२१ जेष्ठ, काठमाण्डौं । युरोपेली राष्ट्र रसियामा १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को सुरुआत हुँदैछ । चार वर्षमा एक पटक आउने सर्वश्रेष्ठ फुटबल प्रतियोगिताको उपाधि जित्नु एक सफल फुटबल करियरको पर्याय मानिन्छ । विश्वकप उपाधि नजितेको खण्डमा कुनैपनि विश्वस्तरीय खेलाडीको करियर अपुरो हुन्छ ।

यसपटक अहिलेका चर्चित केहि खेलाडी आफ्नो करियरको विश्वकप धोको पुरा गर्न तत्पर रहेको छन् । सो सुचिमा अर्जेन्टिनाका लिओनेल मेस्सीदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सामेल छन् । मेस्सीको हकमा भन्नुपर्दा क्लब फुटबलमा एकछत्र राज जमाएका विशिष्ट खेलाडीले राष्ट्रिय टोलीबाट भने सोचेअनुरुप प्रदर्शन हुन सकेको छैन । यसकारण पनि उनीमाथि विश्वकप जितेर राष्ट्रिय टोलीको प्रदर्शनलाई सुखद बिट मार्ने अवसर छ ।

ब्राजिलका फरवार्ड नेयमार पनि सोहि लक्ष्यसहित अगाडी बढेका छन् । पछिल्लो संस्करणमा कोलोम्बियाविरुद्ध क्वाटरफाइनलमा ढाडको चोट बोकेपछि सेमिफाइनल गुमाएका उनले यस पटक भने सुरुआतमा फिटनेसको लागि संघर्ष गरिरहेका छन् । ब्राजिलका दिग्गज पेलेसँग दाँजिदै आएका नेयमारले उक्त दाँजोलाई न्याय गर्न भएपनि विश्वकप उपाधि जित्नेपर्ने दवाव छ । यसका लागि नेयमारले आफ्नो फिटनेस मात्र नभएर खेलमा पनि शत प्रतिशत मिहिनेत गर्नुपर्ने हुन्छ ।

इजिप्टका मोहमद सलाह, बेल्जियमका इडेन हजार्ड लगायत आधुनिक युगका जुर्मुराउँदा खेलाडी पनि आफ्नो करियरलाई लय दिन विश्वकपमा सफल प्रदर्शन गर्ने अपेक्षामा हुनेछन् । १० दिनपछि सुरु हुने विश्वकपले धेरैलाई निराश पार्नेछ भने विजेता टोलीका खेलाडीको करियरमा नयाँ आयाम ल्याउनेछ ।

प्रतिकृया

प्रतिकृया