२ जेठ, कास्की । वैशाख २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी ओमबहादुर रानाले गुण्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

बुधबार पत्रकार भेटघाटमा उनले गुण्डागर्दी विरुद्धको प्रतिवद्धतासहित १२ बुँदे कार्ययोजनासमेत सार्वजनिक गरे।

एसपी रानाले गुण्डागर्दीप्रति योजना आफूले बनाइसकेको पनि जानकारी दिए । कास्कीमा रहेका गुण्डाको लिस्ट तयार गरिरहेको पनि उनको भनाई थियो ।

एसपी रानाको १२ बुँदै कार्य योजनामा प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण र स्तरवृद्धिलाई पनि समेटिएको छ ।

पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न सक्ने कन्ट्रोल रुम निर्माणको लागि योजना बनाएको एसपी रानाले जानकारी दिएका छन् ।

रानाले गुण्डागर्दीपछि लागूऔषध नियन्त्रणमा जोड दिएका थिए । घरेलु मदिरा, लागूपदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी लुटपाट, कालोबाजरी नियन्त्रण, फरार अपराधीको पक्राउ, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई एसपी रानाले प्राथमिकतामा राखेका छन् ।

लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई कारवाही गर्ने योजना बनाएको एसपी रानाको भनाई छ ।

सामाजिक विकृति, विसंगति र कुसंस्कारविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, छुट्टाछुट्टै तालिका बनाएर अपराधीको खोजी, कारबाही र सूचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड दिने एसपी रानाले बताए।

जुनसुकै सिन्डिकेट नियन्त्रण र मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही गरी छाड्ने अठोट एसपीको छ । कास्की आएपछि ३६ वटा ट्याक्सीलाई कारवाही गरेको उनले बताए।

प्रतिकृया

प्रतिकृया