नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा तह विस्थापन गरेसँगै विद्यापीठमा विद्यार्थीको संख्या कम हुने देखिएको छ । विश्वविद्यालयले संस्कृत माध्यमिक विद्यालय, गुरुकूलजस्ता संस्थाबाट एसइई एवं पूर्वमध्यमा र भाषा प्रशिक्षण उत्तीर्ण विद्यार्थीलाई उत्तरमध्यममा अध्यापन गराउँदै आएकामा आगामी दिनदेखि उक्त कक्षा सञ्चालन नगर्ने नीति लिएको छ ।

उत्तरमध्यमा तहलाई विस्थापन गर्दै हाल सञ्चालित संस्कृत मावि, एवं गुरुकूलको पठनपाठन कक्षा १२ सम्म बढाउने सरकारको लक्ष्य छ । बिन्दवासिनी संस्कृत विद्यापीठ, पोखराका प्राचार्य नारायणप्रसाद सापकोटाका अनुसार उत्तरमध्यमा तह सञ्चालन हुँदासम्म संस्कृत मावि, गुरुकूल र भाषा प्रशिक्षणबाट आएका विद्यार्थीका कारण विद्यार्थी सङ्ख्या सन्तोषजनक थियो ।

उत्तरमध्यमा हटिसकेको र सञ्चालित अधिकांश संस्कृत मावि र गुरुकूलमा कक्षा ११÷१२ को पठनपाठन शुरु नभएको अवस्थामा आगामी दिनमा विद्यापीठमा विद्यार्थी सङ्ख्या निकै कमी हुने देखिएको उहाँले बताउनुभयो ।

नेपालको राष्ट्रभाषा नेपालीको जननीका रुपमा संस्कृत रहे पनि यस शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न नसकेको वास्तविकतामा उत्तरमध्यमा तहको विस्थापनले विश्वविद्यालयलाई अर्को चुनौती थपेको छ ।

उत्तरमध्यमा हटेसँगै विश्वविद्यालयले संस्कृततर्फबाहेकका कक्षा ११÷१२ उत्तीर्ण गरेका विद्यार्थीलाई शास्त्री तहको अध्ययनका लागि ३०० पूर्णाङ्कको छ महिने प्राक् शास्त्री कक्षा शुरु गरेको छ । त्यसमा अनिवार्य एक÷एक सय पूर्णाङ्कका संस्कृत भाषा वाङ्मय र व्याकरणका अतिरिक्त एक सय पूर्णाङ्कको ज्योतिष, वेदजस्ता ऐच्छिक विषय पनि राखिएको छ ।

प्राक्् शास्त्री परीक्षामा अनिवार्य विषय मात्र उत्तीर्ण गरे पनि विद्यार्थीले शास्त्री तहमा संस्कृत साहित्य, नीतिशास्त्र, इतिहास पुराणजस्ता विषय पढ्न सक्ने व्यवस्था मिलाइएको प्राचार्य सापकोटाले जानकारी दिनुभयो ।

उत्तरमध्यमा तह हट्नुले आगामी दुई÷तीन वर्ष विद्यार्थी सङ्ख्यामा कमी आउने र त्यसपछि भने उक्त संख्या विस्तारै बढ्दै जाने उहाँले बताउनुभयो । प्राचीनकालमा गुरुकूल पद्धतिबाट अध्ययन अध्यापन गराउँदादेखि नै संस्कृत शिक्षाको विकास अघि बढेको पाइन्छ ।

पूर्वीय संस्कृतिका सम्पूर्ण धार्मिक ग्रन्थ संस्कृत भाषामा रचिए पनि पछिल्ला समयमा यस शिक्षाप्रति आकर्षणभन्दा पनि अनाकर्षण बढ्नु गम्भीर चुनौती बनेको छ । विगतका समयमा संस्कृत शिक्षाका लागि पोखरा र आसपासका क्षेत्र आकर्षक गन्तव्य रहेकामा पछिल्ला समयमा संस्कृत शिक्षाकै लागि खोलिएका शैक्षिक संस्थामा पनि विद्यार्थीको सङ्ख्या वृद्धि भएको पाइँदैन ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको पोखरास्थित बिन्दुवासिनी संस्कृत विद्यापीठमा विसं २०५० देखि शास्त्री तहसम्म विभिन्न विषयमा निरन्तर पठनपाठन गर्दै आएको छ । स्थापनासँगै तीन वर्षपछि २०५३ सालदेखि विश्वविद्यालयको आङ्गिक विद्यापीठका रुपमा रहेको यस विद्यापीठमा अघिल्लो वर्ष १०२ विद्यार्थी अध्ययनरत रहेकामा उत्तरमध्यमा तहको विस्थापनले यस वर्ष उक्त सङ्ख्या घटेर ६०÷७० मा झर्ने देखिएको विद्यापीठका प्राध्यापकहरू बताउँछन् ।

विद्यापीठमा हाल शास्त्री तहसम्म आधुनिक विषय नेपाली, अङ्ग्रेजीसहित प्राचीन विषय ज्योतिष, साहित्य, व्याकरण विषयको अध्यापन हुँदै आएको छ । उत्तरमध्यमा हटिसकेको र विद्यापीठ परिसरसँगै रहेको संस्कृत माविले कक्षा ११÷१२ को पठन पाठन शुरु गर्न सकेको छैन ।

पोखराको शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको संस्कृत मावि विसं १९५८ मा भाषा पाठशालाका रुपमा स्थापित यस विद्यालयमा कक्षा ११/१२ को पठनपाठन शुरु गर्ने चर्चा भए पनि यस शैक्षिक वर्षमा सम्भव नभएको विद्यालयका प्रधानाध्यापक कृष्ण देवकोटाले बताउनुभयो ।

अर्को शैक्षिक वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु गर्ने सोच राखिएको उहाँले जानकारी दिनुभयो । सरकारले विद्यालयका पाठ्यपुस्तक सर्वसुलभ गर्ने भने पनि संस्कृत शिक्षाका पुस्तक सर्वसुलभ नहुँदा पुराना पुस्तक फोटोकपी गरेर पढाउनुपरेको दुःखेसो उहाँले व्यक्त गर्नुभयो । संस्कृत विद्यालय भन्ने बित्तिकै सबै विषय संस्कृत पढ्नुपर्छ की भन्ने भावनाले पनि संस्कृत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् ।

संस्कृत माविको पाठ्यक्रमअनुसार कक्षा ६ बाटमाथि कूल ८०० पूर्णाङ्कमध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ अन्य साधारण माविमा जस्तै विषयको पठनपाठन हुन्छ । पूर्वीय संस्कृतिको मुख्य भाषाका रुपमा संस्कृत भाषा रहे पनि यसको अध्ययन तथा अनुसन्धानको दायरालाई फराकिलो पार्न नसक्नु र यस शिक्षाका व्यावहारिक पक्षलाई उजागर गर्न नसक्नुले यस शिक्षाप्रति आकर्षण बढाउन नसकिएको विन्दुवासिनी संस्कृत विद्यापीठमा प्राध्यापनरत डा जगन्नाथ रेग्मी बताउनुहुन्छ ।

संस्कृतमा रहेका प्राकृतिक चिकित्सा, योग, आयुर्वेद, कर्मकाण्ड, व्यावहारिक ज्योतिषजस्ता विषयको पठनपाठन एवं जनस्तरमा त्यसबारे जानकारी गराउनु अपरिहार्य देखिएको उहाँले बताउनुभयो । उत्तरमध्यमा तह विस्थापन भएका अवस्थामा संस्कृत मावि एवं गुरुकूलमा कक्षा ११÷१२ को पठनपाठन तत्काल शुरु गर्नुपर्ने र प्राक् शास्त्री कक्षाको व्यापक प्रचारप्रसार गरिनुपर्ने देखिएको छ । , (रासस)

प्रतिकृया

प्रतिकृया