१६ साउन । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् ।

नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो ।

कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

नेपाली दूताबासले आम माफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । र, यसका लागि दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका नेपालीलाई आग्रह गरिएको छ

विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौकाको उपयोग गर्न दूतावासका श्रम सहचरी मोतिलाल भुसालले सुझाएका छन् ।

प्रतिकृया

प्रतिकृया