३० जेठ, काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा आरके ज्वेलसर्बाट छापा मारेर नियन्त्रणमा लिइएको सुन राष्ट्र बैंकमा बुझाइएको छ । बुधबार सुन तस्करी छानबिन बिशेष समितिले आरके ज्वेलर्सबाट बरामद सुन, नगद तथा अन्य गहनाहरु राष्ट्र बैंकमा बुझाएको हो ।

२० करोड रुपैयाँ बराबरको धनमाल बुधबार राष्ट्रबैकमा बुझाइएको छ । सोमबार समितिले राजेन्द्रकुमार शाक्यद्वारा सञ्चालित तीन वटा सुन पसलमा छापामारेर सबै सुन, गहना र नगद जफत गरेको हो। तीनै वटा पसलमा शिलबन्दी समेत गरिएको छ। संगठित अपराधको अनुसन्धानका लागि शाक्यको सम्पती जफत गरिएको समितिले जनाएको छ ।

सुन तस्करीबाट आम्दानी गरेको रकम बाजेको सेकुवामा लगानी रहेको तथ्य पत्ता लागेपछि छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ । सुनतस्करीको पैसा रेष्टुरेन्टमा लगानी गरेको तथ्य भेटिएपछि शिलबन्दी गरिएको हो ।

लगानी भएको ६ वटा ‘बाजेको सेकुवा’ मा शिलबन्दी

समितिका संयोजक इश्वरराज पौडेलका अनुसार अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको हो । उपत्यकामा बाजेको सेकुवाका १० वटा आउटलेट रहेकोमा अहिले ६ वटामात्र शिलबन्दी गरिएको छ । उनका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो ।

भण्डरीको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ । भण्डारी भने फरार रहेका छन । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धान सुरु भएको छ ।

प्रतिकृया

प्रतिकृया