काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन् ।

वौद्धिक वृत नेपालको आज काठमाडौँमा आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए। समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उनको धारणा थियो ।

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उनको भनाइ थियो । मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गरे ।।

“अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन”, उनले भने–“हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन । अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ ।”

उनले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको छ भने ।
उनले नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र घोषणापत्रअनुसार काम गरे÷नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताए ।
कार्यक्रममा वृत्त नेपालद्वारा प्रकाशित पुस्तक ‘वौद्धिक दर्पण’ समेत मन्त्री पोखरेलले विमोचन गरेका थिए । । पुस्तकमा नेपालको आर्थिक विकास र समृद्धि कसरी गर्ने भन्ने सम्बन्धमा १९ लेख रहेका छन् । वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धि ल्याउनका लागि वौद्धिक व्यक्तिसँग सरकारले छलफल गर्नुपर्ने धारणा राखे ।

प्रतिकृया

प्रतिकृया