१६ जेष्ठ, काठमाण्डौं ।   हरि चौहानको शतक मद्दतमा प्रदेश ४ ले प्रधानमन्त्री कप वन डे क्रिकेट प्रतियोगितामा आज पहिलो जित दर्ता गरेको छ ।

समूह ए मा रहेको प्रदेश ४ ले १ लाई १ सय २९ रनले पराजित गरेको छ । प्रदेश ४ ले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश १, ३५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

सन्दिप ढुङ्गानाले ७१ रन बनाएपनि अन्य ब्याट्स्म्यान क्रिजमा जम्न नसक्दा प्रदेश १ हार व्यहोर्न बाध्य भए । प्रदेश ४ का हरि चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन बनायो । प्रदेश ४ का लागि ८ चौका र १ छक्का मद्दतमा चौहानले शतक प्रहार गरेका हुन् ।

प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो ब्याट्स्म्यान समेत बनेका छन् । यस्तै, सुमा घिमिरेले ८३ रनको योगदान गरे । प्रदेश १ का पुष्प थापा र सन्दिप ढुङ्गानाले समान २ विकेट लिए ।

 मुलपानी क्रिकेट मैदानमा आजै भएको प्रदेश ५ र ७ बीचको अर्को खेल भने वर्षाले प्रभावित भएपछि दुवै टोलीले अंक बाढेका छन् । गएरातिको वर्षाका कारण मैदान हिलाम्य भएपछि ढिलो गरी सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो । टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाएर १९ रन जोड्दा पुन: वर्षा भएपछि खेल रद्ध गरिएको हो ।

प्रतिकृया

प्रतिकृया