प्रदेश नं २ को सरकारले हिजो बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वैकल्पिक ऊर्जाबाट ५० मेघावट विजुली उत्पादन गरिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । जनकपुर चुरोट कारखाना हाताभित्र रहेको प्रदेशको कार्यालय र निवासमा सौर्यऊर्जा जडान गर्न नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश २ लाई समृद्ध बनाउन यो नीति तथा कार्यक्रमले कसरी सहयोग गर्छ ? अथवा यो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि प्रदेश २ ले अर्को केही रणनीति बनाएको छ ? प्रदेश २ मा संघीय समाजवादी पार्टीको गठबन्धन सरकार छ । सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले समर्थन गरेको छ । गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमको जनताले के अपेक्षा गरेका छन् भन्ने सन्दर्भमा रहेर राज ढुंगानाले प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवसँग गरेको कुराकानी :

तपाईंहरुले ल्याएको नीति तथा कार्यक्रमको गुँदी कुरा के हो ?

– संसदमा ल्याइएको नीति तथा कार्यक्रममा हाम्रो सय दिने कार्यक्रमलाई जोड्दै हामीले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । भौतिक पूर्वाधारका विषय पनि प्राथमिकतामा छन् । मुख्य भनेको कृषि, शिक्षा र स्वास्थ्य नै हो । मानव सूचांक हेर्ने हो भने प्रदेश २ मा शिक्षाको अवस्था खस्केको छ । राजनीतिक संक्रमण हामीले पार गरेर अहिले यो अवस्थामा हामी छौं । पहिला राज्यले निगरानी गर्न सकेन, राजनीतिक एजेन्डा समावेश गर्न पाएन, ती कुरालाई हामी नीति तथा कार्यक्रममा समावेश गरेका छौं ।

ऊर्जाको कुनै योजना छैन ?

– ८२ हजार मेगावट क्षमता भएको देश हो हाम्रो । अहिलेसम्म हामीले ९ सय ५० मेगावट उत्पादन गर्दैछौं । प्रदेश २ मा हाइड्रो इलोक्ट्रोसिटीको सम्भावना न्यून छ । त्यसैले हामीले वैकल्पिक ऊर्जालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेका छौं ।

कृषिमा धेरै बोर्ड गठनको कुरा गर्नुभएको छ नि ?

– यो गठन भनेको प्रकृयागत अघि बढ्ने हो । हामी गठन गछौं, यो केन्द्रमा पनि छ । विकास बोर्ड हाम्रो केन्द्रीय नीतिमा छ । सम्भवतः काम पनि गरिरहेको छ । प्रदेश नं २ मा कृषि विकास बोर्ड, दुग्ध विकास बोर्ड, मत्यस विकास बोर्ड गठन हुँदै जान्छ । यो आवश्यकता पनि हो । यहाँ सय प्रतिशत कृषिमा आधारित छ । किसानलाई प्राथमिकता दिनेक्रममा हामीले बोर्ड गठनको नीति लिएका हौं ।

प्रतिकृया

प्रतिकृया