२१ साउन। विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ ।

यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली । डम्बरले चुच्चेटोपी लगाएका थिए भने ओलीको हातमा सानो कापी थियो । ओली अपरिचित नेपालीहरुसँग बस्नेतका विषयमा बेलिबिस्तार लगाउँदै सहयोगको याचना गर्थे । सहयोग गर्नेहरुको नाम कापीमा टिप्थे ।

उनीहरुले एक महिनामा करीव ७ हजार रिंगेट जति रकम जुटाएका छन् । थाहा पाउनेहरु सहयोग गर्न हिच्किचाउँदैनन् । तर, सहयोग संकलन गर्न विदाकै दिन कुर्नु पर्छ । सहयोग रकम जुटाउन नेपाली दूतावासले लेखिदिएको पत्रले ठूलो सहयोग गरिरहेको छ ।

को हुन् डम्बर बस्नेत ?

दाङ, तुल्सीपुर-१० घर भएका ३१ वर्षीय डम्बर मलेसियाको केलागवातु अम्पातमा विगत साढे तीन वर्षदेखि कार्यरत थिए ।

आमा-बुवा, दुई दिदी-बहिनी, श्रीमती र सानी छोरीलाई छोडेर कमाइका लागि उनी मलेसिया आए । राप्ती बबई बहुमुखी क्याम्पसमा बीएडसम्म पढेका बस्नेत नेपालमा हुँदा राजनीतिक गतिविधिमा संलग्न थिए ।

मलेसियामा रहेका साढुदाइले राम्रो कम्पनीमा काम गरिरहेको थाहा पाएपछि उनलाई पनि तुलबुल भयो । अन्ततः राष्ट्रिय वाणिज्य बैंकमा जग्गा धितो राखेर म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर उनी मलेसिया आए ।

यसरी भयो दुर्घटना

साढुदाइसँगै काम थालेका डम्बर जनवरी २९ तारिखमा अरु दिन झै साँझ सात बजेसम्म काममा थिए ।

कम्पनी नजिकै हाटबजार लाग्थ्यो । कोठामा दैनिक उपभोग्य सामान सकिएकाले एक हप्तालाई किन्नुपर्ने थियो । उनले साढुदाइलाई ‘दाइ तपाईं आउँदै गर्नुस्, म बजार लागें है’ भनेर निस्किए ।

बजार नपुग्दै बाटोमा उनलाई मोटरसाइकलले ठक्कर दियो । उनी बेहोस भएर सडकमा ढले । धन्न मोटरसाइकलवाला भागेन । उसले तत्काल एम्वुलेन्स बोलायो, साथीभाइ तथा कम्पनीमा पनि खबर गरिदियो । दुर्घटनास्थलमा एम्वुलेन्स आइपुग्यो । त्यतिबेलासम्म बस्नेतको होस थिएन । साढुदाइ ओली पनि अस्पताल पुगे । साढुदाइलाई देख्नासाथ उनको आँखाबाट आँसु बग्न थाल्यो । उनले बोलाउने प्रयास गरे तर, बस्नेत चलमलाएनन् ।

केलाग अस्पतालले सामान्य उपचार गरेपछि सुगाईवुलो रिफर गरिदियो । दुर्घटनामा परेका साढुभाइसँगै ओली पनि सुगाईवुलो अस्पतालमा पुगे । अस्पताल पुग्दा विहानको करिब चार बजेको थियो । बस्नेतको अपरेसन गर्नुपर्ने भयो । ओलीले अपरेसनका लागि सहमति दिए । विहान ७ वजे अपरेसन थियटरमा लगिएका बस्नेतलाई दिउँसो १ बजे मात्र बाहिर निकालियो ।

अपरेसनपछि के भयो ?

अपरेसन गर्नु अगाडि र पछाडि बस्नेतमा धेरै कुरा फरक देखियो । उनको टाउकोको अगाडिको भाग (तालु) नै थिएन ।

दुर्घटना हुँदा गिदीमा रगत जमेको र त्यसलाई हटाउन तालुको बाहिरी भाग निकाल्नुको विकल्प नभएको डाक्टरले बताए । अपरेसनपछि अस्पतालले पुनः पहिलाको केलाग अस्पतालमा पठाइदियो । आईसीयूमा चार दिन राखेपछि बस्नेतको होस खुल्यो । तर, उनले पछिल्लो साढे तीन वर्षका कुराहरु सबै बिर्सिए । पहिले दाङमा हुँदाका कुराहरु मात्र सम्झन थाले । वर्तमानभन्दा पनि विगतका कुराहरु मात्र उनको दिमागमा आइरहे ।

यद्यपि विस्तारै-विस्तारै मानिसहरु चिन्न थाले । दुर्घटनामा परेको २८ औं दिनमा अस्पतालबाट डिचार्ज भए ।

पहिलो उपचार खर्च इन्स्योरेन्सबाट

दुर्घटना भएको दिनदेखि बस्नेतको स्याहारसुसार ओलीले गरिरहेका छन् । अस्पतालमा लागेको सबै खर्च करिब २० हजार रिंगेट (करिब साढे ५ लाख रुपैयाँ) उनको इन्स्योरेन्सले कभर गरेको छ ।

यसअघि अस्पतालमा लागेको कुनै पनि खर्च तिर्नु परेको छैन । कम्पनीले अक्टोबरसम्म मेडिकल रेस्ट समेत दिएको छ । अहिले भने उनी थप उपचारको पखाईमा बसिरहेका छन् ।

अर्को अपरेसनको तयारी

बाहिर निकालेको (तालु) को हड्डी ६ महिनादेखि नौ महिनासम्म जोड्दा राम्रो हुने डाक्टरहरुले बताएका छन् ।

अहिले टाउकोको अगाडि भाग थिलथिलो छ । हल्का छुँदा पनि भित्र पुग्छ । त्यसैले बस्नेत हरदम चुच्चे टोपी लगाउने गर्छन् ।

ओलीका अनुसार बस्नेतको तालु (निधारको माथिल्लो भागको हड्डी) सुगाईवुलो अस्पतालमा विशेष किसिमले राखिएको छ । अस्पतालले हड्डी जोड्नका लागि जुलाई २३ तारिखमा मिति तोकिदिएको भए पनि आर्थिक अभावको कारण अपरेसन हुन सकेन । डाक्टरहरुले आउँदो सेप्टेम्बर १४ तारिखमा जसरी पनि अपरेसन गर्नुपर्छ भनेर मिति तय गरिदिएका छन् ।

‘नेपालमा लगेर अपरेसन गर्न पनि नमिल्ने रहेछ,’ ओलीले अनलाइनखबरसँग भने, ‘यहाँ अपरेसन गर्न २६ हजार रिंगेट -करिब सात लाख रुपैयाँ) जम्मा गर्नुपर्ने अस्पतालले बताएको छ ।’

अहिले दुवैजना सहयोगको खोजीमा हिँडिरहेका छन् । अहिलेसम्म उनीहरुले करीव दुई लाख रुपैयाँ जम्मा गरेका छन् । नेपालमा रहेका परिवारले पनि दुई लाख जति पठाइदिने कुरा भएको छ । बाँकी तीन लाख जुटाउन ओली र बस्नेत सडकमा भौंतारिइरहेका छन् । बस्नेतले अनलाइनखवरसँग भने, ‘मनकारीहरु धेरै हुनुहुन्छ, कसो सहयोग नपाइएला र ?’

आफूलाई सहयोग गर्न टेलिफोन नम्बर ०१६२४९१७७३/०१६६०४५६८० मा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रतिकृया

प्रतिकृया