२८ जेठ, काठमाडौं । भारतले नेपालका १२ जिल्लामा २७ सय स्यालो ट्युबेल जडानका लागि ९ करोड ९२ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल भारत मैत्री सिञ्चाई परियोजनामार्फत सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा स्यालो ट्युबेल जडानका लागि भारतले सहयोग गरेको हो ।

सहयोग रकमको चेक सोमबार नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिञ्चाई सचिव सञ्जय शर्मालाई हस्तान्तरण गरेका छन् ।

यस परियोजनाका लागिभारतले नेपाललाई २२ करोड ७६ लाख रुपैयाँ निकासा गरेको भारतीय दूतावासले विज्ञप्ति मार्फत जनाएको छ । स्यालो ट्युबेलले १२ जिल्लाका ८ हजार १ सय १५ हेक्टर जमिनमा बाह्रै महिना सिञ्चाइ सुविधा पुर्‍याउँछ । यसले किसानलाई गहुँ, धान र मौसमी तरकारी र फलफूल उत्पादन वृद्धि हुने भारतीय दूतावासको अपेक्षा छ ।

नेपालमा कृषि उत्पादकत्व बढाउन भारतले डीप ट्युबवेल र स्यालो ट्युबेलमार्फत २००४ देखि सहयोग सुरु गरेको हो । भारतको सहयोगमा धनुषा र महोत्तरीमा एक हजार स्यालो ट्युबेल निर्माण भइसकेको छ । जसको मूल्य ८ करोड ८७ लाख रुपैयाँ रहेको छ । यसबाट ३ हजार घरधुरीको करिब ३ हजार हेक्टर जमिन सिञ्चाइ भएको भारतीय दूतावासको दावी छ ।

त्यस्तै झापा, सुनसरी, सप्तरी र सिरहा जिल्लामा सन् २००८ मा डीप ट्युबेल सहयोग गरेको थियो । ८ करोड ८४ लाख रुपैयाँ सहयोगमा निर्माण भएको डीप ट्युबवेलबाट करिब ११ सय किसान परिवार लाभान्वित भएका छन् ।

प्रतिकृया

प्रतिकृया