१६ असार, झापा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कम्युनिस्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको बताए ।

‘विगतमा विभाजित हुँदै आएका कम्युनिस्ट अब एकतातर्फ उन्मुख भएका भएका छन्,’ भट्टराईले अगाडि थपे, ‘अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी हुनेछ ।’

भट्टराईले समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले साना दल मिल्नुको विकल्प नरहेको बताए ।

‘अब नेपालको राजनीति वामपन्थी र गैरवामपन्थी कित्तामा विभाजन हुन्छ’, उनले भने, ‘मुलुकको राजनीति अब सही दिशामा जाँदैछ, स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

नेता भट्टराईले चुनावसँगै ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य भएको उल्लेख गर्दै यो अवस्था अब एक शताब्दीसम्म रहने बताए ।

अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने बताउँदै उनले सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया