• डा. बाबुराम भट्टराई

 

हामी सबै बसाइँ सराई गरेर नै आएका हौं । २० हजारजतिको झुण्ड उत्तर अफ्रिकाबाट अहिले विश्वभर गरी ७ अर्बको संख्यामा फैलिएका छाैं । पहिले- पहिले अनुमान गरिन्थ्यो, तर अहिले डीएनए टेस्टबाट त्यो सबै पुष्टि भइसकेको छ । आखिर सबै हामी घुमन्ते नै हाैं।

राज्यहरु बनेका हजार, पाँचसय वर्ष पनि भएको छैन । यस अघिका हजारौं वर्षहरु हामी देशविना नै हिँड्यौं । त्यसैले माईग्रेसनलाई अन्त्यन्त संकीर्ण ढंगले हेर्नुपर्छ भन्ने लाग्दैन ।

आज आएर हरेक राज्यको आ-आफ्नाे स्वार्थ छ, आफ्नै नीति र नियमहरु पनि छन् । त्यसैले पनि राज्यले आफ्ना नागरिकहरुलाई नियन्त्रणमा राख्न खोज्छ । तर, हरेक व्यक्तिको आफ्नाे स्वतन्त्रता हुन्छ, आफ्नै  चाहाना समृद्धि, विकास र रुचि छ । जता पनि जाने चाहाना राख्न खोज्छ । व्यक्तिको प्रवृत्ति र राज्यको दायित्व र सोचको विषयमा अन्तरविरोध परेको देखिन्छ ।

मेरो विचारमा व्यक्ति सार्वभौम हुनुपर्छ । उसको ईच्छा अनुसार जहाँसुकै गएर पनि बस्ने अधिकार छ भन्ने मान्यता राख्दछु ।

राज्यको पनि आफ्ना नागरिकहरुप्रति दायित्व हुन्छ, त्यसैले केही विभिन्न नियमहरु कायम गर्न सक्छ । आफ्ना नागरिकहरुलाई सन्तुष्ट बनाएर राख्न जरुरी छ । आफ्ना नागरिक बाहिर छन् भने पनि देशभित्र तान्ने प्रयत्न गर्नुपर्छ ।

माईग्रेसन आफैंलाई दासत्वको दृष्टिकोणबाट हेर्नुहुँदैन । जसरी पानीमाथिबाट तल बग्ने एउटा प्राकृतिक नियम हो । त्यस्तै गरी श्रमबजारमा पनि जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ श्रमिकहरु पुग्छन् । आफ्नाे श्रम बेच्ने नैसर्गिक अधिकार हो । उसलाई कुनै पनि राजनीतिक सीमामा बाँधिएर बस्न बाध्य गराउनु हुन्न । जता ज्याला बढी पाउँछ, त्यहाँ गएर काम गर्ने र रहने उसको स्वतन्त्रता हो । यसमा अन्यथा लिनु हुँदैन ।

तर, नेपालको सन्दर्भमा किन ५० औं लाख नेपालीहरु बाहिर छन् त ? यो गम्भीर चासोको विषय हो । केही मान्छे बाहिर हुनु स्वाभाविक हो, तर हाम्रो देशका त लाखौं जनता बाहिर छन् । किन बाहिरिए त ?

यसको कारण नेपालको परम्परागत कृषि भूमिमा आश्रति अर्थतन्त्र हो । त्यो चाहिँ विविध कारणले गर्दा भत्कियो । कृषिको उत्पादन त्यति कम हुन पुग्यो । आखिर जति मेहनत गर्दा पनि खान लाउन पुग्दैन । आम्दानी छैन । हाम्रोमा औद्यौगीकरण भएको छैन । अन्य रोजगारीको अवसर सिर्जना भएका छैनन् । त्यसैले जहाँ रोजगारी प्राप्त भएको छ त्यहाँ नेपालीहरु पुगेका छन्।

यसको समाधानको उपाय पनि छ । त्यो भनेको तीव्र गतिमा देशमा औद्यौगीकरण हुनु । सेवा, पर्यटनलगायतका क्षेत्रहरुको विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नु । हाम्रा लागि यिनै उपायहरु हुन् । हैन भने हामीले कसैलाई चाहेर पनि विदेश जाने नेपालीहरुलाई रोक्न सकिँदैन ।

जहाँसम्म बाहिर जाने क्रममा देखिएका समस्याहरु छन् । ती साह्रै भयावह देखिन्छन् । श्रमका लागि, अध्ययन, व्यवसाय वा विभिन्न कामका लागि बाहिर जाने क्रममा नेपालीहरु शोषणमा परेका छन्। अत्यन्तै गैरकानुनी ढंगबाट राज्यको नियम मिचेर जसले यस्तो व्यवसाय गरिरहेका छन्, तिनीहरुलाई मैले दलाल नै भन्छु । यो शब्दमा अन्यथा नमान्नु होला । म त दलाली नै भन्छु । उनीहरुले सर्वसाधरण नेपालीहरुलाई शोषण गर्ने गरेका छन् ।

त्यसैले सरकारले यस्ता हर्कत रोक्न सिधै अर्को मुलुकसँग (जीटूजी) मार्फत श्रमिकहरुलाई पठाउने व्यवस्था गर्नुपर्छ । यसो गरेको खण्डमा यस्ता समस्याहरु कम हुँदै जानेछन् । मानव तस्करी जस्तो अपराधिक गतिविधिलाई कडाइपूर्वक राज्यले रोक्नैपर्छ । यसो गरी रहँदा सम्बन्धित व्यक्तिहरु पनि सचेत हुनुपर्छ । राज्यको नियमविपरीत जाने प्रत्यत्न गर्नु हुँदैन ।

खासगरी महिलाहरुमाथि हुने गरेका दुर्ब्यवहार भयो, उत्पीडन, शोषणका घटनाहरु बढेका छन् । म आँफू प्रधानमन्त्री हुँदा खाडी मुलुकहरुमा जान कडाइ गरेको थिएँ । तर, फेरि विभिन्न चोरबाटोहरु जाने प्रवृत्ति बढ्यो । अहिलेको तथ्यले पनि अमानवीय ढंगका क्रियाकलाप भइरहेको तथा महिलाहरुमाथि दुर्ब्यवहार र शोषण भइरहेको बताउँछ ।

दिदीबहिनीहरुलाई उहाँहरुको सम्मान र अस्मिताको रक्षा गर्न सक्नुपर्छ । बाध्य भएर बिदेशिनुपर्ने अवस्थालाई गम्भीरता लिएर मुलुकमा नै रोजगारीको अवस्था सिर्जना गर्न सक्नुपर्छ ।

यता एनआरएनले पनि यस्ता घटनाहरुप्रति ध्यान देओस् । सरकारको ध्यानकार्षण होस् । एक नागरिक, राजनीतिक दलका तर्फबाट यसलाई गम्भीर ढंगबाट लिएर नियमन गर्नेतर्फ लाग्नेछाैं ।

अनलाईखबरबाट

प्रतिकृया

प्रतिकृया