५ असार, काठमाण्डौं । प्रख्यात न्युरो सर्जन प्राध्यापक डा उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको आफैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पताल (नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एप्लाइड साइन्स) को सघन उपचार कक्षमा सोमबार साँझ पाँच बजेर पैंतिस मिनेटमा निधन भएको हो।

को हुन् उनी ?
जन्म : २०१० पुस ४
निधन : २०७५ असार ४
एमबीबीएस उत्तीर्ण : २०३०
वीर अस्पतालमा सेवा सुरु : २०३१
वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापना : २०३८
न्युरो सर्जरीमा एफआरसीएस गर्न बेलायत प्रस्थान : २०४०
न्युरो सर्जरीमा दक्षता हासिल गरी स्वदेश फर्किएर वीरमै सेवा सुरु : २०४७
स्वास्थ्य मन्त्री : २०५९ असोज २५

चार दशकदेखि बिरामीको सेवामा संलग्न डा. देवकोटाले भारतबाट एमबीबीएस गरेका थिए। २०३१ सालमा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरेका थिए। वीर अस्पतालका सर्जरी विभागका तत्कालीन प्रमुख डा दिनेश गंगोलको मातहतमा रहेर उनले कार्य गरेका थिए। त्यसअघि उनले केही समय शिक्षण अस्पताल महराजगन्जमा लेक्चररका रूपमा काम गरे।

न्युरो सर्जरीमा नयाँपन दिने काममा अगुवाइ गरेका डा। देवकोटाले नेपाली चिकित्सामा न्युरो सर्जरीलाई उचाइमा पुर्‍याउने काम गरे।उनी व्यक्तिगत रूपमा सरल, स्वाभिमानी र देशभक्त मानिन्थे। उनले स्वास्थ्य मन्त्री हुँदा चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे, स्वास्थ्य बिमाको अवधारणा ल्याए।

उनले सन् १९६१ मा वीर अस्पतालमा डा। दिनेश गंगोलसँग मिलेर मस्तिष्कको सर्जरीको सुरुवात गरे। त्यसको दुई दशकपछि नै सन् १९८१ मा भेलोरका केभीमथाईर डा गंगोलसँग मिलेर ६ शैय्याको न्युरो सर्जरी वार्ड स्थापना गरे।

डा। देवकोटाले आधुनिक न्युरो सर्जरीको सुरुवात भने १९८९ फेब्रुअरीमा गरेका थिए। २०५९ असोज २५ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठित नौ सदस्यीय मन्त्रीमण्डलमा उनी सात महिना स्वास्थ्य र विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। उनले २०६२ सालमा बाँसबारीस्थित न्युरो अस्पतालको स्थापना गरे ।

०७४ कात्तिक ३० गते राधिका बस्नेतको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए, जुन उनको अन्तिम शल्यक्रिया थियो। मंसिर पहिलो साता स्वास्थ्य समस्या देखिएपछि मंसिर ५ गते उनी बेलायतको किंग्स अस्पतालमा भर्ना भएका थिए।

अन्नपूर्ण दैनिक

प्रतिकृया

प्रतिकृया