काठमाडौँ । भूकम्प प्रभावित पाँच वर्षीय बालकलाई मुटुसम्बन्धी गम्भीर रोगले च्यापेपछि उपचारका लागि खर्चको अभाव भएको छ ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ प्यूघरका पाँच वर्षीय हिमाल तामाङ मुटुमा प्वाल परी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । भूकम्पले घर भत्किएपछि तामाङकी आमा सेमसाङ तामाङको मानसिक सन्तुलन गुम्यो । हिमाल एक वर्षको हुँदै आमाको मानसिक सन्तुलन बिग्रिएपछि उनमा कुपोषणसमेत भयो । बाबु प्रेमबहादुर तामाङले उनीसहित एक दाजु र दिदीको पालनपोषण गर्दै आएका थिए । गत जेठ ८ गते प्रेमबहादुरको करेन्ट लागेर निधन भयो ।

अनाथ बनेपछि हिमाललाई स्थानीय मदर सिस्टर बालगृहले जिम्मा लिएको थियो । बालगृहकी अध्यक्ष मीना थापा हिमाललाई निमोनियाँको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याउँदा कुपोषण, मुटुको समस्यालगायत रोग देखिएको बताउछन् ।

अध्यक्ष थापाले भूकम्पले आमाबाबु गुमाउनेको सङ्ख्या बढी भएपछि उनीहरुको संरक्षण गर्न २०७२ सालमा बाल गृह स्थापना गरेकोमा हाल २५ जना भूकम्पले आमाबाबु गुमाइ अनाथ बनेका बालबालिका रहेको बताए । “उनीहरुको खाने बस्ने एवं शिक्षा दीक्षाको व्यवस्था मिलाउन नै अप्ठ्यारो छ, सहयोग जुटाएर हिमालको उपचार गर्दै आएका थियौँ, मुटुको गम्भीर समस्या देखिएपछि सहयोगीको आशामा छौँ”–उनले भने।

प्रेमबहादुरको मत्युअघि उनका भाइको पनि मृत्यु भएकाले दाजुभाइको किरिया गर्दा लागेको ऋणले परिवार उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेको हिमालका काका सोमबहादुर तामाङले गुनासो गरे । भदौ ११ गतेदेखि अस्पतालको बाल वार्ड ९०७ नं श्ययामा उपचाररत हिमाललाई बचाउन बालगृह र आफन्तले अनुरोध गरेका छन् । हिमालका दाजु र दिदीलाई भने आफन्तले संरक्षण दिँदै आएका छन् ।

हिमालको एक्स रे र भिडियो एक्स रे प्रतिवेदन अनुसार मुटु ठूलो भएकाले फाल्नुपर्ने जति रगत नफालेको उपचारमा संलग्न चिकित्सक विश्वनाथ साहले बताए । रक्तचाप उच्च भएका तामाङलाई औषधिले पनि काम नगरेको उहाँले जानकारी दिए । रासस

प्रतिकृया

प्रतिकृया