लेखनाथ अधिकारी –
डा. गोविन्द केसीले आमरण अनशन थालेको आज २५ औं दिन भएको छ। उनले उठाएका माग नेपालका वामपन्थीहरुले उठाएका माग नै हुन्। मुलुकमा वामपन्थी नेतृत्वकै सरकार छ। तर, कुरा मिलिरहेको छैन। ती माग प्रमुख प्रतिपक्षी कांग्रेसले यसअघि नै मानेकै हो। त्यसैले पछि देशको आवश्यकता अनुसार सरसल्लाह गर्दै गरे भइहाल्यो। अहिले यसअघिकै अध्यादेशलाई हुबहु संसदमा प्रस्तुत गर्दा जनता खुसी नै हुनेछन्।

यति गरेपछि डा केसीले अनशन तोड्छन्। अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैं शिक्षण अस्पताल जाँदा पनि फरक पर्दैन। बालुवाटार र शिक्षण अस्पतालको दूरी टाढा पनि होइन। दशथरी वार्ता गर्नु जरुरी नै छैन। देश र जनताकै प्रधानमन्त्री भएपछि शिक्षण अस्पतालमा बसेको एउटा जनतासँग गएर भेट्दैमा प्रधानमन्त्रीको मानमर्दन हुँदैन। बरु केपी ओली जिन्दावाद भन्ने नारा लाग्न सक्छ। भजनमण्डली र स्वार्थ समूहहरुको सुझावबाट जोगिनुस् प्रधानमन्त्री ज्यू।

प्रधानमन्त्री आफैं गएर डा केसीको अनशन तोडाउने काम गर्नुभयो भने यसबीचमा सरकारले गरेका कतिपय कमिकमजोरीमा पनि जनताले माफी दिनेछन्। तर, यो हुन दिइएको छैन। किन दिइएको छैन? त्यो नदिनेले यो सरकार बदनाम होस् भन्ने चाहेको प्रष्टै बुझ्न सकिन्छ।
डा. केसीलाई साथ दिए झैं गरेर आफ्ना स्वार्थपूर्ति गर्नका लागि अगाडि सरेर रोटी सेक्ने काम पनि हुन थालेको छ (सबै होइन तर एकाध त्यस्ता ढोंगीहरुपनि देखिएका छन् जो गत शनिबार नयाँ बानेश्वरमा गोली नै प्रहार गर्न लगाएर वातावरण बिगार्न खोज्दै थिए। गोली चलेको भए अवस्था अझ अनियन्त्रित हुन सक्थ्यो)। प्रधानमन्त्री अनशन तोडाउन गएमा त्यस्ता ढोंगी त्यसै अलपत्र पर्नेछन्।

मुलुकमा अस्थिरता उत्पन्न गराउने कतिपय स्वार्थी समूहले सरकारलाई एकातर्फ दायाँबायाँ गर्ने होइन। डा. केसीलाई पेलेरै जानुपर्छ भन्ने सुझाव दिने गरेका छन्। त्यही समूहले अर्कातर्फ डा. केसी पक्षलाई छोड्नै हुँदैन भनेर कान फुक्ने गरेको पनि सुन्नमा आएको छ। देशमा हामी जनताले चुनेको सरकार छ। डा. केसी पनि हाम्रै मान्छे हुन्। हाम्रै कुरा उठाइरहेका छन्। अब विवाद किन?

एक जना प्रधानमन्त्रीको नातेदार हुँ भन्ने मार्सीवालाको अन्टसन्ट र त्यसैलाई बल पुर्‍याउने कानुनमन्त्रीको बोली अचाक्ली भयो। नेपाली चेलीबेटीहरुलाई जथाभावी कुरा गर्नेलाई सरकारले किन यतिन्जेल जोगाइरहेको छ। कडा हुनुपर्ने विषयमा सरकार कडा होऊ।

केही स्रोतहरुले यस पंक्तिकारलाई भनेका छन्– मुलुकमा अस्थिरता चाहने केही पक्ष अहिले हामीले दुई तिहाईको पनि हावा खुस्काइदियौं भन्दै भोज गर्न थालेका छन् रे। कतिपय पक्षलाई यसले क्षणिक तुष्टि दिएको होला। तर, आम जनता जो मुलुकमा स्थिरता आउने अपेक्षामा थिए र अझै झिनो आशामा छन्। उनीहरुको यो अपेक्षामा हिलो छ्याप्ने काम नहोस्।

मानिलिऔं भोलि कांग्रेसकै दुई तिहाइ आयो र यस्तै लथालिंग अवस्था उत्पन्न भयो भने के गर्ने? हामी सबैले स्थिरताको स्रोत संसदमा दुई तिहाईलाई मानेका हौं। तर, त्यो पनि नहुँदो रहेछ भन्ने अहिले पुष्टि भयो भने हामीले अबका दिनमा केमा आशा गर्ने? मुलुकको भविष्य कता जाला? त्यसैले झिनामसिना कुरामा घमण्ड गर्नुको साटो मुलुकको सुदूर हिततर्फ सोचौं। प्रधानमन्त्री आफैं गएर अनसन तोडाऔं। विधेयक फिर्ता लिएर हुबहु पास गरौं। अब धेरै जात्रा नदेखाऔं। रोटी सेक्न थालेकाहरुलाई निराश पारौं।

तर्क अर्को आइरहेको छ। कानुन बनाउने अनशनले कि संसदले?

संसदले नै हो।

तर, जनताको चासो अनशनले उठाएको मागतर्फ आकर्षित देखियो र त्यसको आँकलन भयो भने किन दम्भ पाल्नुपर्‍यो। संसदपनि त जनताकै हो नि। जनताको अपेक्षा सुन्दिए के फरक पर्छ?

अर्काथरीको तर्क छ, भोलि राजा ल्याऊ भन्दै कोही अनशन बस्यो भने के गर्ने? हैट् जनमत कता छ भन्ने त्यत्ति आँकलन गर्न सकिन्न र भन्या? यतिका वर्ष मुलुकमा राजनीति गरेका दलका कार्यकर्ताले त्यति आँकलन गर्न पनि नसकेको हो भने त भोलिबाटै कमण्डलु लिएर हिंडे भइगयो नि। त्यसैले व्यर्थमा यस्ता कुरामा समय खेर नफालौं।

संसदमा गइसकेको विधेयक फिर्ता लिन मिल्दैन भन्ने सरकारी तर्क झन् मिल्दै मिलेन। जनताले आवाज उठाएका छन्। संसदले देश र जनताको पक्षमा नै निर्णय गर्ने हो। जनताको पक्षमा काम गर्न नमिल्ने पनि संसद हुन्छ र? यहाँ कोही कसैसँग झुकेको भन्ने अर्थ नै लाग्दैन। झुकेकै अर्थ लागेपनि लागोस्। किनकि जनतासँग झुक्न पाउनु झन् गर्व गर्ने कुरा हो। त्यसैले नियमावली अनुसार मिल्दैन भनेको हो भने त्यस्ता बेकामे नियमावली निलम्बन गरौं। आशा गरौं, अनशन तोडिएको समाचार आजै पढ्न पाइनेछ।

अलिकति पृष्ठभूमिमा जाऔं। सुरुमा हाइहाइ रहेको ओली सरकार किन यति चाँडो सर्बत्रबाट आक्रोशको सामना गरिरहेको छ ? त्यसमा दुइटा कुरा छन्। एउटा ढुंगेल प्रकरण सरकारले गर्नै नहुने काम गर्‍यो। अर्को बजेटपछि जनताको ढाड सेकियो। जनता अनेकथरी कर र त्यो करले बढेको महंगीबाट इन्तु न चिन्तु हुनेगरी थिलथिलो भए। मुख्य कुरा माथिका दुइटा नै हुन्। त्यसैले सच्याउनुपर्ने कुरा सच्याएर जनता र देशलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने हो भने जनतामा सरकारप्रतिको आशा पुनःजागृत हुन सक्छ।

केही अशान्ति र अराजकतालाई आफ्नो मागि खाने भाँडो बनाएकाहरु सरकारको कामबाट अहिले बुरुक्क उफ्रेको पनि देखियो । तर, त्यस्ताको उफ्राइ जनतासँग सरोकार नराखेसम्म त्यसै बिलाउने निश्चित छ । सरकारसँगको जनताको आशाको ग्राफ पहिलाको तुलनामा घटेपनि अझैपनि आशा र निराशाको अवस्था फिप्टी फिप्टी छ। त्यसैले धेरै आत्तिने र मात्तिएर समय खेर फाल्नुभन्दा सकारात्मक दिशातिर तीब्र गतिले अघि बढ्नु जरुरी देखिएको छ।

सरकारलाई बदनाम गराउने प्रसंग अघि पनि भनियो। गणतन्त्र दिवसको दिन बालकृष्ण ढुंगेललाई रिहा गरियो। छुटेको दिन राजधानीमा धाराप्रवाह रुपमा उनले धेरैलाई गाली गरे। केही दिनमै उनी रामेछाप र ओखलढुंगाको सीमानामा पर्ने जो व्यक्तिलाई उनले हत्या गरेको प्रमाणित भयोे तिनकै जेठी भाउजुको घरमा पुगेछन्। पंक्तिकारलाई उनका छिमेकीले उतैबाट फोनमा जानकारी गराए अनुसार मलाई चिन्नुभयो भनेर उनले सोधेछन्। भाउजु एक छिन अकमकाइछन्। अन्तिममा चिनिन भनिछन्। अनि म बालकृष्ण ढुंगेल भनेछन्। त्यसपछि भाउजु डराउँदै घरभित्र छिरिछन्।

केहीले गणतन्त्र हामीले ल्याइदिएर अहिले ‘मोज’ गर्न पाएका छन्, गणतन्त्र ल्याउने मान्छेलाई रिहा गर्दा आलोचना गर्ने भनेर फुईं पनि गरे । त्यो फुईंले सर्बसाधारणमा भने आक्रोश जन्मायो । कसले नेपालमा गणतन्त्र ल्याएका हुन् त्यो सबैलाई जगजाहेर छ । २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद पुनस्र्थापनाको घोषणा गरेपछि जनआन्दोलन के भयो ? ककसले आन्दोलन जारी भनेका थिए ? आखिर भोलिपल्टबाट आन्दोलनमा जनता किन सामेल भएनन् ? यस्तो फुईं गर्नेले एक पटक प्रचण्ड र बाबुरामलाई भेटेर ठण्डा दिमागले बिमर्श गरौं । अनि इतिहास दोहो¥याएर पढौं । त्यसपछि खोक्नु सम्म खोक्दा हुन्छ । गिरिजा प्रसाद कोइरालाले नमानेको भए सायद अहिले अर्कै तस्वीर आउँथ्यो । दक्षिण एशियामै लिट्टेलाई महेन्द्रा राजपाक्षेले कसरी टुंगो लगाए ? धेरै तन्तुहरु मिलेर गणतन्त्र आएको हो । त्यसैले भुईमा न भाँडामा भएर हावादारी कुरा नगरौं । गणतन्त्र आफ्नै पोल्टाको सातु नठानौं । बरु यसमा सबैको अपनत्व बढाउन सकियो भने यो टिकाउ हुन्छ भन्ने कुरा हनुमानहरुले हेक्का राखौं ।

केही हनुमानपनि विचित्रका रहेछन् । ती सरकारले राम्रो काम गरेको बेलामा राम्रो भनेर कसैले भन्यो भने पनि रिसले आगो हुँदा रहेछन् । भजन गाउने त हाम्रो पो जिम्बेवारी हो तिमीहरुले सकारात्मक भन्ने ? अनि नराम्रोलाई नराम्रो भन्यो भने पनि बडो जान्ने हुँदो रहेछ भनेर खेद्ने वा अर्को पार्टीको बिल्ला भिराइदिइ हाल्ने । देश र जनताको लागि स्वतन्त्र हिसाबले सोच्न, बोल्नै नपाइने । विचित्र होइन त ?

उहिले राजाको पालामा राजा त राम्रा हुन् यी चम्चेहरु खराब भनिन्थ्यो । अहिलेपनि ओली त राम्रा हुन् तर यी धुपौरेहरुले डुबाए भन्ने धेरै भेटिन्छन् । पंक्तिकारलाई पनि त्यस्तै लाग्न थालेको छ। एउटा सानो उदाहरण । प्रधानमन्त्री ओली चीनबाट आउँदा बनाएको वक्तव्य पक्कैपनि ओलीले बनाएका होइनन्। तर, त्यहाँ एउटा वाक्यांश यस्तो अनौठो छ कि त्यसले चाकडीबाजहरुको राम्रैसँग संकेत गर्छ।
त्यसको भावार्थ यस्तो छ, ओलीको चीन भ्रमणका क्रममा सकारात्मक सामाग्री प्रकाशन गर्नेलाई धन्यवाद रे। त्यसमा त्यो सकारात्मक शब्द राख्नुपर्ने कारण के रहेछ ? कसैले सुझाव दिएको अवस्थालाई के मान्ने ? कुनै त्रुटी जानेर वा नजानेर भ्रमणका क्रममा भएको छ भने त्यसबारेमा कुरा उठाउनेलाई चाहिं धन्यवाद छैन है भन्ने हिसाबको कुरा आयो। यो त उही झिंगा धपाउन पतिको नाक काट्ने पत्नीको पारा भएन र भन्या?

प्रधानमन्त्रीको नजिक फेरि तिनै केही मान्छे पुग्दा रहेछन् जो पहिला शेरबहादुर देउवा हुँदापनि थिए अहिलेपनि छन् र भोलिपनि रहनेछन् सायद। भजनकीर्तिनमा पोख्त। पशुपतिमा साँझ बिहान सुनिने भजन त के भजन? बिर्ता जस्तो गर्ने ? काम केही नगर्ने । सामाजिक सन्जालमा गालीगलौज गर्‍यो, बस्यो। खोइ रचनात्मक काम ? खोई भ्रातृ संस्थाहरुलाई उत्पादनमा खटाएको ? सामानजति सबै छिमेकबाट ल्याउने, कार्यकर्ता गाली गलौज गरेर बस्ने अनि समृद्धि कताबाट आउँछ?

एउटा कथामा जाऔं। एउटी पत्नीले पतिको नाकमा झिंगा आएर बसेको देखिछ। पत्नीले रुँदै भनिछ, मेरो राजालाई बर्बाद् पार्‍यो। लौ न कति टोकेको। नजिकै एउटा तरबार भेटिछ। तँलाई झिंगा मेरो राजालाई टोक्ने भन्दै नाकमा बजारिछ। झिंगा भुर्र उडेर गयो तर पति ठहरै भएछ। अहिलेको सरकार यस्तै खालका चाटुकारबाट घेरिएको भान भइरहेको छ । विषयवस्तुको गंभीरताबारेमा झिंगाको टाउको जतिपनि जानकारी नरहेका तर दिनको एकपटक पुगेर धनुष्टंकार नमस्कार भने गरिरहने। मार्सीवाला प्रसाई एउटा उदाहरण हुन्। यसमा अरु को को परे? आत्ममूल्यांकन गरेर मःमः भनौं। त्यसैले कमिकमजोरी नरिसाइकन पहिला सम्बोधन गरौं।

डा गोविन्द केसीको प्रकरणमा अहिले जिस्क्याउने समय नै थिएन। माइतीघर मण्डलामा असार साउनको महिनामा को आउँथ्यो ? अहिले प्रदर्शन रोक लगाउन किन पत्रकार सम्मेलन गर्नुपरेको?

केही अघिको कुरा गरौं, प्रधानमन्त्री चीन भ्रमणमा गएको बेलामा टवीटेहरुले एउटा कार्टुन चर्चामा ल्याएका थिए । प्रधानमन्त्रीले त्यो हेर्नु भयो कि भएन थाहा भएन । त्यसमा दुई अन्तरीक्षयात्री चन्द्रमाबाट दुरबिन लगाएर हेर्दै थिए। एउटाले भन्छ, होइन चन्द्रमाबाट ग्रेटवाल मात्र देखिन्थ्यो। यो लामो धर्सो चाहिं के रहेछ ? दोस्रोले जवाफ दिंदै थियो, ए त्यो अर्को लामो धर्सो त नेपालका प्रधानमन्त्रीले गरेको चीन भ्रमणको हो। उनीसँगै ११९ जना मान्छे रहेकोले अर्को धर्सो देखिएको हो।

हेर्नुस् त मजाकको हद। यतिसम्म किन गर्नुपर्‍यो? हस्ताक्षर गर्ने केही र नभइ नहुने केही मात्रै लगेको भए भइहाल्थ्यो। चीनले भ्रमण दलमा सामेल ११ जना सम्मको मात्रै भ्रमण खर्च व्यहोर्ने नियम छ। अनि बाँकीको त सरकारले नै धान्नुपर्ने होला। किन यतिसाह्रो गाइजात्रा देखाउनुपरेको?

जहाज र रेलको कुरा गर्दै गरौंला । त्यो धेरैपछिको कुरा हो । तर, पहिला जनता बाँच्न सक्ने वातावरण त बनाउनुपर्‍यो। अहिले खाए भरे के खाउँ भन्ने जनतालाई खोई राहत ? बजेट भाषणपछि कुनै त्यस्तो सामान छैन जसको मूल्यबृद्धि नभएको होस् । अनि आर्थिक उपार्जन भने उही छ । क्रयशक्ति उस्तै छ । यस्तो अवस्थामा आशा गरेको सरकारसँग जनता दुखी हुनु अस्वाभाविक हुँदै होइन । किनकि जनताले आफ्नै सरकारसँग गुनासो नगरेर को सँग गर्नु ? ट्रम्पसँग गुनासो गर्न त मिलेन । भएको यही हो।

फेरि एउटा अर्को कथा । एउटा परिवार घरमा ताला लगाएर तीर्थाटनमा निस्केछ । झ्याल ढोका थुनेर बाहिर गएको बेलामा एउटा बिरालो कोठाभित्रै थुनिएछ । त्यो कोठामा खाने कुरा केही थिएन । एउटा खापाबाट पर चियाएर हेर्दा एउटा सेतो डल्लो झुण्डिएको देखेछ । सेतो डल्लो देखेपछि भोको बिरालोले मनमनै भनेछ, मेरो मालिक आएपछि त्यही डल्लो स्वादले खानेछु । त्यसपछि भोक मरिहाल्छ । आशैआशामा मुख मिठ्याउँदै त्यो बिरालो बसेछ । परिवार एक हप्ता पछि आएर घरको ढोका खोल्नासाथ फुत्त उफ्रेर बिरालो त्यही सेतो डल्लो भएको ठाउँमा पुगेछ । गएर चपाउन खोज्दा त त्यो कहाँ नौनी हुनु ! दर्शने ढुंगा पो रहेछ । त्यसपछि बिरालो यति निराश भएछ कि सहन नसकेर फ्याट्टै त्यहीं मरेछ । अहिले नेपाली जनता त्यही थुनिएको बिरालो जस्ता भएका छन् । नौनी खान पाइने आशामा अहिले सम्म जेनतेन सास अल्झाइरहेका छन् । त्यो नौनी दर्शने ढुंगामा परिणत भएको उनीहरुले चाल पाए भने के होला उनीहरुको अवस्था ? त्यसैले समयको गंभीरतालाई बुझौं । डा केसीका कुरामा अल्झेर धेरै समय खेर नफालौं । उनका माग पूरा गरेर अन्य राष्ट्रिय आवश्यकता पूरा गर्ने तर्फ लागि हालौं ।

प्रतिकृया

प्रतिकृया