४ जेठ, चितवन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दो विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ ।

आज बिहान ९।३० बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै थियो । पहिरो खस्दै गर्दा पनि छलेर सवारी आवतजावत गरिरहेका देखिन्थे ।

ठूला ठूला ढुंगा बाटोमा आइपुग्दा गाडीका सवारी चालक र सहचाल मिलेर पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भइरहेको छ ।

आज बिहान सो सडक यात्रा गर्दा दर्जनौ स्थानमा पहिरो खस्न लागेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग आएको ढुंगा यत्रतत्र थियो । मुख्यगरी जलबिरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ । कतिबेला पहिरो खसेर मानिस र सवारी साधनलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रु छन् ।

बिहीबार पहिरो खसेर केही घण्टा अवरुद्ध भएको उक्त सडकखण्डमा गएराति ठूलो पानी परेकाले बिहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे ।

इच्छकामना– ३ लेवाटारका शिवप्रसाद शर्माले यो ठाउँमा राति ठूलो पानी परेकाले पहिरो खसेको बताए । लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनुका साथै सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गरे ।

नारायणगढबाट मुग्लिन जाँदै गरेका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि यसैगरी पहिरो खस्दै गर्दा जलबिरे पुगे । ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुपर्यो, सुवेदीले भने ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडि भएका दुईवटा कारलाई झण्डै थिचेन ।’

उक्त कार पहिरो खस्न थालेकाले ब्याक गरेर जोगिएको थियो । मुग्लिनबाट आएका गाडि पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा पनि बाटो पार भएका थिए । नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भए पनि भित्तो काटिएको स्थान आलै छ । त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाय अपनाएर विभिन्न क्षेत्रमा रुख बिरुवा रोपेको भए पनि प्रभावकारी हुनसकेको छैन । जोखिम क्षेत्रमा जाली लगाइए पनि पहिरो खसिरहेको छ ।

बर्खा नलाग्दै पहिरोको उच्च जोखिम बढेकाले मध्य बर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको आज सोही सडकको यात्रा गर्नुभएका चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले बताए। उनीसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टले पनि जोखिम मोलेरै यात्रा गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गरे।

बायोइन्जिनियरिङको कामलाई तीव्रता

मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठाउँमा बायोइन्जिनियरिङको काम सम्पन्न गरिएको थियो । यस वर्ष थप ३८ ठाउँमा बायोइन्जिनियरिङको काम गरिँदैछ । सो सडकका १४८ ठाउँमा बायोइन्जिनियरिङको काम गर्ने योजना रहेको छ ।

वातावरण विज्ञ पाठकका अनुसार जुटको जाली बनाएर माटो रोक्ने जुटनेटिङ, बाँसको पर्खाल लगाउने, घाँस लगाउने, रुख बिरुवा रोप्ने, बाँस रोप्ने, बोटबिरुवाको मुठो बनाएर एकै ठाउँमा रोप्ने, रुखको बीउ रोप्ने, भिरालो जमिन मिलाउनेलगायतका कार्य बायोइन्जिनियरिङभित्र पर्छ ।

बाँससँगै सिमली, आँक, सजिवन, शिरिष, बाबियो, बकाइनोजस्ता चाँडै सर्ने र हुर्कने बिरुवा रोपिने गरिन्छ । रुख बिरुवा लगाउने कार्य मनसुन शुरु भएपछि नै गर्नुपर्ने हुन्छ भने अन्य कार्य अरु समयमा पनि गर्न सकिन्छ ।

हाल सो सडकको सेती दोभान र केराबारीमा काम भइरहेको वातावरण विज्ञ पाठकले जानकारी दिए । इन्जिनियरिङको काममा गएको दुई वर्षमा रु ७७ लाख खर्च भइसकेको छ भने यस वर्ष पनि करिब रु १४ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया