हेड्लाईन सम्वाददाता
२४ भाद्र, काठमाण्डौ ।

unnamed.png

नेपाल र भारतको बीचको भूराजनीतिसँगै जलीय सम्बन्ध पनि पूरानो र गहिरो छ । तसर्थ त्यसको कार्यान्वयन पक्षताको लागि आगामी आश्विन पहिलोसाताबाट नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को उच्चस्तरीय संयुक्त पाँचौ बैठक काठमाण्डौमा हुने भएको छ । दुई देशबीच विगतदेखि नै नदी सीमानाका विषयमा रहँदै आएको समस्या समाधानका लागि आगामी असोज ३, ४ र ५ गते ‘बाउन्ड्री वर्किङ ग्रुप’को बैठक काठमाण्डौमा बस्ने तयारी अन्तिम रुपमा छ । नेपाल–भारतबीच विगतदेखि नै नदी सिमानाका विषयमा समस्या रहँदै आएपछि उक्त समस्याको दीर्घकालीन समाधानका लागि बैठकले पहल गर्ने र त्यसले द्विदेशीय सम्बन्धमा थप कसिलोपना ल्याउने अपेक्षा गरिएको छ । उक्त द्विदेशीय बैठकमा यसअघि भएका कार्यप्रगतिका बारेमा समीक्षा गरिनुका साथै आगामी दिनमा गरिने कार्यबारे रणनीति तय गरिने जानकारी दिईएको छ । यद्यपि यसअघि दुई देशबीचको विभिन्न चरणमा भएका सहमतिका आधारमा नदी सीमाना भएका स्थानमा कुन–कुन आधारमा सीमा निर्धारण गर्ने भन्ने विषयमासमेत सहमति कायम भइसकेको छ ।

जसरी नेपाललाई पूर्वपश्चिम र दक्षिणतर्फ गरी तीनतिरबाट भारतको सीमाबाट घेरिएको छ, त्यस्तैगरी नेपाल–भारत नदी सिमानामध्ये २०० किमी महाकाली नदी, २० किमी नारायणी, ८० किलोमीटर मेची र ३४० किलोमीटर अन्य साना ५४ नदीनाला रहेका छन् । नदी सीमाना भएको स्थानमा बारम्बार नदीले धार परिवर्तन गरिरहने भएपछि सीमामा समस्या हुँदै आएपछि यसको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

नेपाल र भारतबीच विक्रम सम्वत् २०२१(२२ देखि शुरु भएको कित्ता नापी कार्यक्रमअन्तर्गत सीमाक्षेत्रमा कित्ता नापी हुँदा नेपाल–भारत सीमाक्षेत्रमा सम्पूर्ण रुपमा सीमास्तम्भ निर्माण भर्इसकेको थिएन । तत्कालीन समयमा नदी सीमाना भएका क्षेत्रमा जहाँबाट नदी बगेको थियो, त्यहाँसम्म नेपाल र भारतबीचको सीमा मानी नियमानुसार कित्ता नापी नापनक्सा गरी हकभोगका आधारमा सम्बन्धित जग्गाधनीलाई पूर्जा दिइएको थियो । तर अहिलेको अवस्थामा नदी बग्ने धार र स्वरुप बारम्बार परिवर्तन हुँदा सीमामा समस्या उत्पन्न हुँदै आएको छ । यसलाई द्विदेशीय वहसमा ल्याई समस्या समाधान गर्दै सम्बन्धमा दरारको अवस्था ल्याउन नदिन यस्तो खालको बैठक बस्न लागेको बताईएको छ ।

हालसम्म जेटिसी गठन भएयता सीमाक्षेत्रको नक्सा तयार गर्ने, सुस्ता र कालापानी क्षेत्रको वैज्ञानिक प्रविधिबाट १८२ स्थानका स्ट्रिप नक्सा तयार गर्ने, उक्त स्ट्रिप नक्सामा सीमारेखा यकिन गर्ने र स्ट्रिप नक्सामा सीमा रेखामा पर्ने आठ हजार ५५३ (९१६ मुख्य सीमास्तम्भ र सात हजार ६३७ सहायक सीमा स्तम्भरहरू) स्थानमा निर्माण गरिने सीमास्तम्भको स्थिति यकिन गर्ने कार्य सम्पन्न भइसकेको छ । सीमासम्बन्धी समस्या व्यवस्थापन गर्न दुबै देशको सहमतिमा २०३८ सालमा नेपाल भारत संयुक्त प्राविधिक समिति (जेटिसी) गठन भएको थियो । विभिन्न चरणमा दुई देशबीचको उच्चस्तरीय बैठकले उक्त प्राविधिक समितिलाई दिएको जनादेशका आधारमा २०४९ सालदेखि विभागले सीमाङ्कन गर्ने कार्यलाई तीव्रता दिँदै आएको हो ।
बैठकमा नेपालकोतर्फबाट नापी विभागका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतीय पक्षबाट सर्भे अफ इन्डियाका प्रतिनिधि, सीमा सुरक्षा बल (एसएसबी)का प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।

यो बैठक सन् २००७ मा काठमाण्डौमा पनि सम्पन्नभएको थियो । त्यसैबेला जेटिसीको बैठकले जेटिसीको निर्धारित समय ३१ डिसेम्बर २००७ समाप्त भएपछि अन्तरदेशीय संयन्त्रको आवश्यकता महशुस गरी नेपाल–भारत सीमा संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) गठन गरेको थियो । उक्त संयन्त्रलाई स्ट्रिप नक्शाअनुसार बाँकी रहेको सीमास्तम्भ बनाउने, बिग्रे भत्केका सीमास्तम्भ मर्मत सम्हार गर्ने एवं हराएका सीमास्तम्भ पुनःस्थापना गर्ने, स्ट्रिप नक्शाअनुसार सबै सीमास्तम्भ रुजु गर्नुका साथै ती सीमास्तम्भको निर्माण, पुनःस्थापना एवं मर्मत–सम्भार गर्ने, क्रस बोर्डर अकुपेशनको संयुक्त लगत तयार गर्ने र क्रस होल्डिङ समस्या सम्बोधन गर्न मोडालिटी बनाउने जिम्मेवारी तोकिएको थियो । नदीले बेलाबखत परिवर्तन गर्ने धारबाट नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउने हुँदा त्यसालाई निवारण गर्नकै लागि यस किसिमको संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) गठन भएको बताईएको हो । तसर्थ यस्तो बैठकले द्विदेशीय सम्बन्धमा कसिलोपना ल्याउने सर्वत्र अपेक्षा गरिएको छ ।

प्रतिकृया

प्रतिकृया