३२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नजिकिएको’ आरोप लाग्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएका छन् । सोमबार काठमाण्डुको बनस्थलीमा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला र गगन थापा भने उपस्थित भएनन् ।

भेलामा वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, हृदयराम थानी, प्रदीप पौडेल, बद्री पाण्डेय, रामकृष्ण यादव र जीवन परियार उपस्थित थिए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेताद्वय सिंह र बडू सरकारले संसदमा डा.गोविन्द केसीको अनशनलाई बेवास्ता गर्दै दर्ता गराएको चिकित्सा शास्त्र शिक्षा विधेयकको विरोध गर्नुपर्ने कारण देखाउँदै बैठकको शुरुआतमै बाहिरिएका थिए । अर्का नेता थापा पनि सोही कारण बैठकमा उपस्थित नभएको बताइएको छ ।

मकवानपुरको हेटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलसँग रुष्ट बनेका नेता सिटौला सोमबारको गुटगत भेलामा उपस्थित नै भएनन् । नेता सिटौलाको नियमित स्वास्थ्य परीक्षण परेकाले भेलामा उपस्थित हुन नसकेको उनी निकट स्रोतले दावी गरेको छ । बसुन्धरामा बैठक चलिरहँदा नेता सिटौला काभ्रेमा रहेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया