प्रा. डा. सुरेन्द्र केसी, विश्लेषक
नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिष्ट पार्टी बनाएका छन् । यो पार्टी दक्षिण एसियाकै शक्तिशाली पार्टी बनेको छ । जनमत, संसदमा रहेको उपस्थितिलगायतको आधारमा नेपाल कम्युनिष्ट पार्टी दक्षिण एसियाकै शक्तिशाली कम्युनिष्ट पार्टी बनेको हो । यिनै विषयमा स्वतन्त्र विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी–

 नेपाल कम्युनिष्ट पार्टी गठन भयो, अबको बाटो कत्तिको कठिन छ ?

– गठन एउटा प्राविधिक कुरा मात्रै छ, मूलभूत कुरा त्यो प्राविधिलाई कार्यान्वयनमा ल्याउने हो । कार्यान्वयनमा ल्याउँदा समस्या आउने हो । सैद्धान्तिक सहमतिमा गइयो भने बाटो अप्ठ्यारो हुँदैन । तर यो राजनीतिक र प्राविधिक कुरा मात्र भएको हुनाले वास्तविक चुनौति अब सुरु हुन्छ ।

 नेताको व्यवस्थापन र संगठन सुदृढीकरण अबका चुनौति हुन् ?

– अध्यक्ष नै दुईवटा भनिरहेको छ, कम्युनिष्ट पार्टीमा दुईवटा अध्यक्ष नै बुझिनसक्नु छ । पदाधिकारीको व्यवस्था हटाइयो । त्यो पनि राजनीतिक लाभका लागि हटाइएको भन्ने प्रष्टै छ । महासचिवको पद राखिएको छ, त्यो पनि कम्युनिष्ट पार्टीको प्रणालीभन्दा विपरित हुन्छ । यता, राज्य र मन्त्रीको कुरा पनि छ । अन्य विषय पनि छ, मुख्य कुरा हामी कहाँ जाँदैछौं भन्ने कुरामा नेपालको राजनीति नै दिग्भ्रमित छ । मेरो फाइदाका लागि हो कि देशको लागि हो यस विषयमा दिग्भ्रम छ । त्यो एक प्रकारले कुइरोमा पसेको जहाजको जस्तो अवस्था हो । त्यो जहाजलाई सफलतापूर्वक अवतरण गर्न कठिन हुन्छ । टरमाइल्सहरु आउँछन्, त्यो चाहिँ अबको कार्यभार हो ।

दुईजनालाई अध्यक्ष भनिएको छ नि ?

– आफ्ना लागि सम्पूर्ण आन्दोलन, विचार, परिपार्टी आफ्नो अनुकूल हिडाउनुपर्ने भएपछि गाह्रो भइहाल्छ । एउटा बाटो छ, त्यहाँ बाटोभन्दा ठूलो गाडी हिडाउनुप¥यो भने के हुन्छ ? यता पनि ठोकिन्छ, उता पनि ठोकिन्छ । असहजता आउँछ । कम्युनिष्ट पार्टी भनेको तल्लो वर्गका लागि शक्तिसँग केन्द्रित गरेर विद्यमान समाजलाई बद्ल्ने प्रणाली हो । त्यो कुरा यहाँ छैन । जे छ, यहाँ, त्यसैमा एडजस्टमेन्ट भएर आफ्नो व्यवस्थापन गर्नुपर्ने छ ।

कम्युनिष्ट भन्ने त नाम मात्र होइन ?

– यो त प्रष्टै छ, तर मान्छे त्यो सुन्नै चाहदैनन्, रिसाउँछन् । जब मान्छे आत्मआलोचक हुँदैन, अरुमै मात्र कमजोरी देख्छ, त्यसपछि समस्या सुरु हुन्छ ।

एमाले र माओवादीको एकता आवश्यक थियो ?

– आवश्यकभन्दा पनि एकता केका लागि ? विभाजन केका लागि भन्ने हुन्छ । यहाँ पार्टी विभाजन कहिले पनि सैद्धान्तिक कारणले भएको छैन । निजी महत्वकांक्षा र फाइदाका लागि राजनीतिक दलहरु फुटेका छन् । किन फुटे त्यो ‘किन’ को जवाफ नेपाली समाजले अहिलेसम्म पाएको छैन ।

प्रतिकृया

प्रतिकृया