३० जेठ,चितवन । भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ ।

अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।

महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिए ।

“गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उनले भने । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेकोे बताईन् । महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ ।

प्रतिकृया

प्रतिकृया