२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।

भोलि मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।

बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

एमाले र माओवादीले दशैंमा पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावबाट गठबन्धन मात्र नभई पार्टी एकता अनुमोदन भएको भन्दै दुई दलले ७ फागुनले पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्तबारे सातबुादे सहमति गरे ।

त्यो सहमतिअनुसार कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् ।

तर, बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।

यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । यसबीचमा सचिव सरुवादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्ताहरुमा आफ्ना मन्त्रीहरुको सहभागिता नगराएको भन्दै माओवादी नेतृत्वले असन्तुष्टि जनायो ।

तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ । त्यसको संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘मैले दुबै अध्यक्षलाई सोधो, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

प्रतिकृया

प्रतिकृया