३० जेष्ठ, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि अन्तर्राष्ट्रिय जगतमा विशेषतः जनकपुरधाम र मुक्तिनाथको व्यापक प्रचार भएको पाईएको छ । मोदीको नेपाल भ्रमणपछि छिमेकी मुलुकबाट पर्यटकको ओइरो नै लाग्न थालेको छ । पछिल्लोसमय जनकपुरधामका होटल, धर्मशाला तथा लजहरू सबै पर्यटकले भरिभराउ अवस्थामा रहेका छन् ।

अझ रोचक कुरा त होटल, लज, धर्मशालामा बस्न नअटाएपछि दिनहुँ करिब सयजना हाराहारीका पर्यटक जानकी मन्दिर परिसरमा पाल टाँगेर रात बिताउन थालेका छन् ।

‘बिचल्लीमा परेका पर्यटकहरुलाई हामीले मन्दिर खोलेर बस्ने व्यवस्था मिलाउँदै आएका छौ,’ राष्ट्रिय जनता पार्टीका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले भने ।

जेष्ठ ०८ गते भारतको आन्ध्रप्रदेश कोन्टुरका केशरी वेंकटसित रेल्वेस्टेसन एरियास्थित होटल आनन्दमा भेट हुँदा ६० जनाको टोलीको नेतृत्व गर्दै ११ दिने धार्मिक यात्रामा नेपाल आएका छन्, उनले बताए ।

त्यसो त मोदीको जनकपुर भ्रमणपछि आन्ध्रप्रदेशमा जनकपुरधाम भ्रमणको लहर चलेको बताईएको छ । ‘सीताको जन्मस्थलका रूपमा जनकपुर प्रख्यात छ तर मोदीको भ्रमणपछि अझ चर्चित बनेको छ,’ उनले भने, ‘यस वर्षको भ्रमण तालिका परिवर्तन गरेर यहाँ आएको बताउँदै उनले भने, ‘यस वर्ष जनकपुर आउने योजना थिएन, एक्कासि भ्रमणतालिका परिवर्तन गरेर यहाँ आयौं ।’

होटल आनन्दका सञ्चालक अशोक जलानले वैशाख २८ (मोदीको जनकपुर भ्रमण भएको दिन) यता भारतीय पर्यटकको ओइरो लागेको बताए । जलानकाअनुसार अचेल यहाँका सम्पूर्ण होटल, धर्मशाला, लज भरिभराउ छन् । जनकपुरमा होटल सीताशरण, जानकी, रामा, सीता पैलेश, सिटी पैलेस, वेलकम होटल, आनन्द, नमस्कारसहित डेढ दर्जनभन्दा बढी राम्रा होटल छन् भने गोपाल धर्मशाला, पगलाबाबा, माडवारी सेवा समिति, रौनियार धर्मशाला, यात्री निवासलगायतका सुविधा सम्पन्न धर्मशालालगायत अन्य साना ठूला लज छन् । होटलहरूमा ५ सयजना र धर्मशाला र लजहरूमा ५ सयजना गरी एक हजारजना पर्यटकलाई दैनिक बासस्थान दिन सक्ने क्षमता रहेको होटल व्यावसायी अशोक जलानले बताए ।

मोदीको नेपाल भ्रमणकै २ दिनभित्रै भारतबाट जनकपुरधाम ३१ भन्दा बढी बसहरु भित्रिएका छन् । प्रत्येक बसमा ४० जनाका दरले दुई दिनमा एक हजार ३ सयभन्दा बढी पर्यटक आएका छन् ।

पर्यटकहरूको आगमनमा वृद्धि भए पनि जनकपुरधाम उप–महानगरपालिका, प्रदेश सरकार, पर्यटन कार्यालय, विदेह मिथिला पर्यटन केन्द्रलगायतका सरकारी संयन्त्र भने बेखबर छन् । ई–रिक्सा चालक शम्भुप्रसाद साहकाअनुसार जानकी पुस्तक भण्डारले प्रकाशन गरेको ‘जनकपुरधामकी झाँकी’ पुस्तक नै यहाँको आधिकारिक गाइड किताब हो । ‘पुस्तकमा जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, संकटमोचन, राजदेवी मन्दिर, मणिमण्डप, गङ्गासागर, धनुषासागरसहित १४ स्थानको सचित्र वर्णन गरिएको छ ।

ई–रिक्सा चालक साहले भने, ‘ई–रिक्सामा पाँचजनालाई बसाउँछौं अनि सबै स्थानको दर्शन गराउँछौं ।’ यसरी ३ घण्टामा आफूहरू ५ सय भारतीय रुपियाँ कमाउने गरेको उनले जानकारी दिए । जनकपुरधाम उप–महानगरपालिका, प्रदेश तथा सङ्घीय सरकार जनकपुरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने घोषणा गरेका छन् । तर, कुनै सकारात्मक नीति तथा कार्यक्रम भने ल्याउन सकेका छैनन् ।

‘भारत हरियाणा हिसारबाट आएका हरजित सिंहले मोदी नेपाल आएपछि मात्रै आफूले माता सीता जनकपुरधामको रहेको जानकारी भएको बताए । उनले जनकपुधाममा जन्भिएको थाहा भएको तर कहाँ पर्छ यसअघि थाहा नभएको बताए ।

त्यस्तै जनकपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनकपुरको पर्यटन सूचना वेबसाइट तथा ब्रोसर निर्माण गर्ने विषयलाई समावेश गरिएको जानकारी दिएका छन् ।

सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रामाशीष यादव पर्यटक टिकाउने कार्यक्रमको आवश्यकता औंल्याएका छन् । उनले भने, ‘पर्यटक त आउँछन तर टिक्दैनन् । पर्यटक टिकाउने कार्यक्रम ल्याउनुपर्छ ।’

त्यसैगरी मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथमा पनि पर्यटकको सङख्या बढेको छ ।

नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई प्रवद्र्धन गर्नेगरी बैशाख २८ गतेदेखि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थितदेखि लिएर मुस्ताङ्गको मुक्तिनाथसम्मको भ्रमण गरेपछि मोदीले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनको लागि प्रचार गरी अपत्यक्ष ढङ्गबाट गुन लगाएको देखिन्छ । तुलनात्मक रुपमा मुस्ताङ्गस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा चलहपहलमा ह्वात्तै वृद्धि भएको छ ।

भारतको कार्यकारी प्रमुख प्रधानमन्त्री मोदी नै मुक्तिनाथ मन्दिर पुगेपछि दक्षिण भारतका धर्मावलम्वीहरुको मुक्तिनाथ यात्राको सङ्ख्या ह्वात्तै बढेको हो । भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणपछि ४८ प्रतिशत धर्मावलम्वीहरु बढेको स्थानीय व्यापारी काङ्मती शेर्पाले बताए ।

वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । झन् मोदीको भ्रमणपछि तीर्थयात्रीको सङ्ख्या ४८ प्रतिशतले बढेर गएको छ । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् ।

मोदीको भावनात्मक सम्बन्ध धार्मिक हिसाबले पनि नेपालप्रति रहँदै आएको बुझिन्छ । त्यसैले उनी मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रममा विगत सम्झदै भावुक भएर आँशु निकालेको खबर सञ्चारमाध्यममा आएको थियो ।

औषतमा दर्शनार्थी नेपाल आएपनि भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणपछि ठ्याक्कै दोब्बरले वृद्धि भएको छ । मोदीको मुक्तिानाथ दर्शनपछि एकै महिना ४ हजार ८५८ दर्शनार्थी मुस्ताङ्ग आएका छन् । यसरी आउने दर्शनार्थीमा करिब ८८ प्रतिशत भारतीय रहेका छन् । त्यसमा पनि दक्षिण भारतका दर्शनार्थी ७१ प्रतिशत रहेका छन् । एकै महिनामा करिब २५१४ जना भारतीय धर्मावलम्वी मुस्ताङ्ग आएका छन्, जसमा ३ हजार ३५ जना मात्रै दक्षिण भारतीय दर्शनार्थी रहेको बताईएको छ । सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी सङ्ख्या हो ।

सन् २०१७ मा मुस्ताङ्ग भित्रने भारतीय पर्यटकको सङ्ख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करिब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको तथ्याङ्कले देखाएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए ।

आश्विनदेखि मार्गसम्म र चैत्रदेखि ज्येष्ठसम्म मुक्तिनाथमा पर्यटकीय चहलपहल बढी हुने गुरुङ्गले बताए । अन्य समयमा मुस्ताङ्गका गन्तव्यमा छिटफुट रुपमा पर्यटक देखिने गर्छन् । मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको हो । मुस्ताङ्ग र मनाङ्ग जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर शालिकराम भगवानका कारण पनि प्रसिद्ध छ ।

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शीला शालिकरामलाई विष्णु भगवानको प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ आउने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

नेपाल र भारतबीच सबैभन्दा धेरै भाषिक र साँस्कृतिक सम्बन्धमा निकटता र समानता छ । यी दुई मुलुकबीच सदियौं वर्षदेखिको यो सम्बन्ध कायम छ । मोदीको मुक्तिनाथ भ्रमणको बेला विश्वको ध्यान त्यतै खिचिएको थियो । जसको परिणाम नेपालमा धार्मिक पर्यटकहरु बढेका छन् ।

प्रतिकृया

प्रतिकृया