भर्खरै सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ऐतिहासिक भएको केन्द्रीय सदसय कल्याण गुरुङले बताए । अहिलेको निर्णय सहमतिको दस्तावेज भएको गुरुङको भनाइ छ । सबैको धारणालाई सहमतिको दस्तावेज बनाइएको हो, केन्द्रीय सदस्य गुरुङले भने, ‘निर्णयमा असहमत हुनेहरुका लागि विमर्शको ढोका खुला राखिएको छ ।’ कांग्रेस केन्द्रीय समितिमा देखिएको विवादबारे  राज ढुंगानाले केन्द्रीय सदस्य गुरुङसँग गरेको कुराकानी–

नेपाली कांग्रेसमा पदाधिकारी चयन किन विवादित बन्यो ?

– भर्खरै केन्द्रीय समितिको बैठक सर्वसम्मत निर्णय गरेर टुंगिएको छ । सर्वसम्मत निर्णय त्यसै भएको थिएन, त्यहाँभित्र प्रयास भएका थिए, सबैको धारणा आए, ती धारणालाई मिलाउने क्रममा कसैको के छुट्यो होला । सम्झौतामा गइसकेपछि सहमतिको दस्तावेज तयार भयो, त्यसलाई केन्द्रीय समितिको बैठकबाट पारित गरौं भन्ने कुरा आयो । त्यो सहमतिको प्रस्ताव महामन्त्री शंसाक कोइरालाले पढ्नुभो । त्यो प्रस्ताव केन्द्रीय कार्य समितिको बैठकबाट पास भयो ।
सहमतिको प्रस्ताव भएको त्यही बैठकमा भोलिपल्ट पदाधिकारी चयनको अर्को बैठक आह्वान गरेपछि सबैजना आचम्ममा परेका थिए । भोलिपल्ट डाकिएको बैठक २१ गते पु¥याइएको छ । २१ गतेसम्म छलफल गर्ने, सहमति खोज्ने र सहमतिको प्रयासबाट पदाधिकारी चयन गर्ने प्रस्तावले सकरात्मक संकेत देखिएको छ ।

केन्द्रीय समितिमा भाषा विवाद के हो ?

– चुनावी समीक्षामा सबैको सबै कुरा समेटिएको छैन, सबैको केही कुरा समेटिएका छन् । त्यसकारण यसलाई पार्टीको आधिकारिक फोरम पार्टी जिल्ला सभापतिहरुको भेला, महासमितिको बैठकमा छलफलकै चरणमा लैजानुपर्छ भनियो । पराजयको कारणहरु सम्बन्धमा विमर्श हुँदै जाने छन् भन्ने एउटा बाक्य पछि थपियो । यो बाक्यले त्यही क्लोज गरेन, त्यसले विमर्शको ढोकालाई खुला राख्यो । ता कि हामी आधिकारिक फोरमहरुमा मात्रै विमर्श हुने भयो ।

यो निर्णयमा तपाईंहरुको फरम मत रहेन ?

– सहमति भइसक्यो, निर्णयमा हामीले काहिँ पनि नोट अफ डिसेन्ट लेखेका छैनौं । यो निर्णयमा हाम्रो सहमति नै हो । पार्टी पराजयको कारणबारे विमर्श हुँदै जानेछ भन्ने जुन लाइन थपिएको छ, त्यसले ढोका बन्द गरेको छैन । विमर्शका लागि ढोका खुला नै राखेको छ । कारण अरु पनि थिए, सबैले भनेका कारण अटाएनन होला, ती विषयमा पार्टीको आधिकारिक फोरममा पछि पनि बहस गर्दै जाने छौं । त्यसको निराकरण, छलफल बहस, विमर्श गर्दै जाने कुरा आएको छ । हामीले संसदीय समिति विघटनको माग राखेका थियौं, कार्यसमिति विधानअनुकूल पुनर्गठन गर्ने भएको छ । महासमितिको बैठक भदौ मसान्तभित्र गर्ने कुरा आएको छ । जिल्ला सभापतिको भेला जेठ मसान्तभित्र गर्ने कुरा आएको छ । विधान संशोधन समिति निर्माण भएको छ । हामीले भनेका धेरै कुरा समेटिएका छन् ।

तपाईंहरुले उठाएको मुद्दा सबै सम्बोधन भयो ?

– हामी १५ जना केन्द्रीय सदस्यहरुले लिखित रुपमा दिएका ९ बुँदे प्रस्ताव सबै नै सम्बोधन भयो । लिखित प्रस्ताव सम्बोधन भयो, मौखिक धारणा केही सम्बोधन भए केही भएनन् ।

पार्टीलाई अघि बढाउने विषयमा छलफल भएन भनिएको छ नि ?

– नेपाली कांगे्रसको यो ऐतिहासिक बैठक हो, जहाँ केन्द्रीय सदस्य १५ मिनेटदेखि लिएर साढे ३ घन्टासम्म आफ्नो धारणा राख्नुभयो । यो ऐतिहासिक केन्द्रीय कार्य समितिको बैठकमा सबैको धारणा हुबहु आएन होला । सबैको फरक धारणालाई मिलाएर सहमतिमा निर्णय गरियो ।

प्रतिकृया

प्रतिकृया