भारतको सहयोगमा पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला तयार भएको छ । यो धर्मशाला आगामी भदौ १४ गतेदेखि शुरु हुने विम्स्टेक सम्मेलनताका भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी राजकीय भ्रमणकै हैसियतमा आगामी भदौ १४ देखि १५ सम्म हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउनेछन् । त्यहीबेला दुई प्रधानमन्त्रीबाट संयुक्त रुपमा धर्मशाला उद्घाटन हुनलागेको नेपालस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुष्टि गरेका छन् ।

‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले भने ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकालले पनि यसबारे थप पुष्ट्याई गरेका छन् । ढकालका अनुसार साढे २ तलाको धर्मशाला निर्माण सम्पन्न भइरहेको जनाएका छन् ।

भारतको सहयोगमा निर्माणाधिन धर्मशालामा ८२ वटा कोटा छन्, जसमा कुल ४०० बेड रहेका छन् । धर्मशाला उद्घाटन गर्नुअघि नै सञ्चालन मोडालिटी बनाउने पशुपति विकास कोषको योजना छ ।

शुल्क निर्धारण हुन बाँकी रहेको भन्दै भन्दै सदस्य सचिव ढकालले भने, ‘धर्मशालामा खानाको पनि व्यवस्था हुन्छ । यसले तीर्थयात्रीहरुलाई बस्न सहज हुनेछ ।’

प्रतिकृया

प्रतिकृया