-छेटुप तामाङ

जीवनमा खुशी र हर्ष कसरी मिल्छ, अनि पैसा र प्रतिष्ठा कसरी प्राप्त गर्न सकिन्छ । सायद छेटुप तामाङ (३७)ले जीवनका भोगाइहरुमा सयौं पटक देखेको सपना हो यो ।

हुनत सपना देख्दैमा बिपनामा पुरा गर्न कहाँ सकिन्छ र रु त्यसका लागि त संघर्ष चाहिन्छ । श्रम गर्नुपर्छ अनि पसिना बगाउनुपर्छ । संघर्ष गर्ने पनि एउटा लक्ष्य हुन्छ ।

संघर्षबाट सफलता हासिल गर्न दृष्टिकोण प्रष्ट हुनुपर्छ । यी सबै कुरा छेटुपले मजाले बुझेका थिए । भरिया बनेर हिमाल चढ्दा होस या मालिक बनेर घुम्ने कुर्सीमा हल्लिदा उनको दृष्टिकोण प्रष्ट थियो ।

काठमाडौं नजिकैको काभ्रे तिमाल गाउँपालिकामा जन्मे–हुर्केका उनी पर्यटन क्षेत्रका बारेमा प्रष्ट बुझ्थे । किनकी उनका बुबा ट्रेकिङमा आएका पर्यटकका लागि कुकम्यानको काम गर्थे । बुबासँग पछ्याउँदै ट्रेकिङ गन्तब्यतिर पुग्दा उनले पर्यटनमा अवसरहरु देख्न थालिसकेका थिए ।

स्थानीय पन्चकन्या माविबाट विद्यालय स्तरको पढाइ सकेका निम्न बर्गीय परिवारमा जन्मिएका उनले स्कुल पढ्दै पर्यटकको भरिया बनेर काम थाले । त्यसबेला स्कुलमा हिउँदे र बर्खे विदा दिने चलन थियो ।

सँगै पढ्ने साथीहरु विदाको सदुपयोग गर्दै ट्युसन कक्षा जान्थे । तर उनी भरिया बनेर हिमाल–पहाडमा उकाली ओराली गर्न पुग्थे । यो रहर थिएन बाध्यता थियो । ६ भाई दाजुभाइमध्येका जेठा उनको परिवारलाई खर्च जुटाउन र बुबाको साहाराका लागि भरिया बन्नुपर्ने बाध्यता नै थियो ।

भर्खर जुँगाका रेखी बस्दैगर्दा लाङटाङ, पाँचपोखरी ट्रेकिङमा भरिया बनेर जाँदा उनले पर्यटनमै लागेर जीवनमा खुशी ल्याउँछु र परिवारलाई सन्तुष्ट पार्नसक्छु भन्ने लागेकै थिएन ।

उनी भन्छन्ः ‘सँधै भरिया बनेरै मरिन्छ होला जस्तो लाग्दथ्यो तर संघर्ष, संगत र साहसले मलाई यतिबेला मालिक बनाएको छ । आजको उमेरमा आइपुग्दा देश विदेश घुम्ने मात्र होइन, थोरबहुत घरघरेडी जोड्न सक्ने भएको छु ।’

करिब एक दशक भरिया बनेर विताएका उनले सबै ट्रेकिङ रुटको फेरो समात्न सक्ने भएका थिए । यानेकी उनी नेपालका चल्तीका सबै ट्रेकिङ रुट मजासँग जान्दथे । एसएलसी सकेपछि छेटुपले जुक्ती लगाए ।

अब भरिया बनेर मात्र हुँदैन, बढुवा हुनुपर्छ । अनि सहायक गाइट बनेर काम थाले । सन् १९९६ ताका नेपालमा ट्रेकिङमा रमाउन आउने पर्यटकको संख्या थामिनसक्नु थियो ।
उनले यसैबेला सहायक गाइट बनेर काम थाले । टुटेफुटेको अंग्रेजी हिंड्दा हिंड्दै सिके । करिब चार बर्ष सहायक गाइडको रुपमा काम गरेपछि भने उनले गाइडको लाइसन्स निकाले ।

जिन्दगीको ट्रनिङ पोइन्ट

गजक्क परेको ज्यान र उच्च कद भएका छेटुप पर्यटन क्षेत्रका लागि लायकदार थिए । एसएलसी पास गरेर प्रदर्शनीमार्गको आरआर क्याम्पसमा भर्ना भएका उनको जीवनको सुन्दर मोड यहींबाट सुरु भयो ।

डेढ दशक अघिको क्षण सम्झदैं उनी भन्छन्, ‘घुमफिर गरेरै आम्दानी हुन थालेपछि अरुतिर सोच्नै सकिएन, त्यसबेलै फ्रेन्स र अंग्रेजी भाषा पनि सिक्न थालें, उनले थपे,‘अनुभव त बटुलेकै थिएँ अब भाषामा पनि दख्खल भएपछि ट्रेकिङ क्षेत्रमा मेरो माग जताततै हुन थाल्यो ।’

त्यसपछि उनले करिब ६ बर्ष फ्रेन्स र अंग्रेजी टुर गाइडका रुपमा काम गरे । ट्रेकिङको सिजन अफ भएपछि उनी भाषा सिक्न तालिम केन्द्रतिर दौडिहाल्थे । भाषा र अनुभवले उनको जानपहिचान बन्दै गयो । देशी विदेशी साथीहरु जेडिदै गए । थपिदै गए । संजाल बन्दै गयो ।

मालिक बन्ने सुर

तल्लो स्तरबाट गरेको संघर्षको फल छेटुपलाई विस्तारै प्राप्त हुँदै गयो । विदेशी साथी र स्वदेशी शुभेच्छुकहरुको सल्लाह बमोजिम उनले आफ्नै कम्पनी खडा गर्ने सोच बनाए ।

त्यही मेसोमा उनी फ्रान्स उडे । करिब अढाइ महिना फ्रान्स बसेर फर्किएपछि उनले ‘अल्टिच्युड रन्दोने ट्रेकिङ्ग कम्पनी’को न्वारन गरे ।

‘तिमी चिताउ म पुर्‍याउँछु’ भनेजस्तै उनले जे चिताए त्यही अनुसार काम अघि बढ्यो । फ्रान्स र क्यानाडाबाट नेपाल ट्रेकिङ गर्न आउने पर्यटक उनकैमा ठोकिए । उनको ब्यवसाय चम्कियो । अन्तत उनी भरिया, सहायक गाइड, गाइड हुँदै मालिक बने र आफ्नो संजाल विदेशतिर जोड्न थाले ।

त्यसपछि छेटुपका दिनहरु बदलिए । मुहारमा खुशीका रेशाहरु दौडिन थाले । उनी भन्छन,‘सेवा सुविधा राम्रो दिनसक्यो भने ट्रेकिङमा रमाउन विदेशीले जतिपनि खर्च गर्न सक्ने रहेछन्,’ उनी सम्झिन्छन, ‘मैले दिएको सर्भिसबाट पर्यटकको आकर्षण अतिनै बढेर गयो ।’

त्यसपछि छेटुप भरियाबाट नामी ट्रेकिङ कम्पनीका मालिक बने । ट्रेकिङ कम्पनी चल्दैछ । यता उनले युरोसेञ्जेन नेपाल रियल स्टेट एण्ड कन्सल्टेन्ट कम्पनी खोलेर नयाँ ब्यवसाय सुरु गरिसकेका छन् ।

उनले सुरु गरेको प्रोपर्टी बिजनेसमा युरोप, अमेरिकामा जस्तै व्यवस्थित बैधानिक रियल स्टेट कारोबार बनाइनुपर्छ भन्ने उनको बुझाइ छ । व्यक्तिगत रुपमा प्रोपर्टी बिजनेस गर्ने अबैध कारोबारले ठगी बढ्ने र राज्यको कर छल्ने भएकोले सरकारलाई नयाँ नीति नियमसंगै कम्पनी मार्फत मात्र कारोबार गर्न गराउन छेटुपको सल्लाह छ ।

भूमिसुधार मन्त्रालयले घर जग्गा कारोबारमा कर कसरी उठाउने त्यता ध्यान दिन सुझाव उनको छ । बिना रियल स्टेट लाइसेन्स व्यक्तिगत कारोबारले धेरै कर छली भैरहेको छ र राज्यले राजश्व गुमाइरहेको बारे सरकार सचेत रहन छेटुप सुझाउँछन् । किनकी भर्खरै सरकारले ल्याएको लाइसेन्स प्रणालीबारे उनले प्रशंसा गरे ।

व्यथितिले दिग्दारी

पर्यटन क्षेत्र जति फस्टाएर गएको छ त्यतिनै ब्यथिति र बिकृति भित्रिएकोप्रति छेटुप चिन्तित छन् । अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । अनुभवविहीन व्यवसायीहरुको प्रवेशले निराशा ल्याएको छ । सस्तो प्याकेज बेच्ने, राजनीतिक खिचातानी गर्ने अनि सेवा सुविधा नदिने कम्पनी खोल्ने लहर चलेकोप्रति उनी सन्तुष्ट छैनन ।

सरकारको भिजन प्रष्ट छैन । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको भए पनि बार्षिक १० लाख भित्र्याउन हम्मे पर्छ । गुणस्तरयुक्त सेवा, विदेशमा प्रचार यतिबेलाको आवश्यक्ता भएको उनको बुझाइछ ।

समाजसेवाले दिएको खुशी

हुनत मान्छेका आवश्यक्ता असिमित हुन्छन् । करिब एक दर्जन देश घुमिसकेका उनी सपना देख्न छाडेका छैनन । कुनै समयका भरिया छेटुप यतिबेला चिल्लो गाडी चढेर हुँइकिन्छन् । सुविधा सम्पन्न रेष्टुरेन्ट र बारमा उनको खानपान चल्छ ।

ग्रिस र साइप्रसमा उनको नयाँ कम्पनीको व्यवसाय फैलिदैछ । प्रोपटी सेल र गोल्डेन भिषाको परामर्शदाताको काम गर्ने नयाँ व्यवसायमा पनि हात हालेका छन् । एसिया म्यानेजर भएर काम गरिरहेका छन् । हुनत उनी व्यवसाय मात्र गर्दैनन् । यसले मात्र उनलाई खुशी दिन सकेको छैन ।

गाउँको विकास, विपतमा परेका मानिसलाई सहायता उनको सोख हो । बाढी, पहिरो, भुकम्प, विनाशका बेला उनी अत्यावश्यक सामाग्री लिएर घटनास्थल पुगिहाल्छन् । ‘

मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन’ भन्ने उक्ती उनमा खासै लागु हुँदैन । उनीसँग मन पनि छ र परेको बखत धन जुटाउन पनि पछी हट्ने स्वभाव छेटुपमा पाउँन सकिदैन ।

दर्पण संसार र हेडलाईन नेपालको सहकार्यमा  व्यवसायी छेटुप तामाङसंग कुराकानीमा आधारित

प्रतिकृया

प्रतिकृया