चितवन । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ । समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ ।

तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका सार्वजनिकस्थलमा पर्याप्त शौचालय नभएकाले सर्वसाधारणले कष्ट व्यहोर्दै आएका छन् । जिल्ला समन्वय समितिका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहको विकास भनेको ढल निकास र कालोपत्रे मात्रै ठानिदिँदा अन्य विषय ओझेलमा परेको बताउनुहुन्छ ।सार्वजनिक शौचालय आवश्यक भएर पनि नबनाइँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भन्दै उहाँ मुख्य शहरी क्षेत्रमा किनमेलका लागि आउने र लामो दूरीमा यात्रा गर्नेहरू व्यवस्थित शौचालय अभावमा जताततै शौच गर्न बाध्य हुनुपरेको बताउनुहुन्छ ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले बाटो घाटो हिँड्डुल गर्नेलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको उल्लेख गर्नुुुहुन्छ । भएका शौचालयको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा महानगरपालिकाले बनाएको मोबाइल शौचालय भए पनि छ महीनादेखि यो बिग्रिएर बसेको उहाँ जानकारी दिनुहुन्छ ।
जिल्लामा मानिसको भीडभाड हुने, नारायणगढ बजार, रत्ननगर र पर्सा बजारमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । यात्रा गर्ने यात्रुका लागि नारायणगढ–मुग्लिन सडक, पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालय नभएकाले यात्रु खुला ठाउँको भर पर्न बाध्य छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक जहाँ पायो त्यही शौच गर्दा सरुवा घातक रोग फैलने बताउनुहुन्छ । शहरी क्षेत्रको सौन्दर्यताका लागि पनि सार्वजनिक शौचालय ठाउँठाउँमा हुनुपर्ने उहाँको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शालिकराम पौडेल स्थान व्यवस्थापनको अभावमा सार्वजनिक शौचालय बनाउन कठिन भएको बताउनुहुन्छ । पर्याप्त शौचालय नभएको बताउँदै उहाँ आकर्षक शौचालय बनाउने योजना रहे पनि आवश्यक ठाउँमा स्थानको अभावमा शौचालय बनाउन नसकेको हो भन्नुहुन्छ । कतिपय ठाउँमा शौचालय बनिसकेपछि व्यवस्थापनमा समस्या देखिएकाले पनि शौचालय बनाउन नसकिएको उहाँको भनाइ छ । बनिसकेका कैयौँ सार्वजनिक शौचालय पनि प्रयोगमा नआइ जीर्ण भैसकेका छन्

समयमा शौच नगर्दा के हुन्छ

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछाने दिसा¬–पिसाब समयमै गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँका अनुसार मूत्रथैलीमा २०० मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ । यो पिसाब बढेर ३५० मिलिलिटर पुगेपछि मानिस पिसाब च्यापेर शौचालय खोज्न थाल्दछ । यती गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किने उहाँ जानकारी दिनुहुन्छ ।मिर्गौलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ । समयमा पिसाब नफेरेमा फर्किएर पुनःमिर्गौलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भइ पिसाब छान्न समस्या हुने डा लामिछानेको भनाइ छ।लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीनरुपमा मिर्गौलाको समस्या देखिने र दिसा पनि समयमा नगर्दा दिसाको पानीको मात्रा कम हुँदै जाने र गोटा पर्नाले थप जटिलता थपिनेमा उहाँ जोड दिनुहुन्छ ।

खुला दिसा–पिसाब गरे के हुन्छरु

खुला ठाउँमा दिसा–पिसाब गर्दा झाडापखाला, कमलपित्त, आउँ, हैजा, विषमज्वरोजस्ता रोग लाग्न सक्छन् । नेपाल चिकित्सक सङ्घका जिल्लाअध्यक्ष तथा वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा खुला ठाउँमा दिसा–पिसाब गर्दा पानीमा मिसिएर महामारी रोग फैलिन सक्ने बताउनुहुन्छ । झिङ्गामार्फत् त्यस्ता रोग सर्ने र भयावह हुन सक्ने भएकाले शौचालयमा मात्रै दिसाब पिसाब गर्न र त्यसपपछि राम्रोसँग हात धुनपर्नेमा उहाको सुझाव छ ।
एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीवी र १०० जुकाको अण्डा हुनसक्ने बताइन्छ । घातक रोग लगाउने यी जीवाणुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगका कारण वर्षेनी झाडापखालालगायत प्रकोप फैलिने गरेका छन् । यस्ता रोगले सयौँको ज्यान जाने गरेको छ । रासस

प्रतिकृया

प्रतिकृया