२९ असार, काठमाडौं । एक दशक अघिसम्म नेपाली चलचित्र क्षेत्रमा निकै राम्रो छवि बनाएकी बिपना थापा अहिले गुमनामजस्तै छिन् । विवाहपछि आफ्नो जीवनमा परिवर्तन आएको बताउने बिपनाका अनुभव र भविष्यको योजनाबारे गरिएको कुराकानी ।

नेपाली फिल्म इन्डस्ट्रीमा केही योजना छ ? नेपाली फिल्म क्षेत्रको लागि ?

म त्यसरी बिदेशिएर गएको चाहीँ होइन । बिहे गरेपछी आफ्नो श्रीमानको घर जहाँ छ त्यहाँ बस्नुपर्ने हुन्छ हरेक हिन्दू नारीले । हिन्दू संस्कृतिको कारणले पनि । इन्डस्ट्री छोडेर बिदेश गएको चाहीँ होइन । एउटा परम्परागत विवाह गरेर पतिको घरमा गएको हो ।

तर, माया लाग्छ धेरै नै इन्डस्ट्रीको । बिपना थापा भनेर आमा बाबूले जन्माए पनि चिनाएको इन्डस्ट्रीले नै हो । इन्डस्ट्रीबाट टाढा भएको हैन । कुनै न कुनै रुपमा इन्भल्व छु । एभ्रेस्ट एकेडेमीमा एडभाइजरको रुपमा पनि छु । अरु धेरै संघ/संस्थाहरुमा छु । फिल्ममा एक्टिङ मात्रै गर्न नपाएको हो ।

विवाह पछि एक्टिङ चटक्कै छाड्नु भो ?

समय परिस्थितिले गराएको हो । बच्चा भयो । मैले जीवनमा हरेक रोल गर्नुपर्छ । घरमा छोरी भएर छोरीको रोलमा पनि एउटा नमूना बनेर बसेको इन्डस्ट्रीमा पनि सबैको माया पाएर सक्सेस हिरोइनभन्दा पनि सक्सेस कलाकार विपनाको रुपमा सपोर्ट गर्नुभयो । मेरो परिचय बनाई दिनुभयो । इन्डस्ट्रीलाई कहिल्यै पनि माया मार्न सक्दिनँ ।

कम्ब्याकको सम्भावना छ ?

पक्कै पनि कमब्याक त गर्नु नै छ । बच्चाले गर्दा अलिकति टाढा भएको थिए म । अब छोरा पनि ठूलो भइसक्यो । एक्ट्रेसभन्दा पनि कलाकारको रुपमा र अरु कुनै तरीकाबाट छिट्टै नै इन्भल्व चाहिँ हुन्छु ।

निर्माताको रुपमा हामीले हेर्न पाउने हो ?

हेरौँ, एउटा सप्र्राइज प्याकेजको रुपमा आउन सक्छु । इन्डस्ट्रीमा मैले योगदान गरेकोभन्दा पनि मैले धेरै कुरा पाएको छु । विशेषत दर्शकहरुको माया पाएको छु । इन्डस्ट्रीमा एउटा कलाकारको रुपमा सन्देश दिने काम चाहिँ मैले गरेको थिए होला ।

अभिनेत्री वा कलाकारको रुपमा । तर, त्यो भन्दा पनि धेरै माया मैले पाएको छु । त्यो मायाको ऋण तिर्न त नसकूँला । तर, पक्कै पनि इन्डस्ट्रीका लागि केही गर्नेछु ।

तपाईंले काम गर्दाको फिल्म इन्डस्ट्री र अहिलेको फिल्म इन्डस्ट्री कस्तो देख्नु भएको छ ?

धेरै फरक चाहीँ पाइनँ । लास्ट टाइम ‘सुनकेशरी’ फिल्म हेरेको थिएँ । त्यति धेरै फरक पाइनँ । सुनकेशरी भन्दा धेरै राम्रा फिल्महरु पहिला पनि थिए । त्योभन्दा धेरै नराम्रा फिल्म पनि थिए । टेक्नोलोजी चाहीँ धेरै राम्रो छ अहिले ।

नेपाली इन्डस्ट्रीको पहिलो सिनेमास्कोप फिल्म ‘माइली’मा मैले गरेको थिए । अहिले सबै डिजिटलाइजेसन भएसक्यो । अरु त खासै त्यस्तो धेरै परिवर्तन पाइनँ मैले ।

अहिले हिरोइनकै अभाव छ भनिन्छ ?

अहिले पनि छन् । पहिला चाहीँ हिरोइन भन्दा कलाकारको रुपमा प्रेजेन्ट हुन्थ्यौँ हामी सो पिस, डमी भन्दा पनि । पब्लिक रिलेसन, सञ्चारकर्मीसँगको सम्बन्धलगायत सम्पूर्णसँग पारिवारिक वातावरण हुन्थ्यो, मेहेनत हुन्थ्यो । प्रोफेशनल पनि धेरै थिए पहिला । त्यो कुराहरुमा अहिलेको कलाकारहरुले अझ धेरै गर्नुपर्छ ।

किनभने, उहाँहरुसँग धेरै सुविधा छ पहिले हाम्रो पालाको तुलनामा । मैले १०० भन्दा बढी फिल्ममा त ड्रेस डेजाइन पनि गरेको छु । धेरै रमाइलो वातावरण थियो । अहिले कलाकारले पनि धेरै मेहेनत गर्नुपर्छ । आफ्नो मात्रै सोच्ने होइन इन्डस्ट्रीलाई कसरी अगाडि बढाउने कसरी राम्रो फिल्म दिने भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।

कलाकार र हिरोइन भनिरहनु भएको छ । के फरक छ ?

फरक छ । हिरोइन भनेको एउटा निश्चित समयसम्म पर्दामा देखिने हो, साथै राम्रो लुक्स हुनुपर्यो, फिगर हाइट एक्टिङ पनि हुन पर्यो । समग्रमा भन्दा बाहिरी आवरण देख्दा नै वाह भन्ने हुनैपर्छ हिरोइन । अब कलाकारले कला प्रदर्शन गर्ने हो । उसको देखावटी रुपभन्दा पनि कला राम्रो हुनुपर्छ ।

त्यसो भए पछिल्लो समय फिल्म क्षेत्रमा कलाकारको उपस्थिति धेरै छ कि हिरो–हिरोइनहरुको ?

म महिला भएकाले विशेष महिलाकै कुरा गर्छु । केही समय अगाडिसम्म महिलामूखी फिल्म नै बन्दैन थियो । आजकल ‘सुनकेशरी’, ‘रोजी’जस्ता महिला केन्द्रित फिल्म बन्न थालेका छन् । त्यसले चाहिँ एउटा हिरोइनलाई कलाकार बन्ने मौका दिन्छ ।

हिरोइनलाई कलाकार बन्न एउटा राम्रो कथा, स्ट्रोङ रोल चाहिन्छ । उसले त्यसमा आफ्नो कला निखार्न सक्छ । अझ भनौँ सहयोग गर्छ । त्यस्तो फिल्मको ग्याप भएको थियो । अहिले पनि ट्यालेन्टेड हिरोइनहरु छन् । सम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की, रिचा शर्मा लगायतको अभिनय धेरै राम्रो छ ।

बीचमा चाहिँ दुःख लागेको थियो । धेरै समस्या देखिएको थियो । तर, अब राम्रो हुँदै आएको छ ।

बिहेअगाडि पाएको चीज जुन तपाईंले बिहेपछाडि गुमाउनु भयो ?

म फिल्म, पारिवारिक जिम्मेवारी, पत्नी, बुहारी, गृहिणी, आमा सबै भूमिकामा सफल बन्न चाहन्थेँ । मलाई लाग्दैन मैले केही गुमाए । कहिलेकाहीँ चाहीँ अभिनयको भोक भएकाले अभिनय गर्न मन लाग्थ्यो । तर, म टाढा भएकाले र बच्चा सानो भएकाले सम्भव भएन । काठमाडौंमा भएको भए कुनै न कुनै तरीकाले इन्भल्व हुन्थेँ होला । पछुतो चाहिँ छैन ।

मेरो इन्डस्ट्री हो, मेरो ठाउँ हो, कुनै न कुनै तरीकाबाट गर्न सकिहाल्छु नि । मलाई दर्शकहरुले माया मार्नु भएको छैन । म एउटा हिरोइन मात्रा नभएर एउटा कलाकार पनि हो । कलाकारको कुनै बोर्डर हुँदैन । कहाँसम्म काम गर्ने भन्ने । जिन्दगीमा ३ वटा कुरालाई अपनाएर हिँड्छु अण्डरस्ट्यान्डिङ, कम्प्रमाइज र स्ट्रगल । त्यसैले म मेरो पारिवारिक जिन्दगीमा पनि खुशी छु ।

सबैभन्दा ठूलो कम्प्रमाइज के थियो ?

इन्डस्ट्रीबाट १० वर्ष टाढा बस्नु नै हो । बिपना थापा बिर्सेंर बिपना भारद्वाज भएर बसेँ । म दिल्ली, मुम्बई होइन, मथुराजस्तो धार्मिक स्थलमा बस्छु । विकासको हिसाबले पछाडि छ । म काठमाडौंमै जन्मेर हुर्केको त्यो ठाउँँमा बस्न अलिकति कम्प्रमाइज त गर्नैपर्यो ।
अण्डरस्ट्यान्डिङमा आउन कति मेरो श्रीमानको कुरा मैले बुझे, कति मेरो कुरा मेरो परिवार र श्रीमानले बुझ्नुभयो ।

जिन्दगीभरि स्ट्रगल नै गर्ने हो । खानका लागि, बाँच्नका लागि सबै कुरामा । त्यो कहिले अन्त्य हुँदैन । यी तीन कुरा सबैको जिन्दगीमा हुन्छ । यो कुरालाई कसैले सही तरीकाले एड्जस्ट गर्न सक्छ, कसैले सक्दैन त्यति नै हो ।

पछिल्लो समय तपाईका सहकर्मी महिलाहरु निर्देशक बन्न थाल्नु भएको छ । तपाइको पनि सोच छ कि ?

मसँग त्यत्रो क्षमता छैन कि म निर्देशक बन्न सकुँ । उहाँहरुसँग क्षमता थियो बन्नु भयो । मसँग छैन । मैले १०० भन्दा बढी फिल्ममा अभिनय गरिसकेको छु भन्दैमा निर्देशक बन्ने हैसियत राख्छु भन्ने पनि होइन । जे चीज गर्न सक्दिनँ, त्यो गर्दिनँ ।

दर्शकलाई कसरी सम्झिनु हुन्छ ?

धेरै सम्झिन्छु । धेरै माया दिनुभएको छ मलाई । अब त चिन्नुहुन्न होलाजस्तो लाग्थ्यो । तर, बाटोमा हिँड्दा पनि अझै सबैले बोलाउनु हुन्छ । म फिल्मको पर्दाबाट टाढा भएको भए पनि अझै पनि त्यही माया पाएको छु । उहाँहरुको मनको पर्दामा अझै बसेको रहेछु ।

अब सबैले ब्याक हुनपर्यो भन्नु भएको छ । चाँडै त्यो पनि सम्भव होला । हेरौँ के के हुन्छ । कुन रुपमा कमब्याक हुन्छ । त्यो सरप्राइज प्याकेज हुनेछ ।

प्रतिकृया

प्रतिकृया