन्। पहिलो जनशक्तिको अभाव हो। अर्काे जनशक्तिलाई अावश्यक तालिम हो। १ सय दिनभित्र विमानस्थल २१ घण्टा सञ्चालन गर्ने योजनाका लागि हामीसँग छोटो समय छ। छोटो समयावधिभित्र दक्ष जनशक्ति उत्पादन गर्नु असाध्यै कठिन काम हो।

यी दुई समस्या समाधान गर्न सकिए २१ घण्टा विमानस्थल सञ्चालनमा समस्या हुँदैन।

पर्यटन मन्त्रीले भनेझैं २१ घण्टा सञ्चालनका लागि हाल विमानस्थलसँग रहेको जनशक्तिलाई परिचालन गर्नुपर्ने हुुन्छ। किन कि नयाँ जनशक्ति तयार गर्न पर्याप्त समय विमानस्थलसँग छैन। जति जनशक्ति छ, तिनैलाई प्रयोग गरेर २१ घण्टा सञ्चालन गर्दा कर्मचारीहरुको कार्यबोझ बढ्न सक्छ। तनाब बढाउन सक्छ।

विमानस्थल अन्तर्गतका अन्य निकायलाई नहेरी नेपाल नागरिक उडड्यन प्राधिकरणकै वर्तमान अवस्थालाई हेर्ने हो पनि भने ५ सय ५ जनाको दरबन्दी रहेकोमा जम्मा ३ सय ८ जनाको मात्र पदपूर्ति भएको छ। हाल १८ घण्टा विमानस्थल सञ्चालनका लागि प्राधिकरणसँग ३ सय ५८ जना कर्मचारी छन्।

२१ घण्टा विमानस्थल सञ्चालनका लागि तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसका लागि हाल रहेको जनशक्तिले तीन सिफ्ट काम गर्न सम्भव छ कि छैन, यो विश्लेषणको विषय हो। दरबन्दी पूर्ति गर्नसमेत यो छोटो समयमा सम्भव छैन। बजारमा तालिम प्राप्त जनशक्ति छ कि छैन, त्यो पनि त्यत्तिकै विचारणीय पक्ष छ।

हाल विमानस्थलमा १ सय १८ एयर ट्राफिक कन्ट्रोलरको आवस्यकता छ। तर, विमानस्थलसँग जम्मा ६७ मात्र छन्। एक सिफ्टमा कम्तीमा ३२ एयर ट्राफिक कन्ट्रोलर आवस्यक हुन्छ। जनशक्तिको अभावका कारण एउटै व्यक्तलाई ‘ओभरटाईम’ काम गर्न लगाउनु परेको अवस्था छ। विश्राम विना लगातार काम लगाउँदा त्यसले विमानको सुुरक्षामा नै असर गर्न सक्छ।

त्यसैले, एयर ट्राफिक कन्ट्रोलरहरुलाई विश्राम दिँदै काम गराउनु पर्छ। एयर ट्राफिक कन्ट्रोलरले जहाजहरुसँग दोहोरो सञ्चार गर्ने, सुरक्षित उडान र अवतरण गराउने काम गर्ने हुँदा यो विभागमा काम गर्नेहरु दक्ष हुनु पर्छ। दक्ष हुनका लागि कम्तिमा पनि २ वर्ष त्यही क्षेत्रमा काम गरेको हुनुपर्छ।

अन्य निकायसँगको व्यवस्थापन
विमास्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँगै अध्यागमन विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी लगायत ८० भन्दा बढी निकायको उपस्थिति छ। यी निकायका बीच समन्वय हुन सकेमात्र विमानस्थल २१ घण्टा सञ्चालनमा आउन सक्छ।

यदि यी ८० मध्ये एउटा मात्र निकायसँग समन्वयको अभाव भयो भने विमानस्थल २१ घण्टा सञ्चालन गर्न सम्भव छैन। विमानस्थल सञ्चालनमा मुख्य जिम्मेवार अध्यागमन, राजश्व, सुरक्षा निकायको हुने गर्छ। यी निकायको सहकार्य भएन भने विमानस्थल खोलेर मात्र पनि कुनै उपलब्धी हुनसक्ने देखिँदैन।

प्राधिकरणको जिम्मेवारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापनको जिम्मा नेपाल नागरिक उडड्यन प्राधिरकणको हो। विमानस्थलको गोल्डेनगेटदेखि लिएर सबै व्यवस्थापनको काम प्राधिकरणले गर्दै आएको छ। विमानस्थल प्राधिकरण अन्तर्गतको एउटा विमानस्थल हो। टर्मिनल भवन, धावनमार्ग, विमानस्थलमा आवश्यक दमकम सेवा लगायत सबै प्राधिकरण अन्तर्गत नै छन्।

अन्य निकायले विमानस्थलसँग सहकार्य गरेर सेवा प्रदान गर्छन्। अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्नु प्राधिकरणको हो जिम्मेवारी हो। यसका लागि प्राधिकरणले गृह, अर्थ लगायतका मन्त्रालयसँग समन्वय गर्नु पर्ने हुन्छ।

सय दिनभित्र २१ घण्टा विमानस्थल सञ्चालन गर्न नागरिक उड्डयन प्रतिष्ठानले ‘डबल सिफ्ट’ मा तालिम दिनुपर्ने हुन्छ। २१ घण्टा विमानस्थल सञ्चालन गर्नुपर्ने भएपछि विमानस्थलमा खाना, यातायात लगायतको व्यस्था समेत मिलाउनु पर्ने हन्छ। रातको समय विमानस्थल सञ्चालनमा ल्याउने तर होटल, यातायातको सुविधा नहुने भयो भने विमानस्थल सञ्चालन लामो समयसम्म सञ्चालनमा ल्याउन सकिन्न।

२१ घण्टा विमानस्थल सञ्चालन गर्दा वायुसेवा कम्पनीका उडान तालिकालाई फेरबदल गर्नुपर्ने हुन्छ। दिउसो उडान गर्न चाहनेलाई रातको समयमा उडान गर्न आग्रह गर्दा कतिले मान्लान्, कतिले नमान्लान्। यो पनि एउटा ठूलै चुनौति हो। रातको समय उडानका लागि प्रोत्साहित गर्न नयाँ योजनाहरु ल्याउनु पर्ने हुन्छ।

व्यवस्थापन चुस्त बनाउन विमानस्थललाई शक्ति सम्पन्न बनाउनु पर्ने हुन्छ। विमानस्थल अन्तर्गतका निकायलाई विमानस्थलले निर्देशन दिन सक्ने अवस्था रहेमात्र व्यवस्थापन सहज हुनसक्छ। अहिले त विमास्थलले कुनै निकायलाई पनि निर्देशन दिनसक्ने अवस्था छैन। निर्देशन दिएपनि पालना गर्नै पर्छ भन्ने आधार छैन।

उदाहरणका लागि विमानस्थल अन्तर्गत अध्यागमन विभागका १८ डेक्स छन्। १८ वटा डेक्समा नियमित रुपमा कर्मचारी हुनुपर्ने हो। तर कहिलेकाहीं ४–५ जना मात्र रहने अवस्था हुन्छ। यस्तो अवस्थामा यात्रुहरुले घण्टौं कुर्ने र लाइनमा बस्नुपर्ने हुन्छ। यस्तो अवस्थामा पनि विमानस्थलले अध्यागमन विभागलाई मान्छे थप्न निर्देशन दिन सक्दैन।

अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानबाट उत्रिएको ३० मिनेटभित्र ब्यागेज सम्बन्धित व्यक्तिसम्म आइपुग्नु पर्ने हुन्छ। समयमा ब्यागेज आइ नपुग्दा वायसेवा कम्पनीले सजाय भोग्नुपर्ने हुन्छ। तर हाम्रोमा यो कुरा प्रयोगमा आएको छैन। नेपाल वायुसेवा निमगले ‘ग्राउण्ड ह्यान्डलिङ’ को काम चुस्त रुपमा गर्न सकेको छैन।

निगमलाई प्राधिकरणले काममा चुस्तता ल्याउन दवाब समेत दिन सकेको छैन। काममा सकारात्मक प्रतिस्पर्धा भएमा मात्र यात्रुले गुणस्तरीय सेवा यात्रुले प्राप्त गर्न सक्छन्। त्यसैले पनि ‘ग्राउण्ड ह्यान्डलिङ’ को काम एक पक्षलाई मात्र दिनु हुँदैन। तर यस विषयमा प्राधिकरण केही बोल्दैन। विमानस्थलको व्यवस्थापनमा समस्या आउनुको एक कारण यो पनि हो।

विमानस्थललाई आवश्यक प्राविधिक औजारको व्यवस्थापन समेत हुनु पर्ने हुन्छ। २१ घण्टा विमानस्थल सञ्चालन गर्ने हो भने टर्मिनल भवन, धावनमार्ग लगायत सबैको प्रयोग अझ बढ्न सक्छ। तिनको व्यवस्थापन कसरी गर्ने, यो पनि सोचनीय कुरा हो।

हाल विमानस्थलको धावनमार्ग निमार्णको चरणमा छ। २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याइँदा धावनमार्ग निर्माण कार्यलाई समेत प्रभाव पर्ने देखिन्छ।

प्रतिकृया

प्रतिकृया