३० जेठ, काठमाडौं । उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा राज्यकोष दोहन भने रोक्न नसकेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता उपचार खर्चका नाममा बिगतमा जस्तो धेरै व्यक्तिलाई मनपरी रकम वितरणमा रोक लागे पनि केही विशिष्ठ व्यक्तिलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर दिइएको पाइएको छ ।

उपचार खर्च पाएकामध्ये कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का तथा नेकपा नेता तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको भने निधन भइसकेको छ । यद्यपि बिगतमा जस्तो निवेदनकै भरमा उपचार खर्च दिने प्रवृत्तिलाई भने सरकारले नियन्त्रण गर्न खोजेको छ ।

कम्युनिष्ट पार्टीको सरकार गठन भइसकेपछि राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का, नेकपा नेता स्वर्गीय जागृत भेटवाल र नेकपाका नेता विश्वेश्वरा दाहाल तथा लव प्रधान मित्रलाई मन्त्रिपरिषदबाट निर्णय गरेर उपचार खर्च दिइएको छ ।

यद्यपि राजपा अध्यक्ष तथा पूर्वमन्त्री ठाकुरले भने राज्यकोषबाट दिने निर्णय भएको उपचार खर्च नलिएको स्रोतले जनाएको छ । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका ठाकुरको हकमा सरकारले गत वैशाख ४ गतेको निर्णयअनुसार बिल बमोजिम भुक्तानी गर्न दिल्लीस्थित दूतावासलाई निर्देशन दिएको थियो ।

सरकारको निर्णयबारे जानकारी गराउन मेदान्त अस्पताल पुगेका कार्यवाहक राजदूत भरत रेग्मीले बिल बमोजिम भुक्तानी गर्ने जानकारी दिएका थिए । तर ठाकुरले उपचार खर्च लिन रुचि नदेखाएको र उनको उपचार खर्च अरु नै व्यक्तिले व्यहोरेको स्रोतले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया