२४ जेठ,काठमाडौँ । रुस्लान थ्री स्टार क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकपको फाइनलमा पुगेको छ । बट्टारस्थित खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली नुवाकोट–११ को चुनौती ४–१ को फराकिलो अन्तरले पन्छाउदै थ्री स्टार नुवाकोट गोल्डकपको उपाधिनजिक पुगेको हो ।

यससँगै थ्री स्टार वर्षको तेस्रो उपाधि नजिक पुगेको छ । सिजनको सुरुमै इलाममा भएको माईं भ्याली गोल्डकपको च्याम्पियन बनेको थ्री स्टार त्यसपछि उदयपुर गोल्डकपको उपाधि जितेको थियो । थ्री स्टारले दुवै फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।

अब थ्री स्टारले उपाधिका लागि आज नेपाल पुलिस क्लब र पोखरा ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्दैछ । थ्री स्टारको जितमा अजयी मार्टिन्सले २ तथा विजय धिमाल र कप्तान निराजन खड्का समान १ले गोल गरे । पराजित टिमका लागि दिपेश श्रेष्ठले गोल गरे ।

थ्री स्टारले खेलमा पछि परेको स्थिति उल्ट्याएको हो । खेलको आठौं मिनेटमा दिपेशको गोलबाट थ्री स्टार पछि परेको थियो । थ्री स्टारले ३८ औं मिनेटमा मार्टिन्सको गोलबाट खेललाई बराबरी ल्यायो । ४३ औं मिनेटमा मार्टिन्सले अर्को गोल थपेपछि थ्री स्टारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएको केही समयपछि नै दर्शकहरु अभद्र व्यवहारसहित मैदानमा प्रवेश गरेपछि खेल करिब १४ मिनेट रोकिएको थियो । त्यसपछि खेल पुन सुचारु हुदा थ्री स्टार थप २ गोल गरेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा विजयले गोल गर्दै थ्री स्टारको अग्रता ३–१ मा पु¥यायो । इन्जुरी समयको आठौं मिनेटमा कप्तान निराजनले सुन्दर गोल गर्दै थ्री स्टारको जित पक्का गरे ।

नुवाकोटका खेलाडीले बुद्ध चेम्जोङलाई डि–बक्समा लडाएपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई भर्खरै थ्री स्टारमा आबद्ध भएको रन्जन विष्टले गोल गर्न सकेनन् । रन्जनको प्रहार आकासिएको थियो । थ्री स्टारका मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए र साकुरा नेपालका तर्फबाट १० हजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुनेले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया

प्रतिकृया