२२ जेष्ठ, काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरमा पहिलोपटक शिखर वार्ता गर्दा उनीहरूले गोर्खाली प्रहरीहरूले सुरक्षा दिने भएका छन् ।

त्यसो त दुवै नेताले व्यक्तिगत सुरक्षा टोलीहरू ल्याउनेछन् तर गोर्खालीसहितको सिंगापुर प्रहरीले वार्तास्थल, सडक र होटेलहरूको सुरक्षा दिनेछ ।

गोर्खालीहरूको उपस्थिति सिंगापुरमा छ तर उनीहरू बाहिर खासै देखिँदैनन् । गत सप्ताहान्तमा सांग्रिला होटलमा भएको सुरक्षा सम्मेलनलाई उनीहरूले सुरक्षा दिएका थिए ।

सिंगापुर प्रहरीले नेपालका पहाडहरूबाट गोर्खालीहरूलाई लिएर भर्ती गर्ने गर्छ । उनीहरू बडी आर्मर, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट असल्ट राइफल र लेग होल्स्टरमा पिस्तोल राखेर सम्मेलनमा तैनाथ देखिन्थे ।

सुरक्षाविज्ञहरूका अनुसार, अमेरिका र उत्तर कोरियाबीचको शिखर सम्मेलनको पूर्वतयारीस्वरूप उनीहरूलाई त्यहाँ खटाइएको थियो ।

अत्याधुनिक हतियार राख्ने भएपनि गोर्खालीहरू खुकुरीविना युद्धमा जाँदैनन् । परम्पराअनुसार, दापबाट खुकुरी झिकेपछि रगत नचुहाइकन फिर्ता राख्न हुँदैन ।

‘सिंगापुरले दिनसक्ने सुरक्षाका लागि उनीहरू सबभन्दा गतिला माध्यम हुन् र उनीहरू सम्मेलनमा पक्कै रहनेछन् जस्तो मलाई लाग्छ,’ इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजमा सिंगापुरका सशस्त्र बलविज्ञ टिम हक्सली बताउँछन् ।

‘उनीहरू महत्त्वपूर्ण र अग्रपंक्तिमा रहेका बल हुन् र यस्तो समारोहलाई सम्हाल्नका लागि गोर्खालीले विशेष तालिम लिएका हुन्छन्,’ उनले भने ।

सिंगापुर प्ररहीका एक प्रवक्ताले गोर्खालीहरूको तैनाथीका विषयमा केही बोलेनन् ।

लगभग १८ सय गोर्खालीहरू सिंगापुर प्रहरीमा रहेको आईआईएसएस मिलिटरी ब्यालेन्स बताउँछ ।

हक्सलीका अनुसार, गोर्खालीहरू सिंगापुरको नेतृत्वका लागि बहुमूल्य सम्पत्ति हुन् । जातीय विविधता भएको देशमा उनीहरू तटस्थ बलका रूपमा रहेका छन् । उनीहरूले भीआईपीलाई अनि दंगाको अवस्थामा सुरक्षा दिने गरेका
छन् ।

क्षेत्रीय तनाव भएका बेलामा उनीहरूले अन्तर्राष्ट्रिय विद्यालयहरूको सुरक्षा गरेका थिए र मलेसिया–सिंगापुर सीमामा पनि तैनाथ देखिन्छन् ।

सिंगापुर प्रहरीको वेबसाइटले गोर्खालीहरूलाई ‘कठोर, जागरुक र दृढ’ बलका रूपमा वर्णन गरेको छ । उनीहरूले ‘सिंगापुरको सुरक्षाका लागि विभिन्न किसिमका प्यारामिलिटरी अपरेसनहरू गर्ने गरेको’ पनि लेखिएको छ ।

रोयटर्सबाट

प्रतिकृया

प्रतिकृया