२ जेठ, भक्तपुर । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११÷१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले मुलुक संघीय संरचनामा रूपान्तरण गरेकाले पाठ्यक्रम सम्बन्धी संघीय, प्रादेशिक र स्थानीय भूमिकालाई व्यवस्थित गर्न, शिक्षा ऐनको व्यवस्थाअनुसार विद्यालय शिक्षालाई प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म नै पुनसंरचित गर्न एवं विद्यमान विद्यालय शिक्षालाई सीपमूलक, जनोपयोगी, रोजगार उन्मुख एवं मूल्यमा आधारित बनाउने उद्देश्यले नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारूप मस्यौदा तयार पारेको बताए ।

विसं २०७३ पुसबाट शुरु गरी तयार पारिएको प्रारुपलाई अझ राम्रो बनाउन सुझाव संकलन शुरु गरेको बताउँदै उनले पाठ्यक्रम तथा पाठ्यक्रम सम्बद्ध विश्वव्यापी परिवेश, विद्यमान पाठ्यक्रमको विश्लेषण, विशेषज्ञ एवं विज्ञहरूको सल्लाह सुझाव र प्रतिक्रियासमेतका आधारमा पाठ्यक्रम प्रारूप तयार गरिएको बताए ।

विद्यालय शिक्षाको पाठ्यक्रम तयार पार्दा आभारभूत तह र माध्यमिक तहको आधारमा पाठ्यक्रम तयार पारिएको छ । यसलाई पाँच तह तथा दुई समूहमा विभाजन गरिएको छ । अब पाठ्यक्रम तयार पार्दा पूर्णांङ्कको सट्टा पाठघण्टा र वार्षिक कार्यघण्टाको संरचना अपनाइएको काप्रीले बताए ।

प्रतिकृया

प्रतिकृया