• दिप पाण्डे

समाएर बज्यैको हात
दिएनन् कहिल्यै बाजेले गुलाफको फूल
बरु समाएर बज्यैको काँध
कयौं पटक तरेपछी कन्दराहरु
अनि पो जन्मिएका हुन् तिम्रो पाउमुनि छाती राखिदिने
यी गोरेटाहरू,

समाएर बज्यैको नितम्ब धाएनन् कुनै रेस्टुरेन्ट
र पोखेनन् बैंशको सेखी ,
बरु चढेर रुखमा , नुघाएर पिरतिको डाली
भरिदिन्थे बज्यैको डोकामा
अनि पो तिम्रोलागी एकथान तृप्ति
बोकेर बस्नेगर्थे चुलोहरु,

बाजेले हरेकदिन लेख्ने गर्थे हातमा ठेलाहरुले प्रेमपत्र
बज्यैले पढ्थिन् र छातीमा टाँस्थिन्
अनि पो तिम्रा बचपनहरु राजारानी
खेल्न पाउँथे आफ्नै बारीमा ,

दुखको सिलौटोमा थिचिँदा सहन सिकेका बाजेले
कहिल्यै ऐया भनेनन् दुख्दा,
कहिल्यै खोजेनन् शितल चर्को घाममा,
कहिल्यै ओढेनन् छाता झरिमापनि
बरु आफ्नो भागको कयौं काला दिनहरू
कोदो सम्झिएर निले खुत्लुक्क ,
अनि पो बज्यैले कहिल्यै बेर्नु परेन कसैका दयाका धोती ,
न बाजेले टेके सहयोगको टेको,

यसरी
जोतेर जिन्दगिका बाँझो खेतहरु
फोरेर डल्ला , सम्याउँथे बारी
त्यही बारीमा बज्यैले उमारिन
काँक्राका झाल जस्ता आशाका त्यान्द्राहरु ,

र खियाएर हाडहरु बाजेले ,चुहाएर पसिना माटोमा
बाजेबज्यैले बनाएका हुन सपनाको घर!
जुन घरमा अटेकोछ
बाजेबज्यैको पिरती, खेताराहरुको मीत,
माटोको माया, सन्तानको माया
सबथोक अटाएको छ
मात्र अटेन
माटो गन्हाउने तिम्रा सुगन्ध स्नायु,
फूलेका केशहरुलाइ आश्रम पठाउने तिम्रो मन र
प्रेम नबुझ्ने तिम्रो प्रेम !

बज्यैले कमेरो माटोले ” स्वागतम”
लेखेको गेटमा हिजोआज
एउटा बोर्ड टाँगिएको छ ” जग्गा बिक्रीमा छ” ।

 

(स्याङ्जा साहित्य सङ्गमद्वारा आयोजित कविता प्रतियोगिता २०७५ मा प्रथम भएको कविता)

प्रतिकृया

प्रतिकृया