हेड्लाईन सम्वाददाता
० ८ मंसिर, काठमाण्डौ– भनिन्छ पहिलो नेपाली चलचित्र ‘आमा’ हो । नेपाली भाषा चलचित्र बनेको त्यो नै पहिलो भने होइन । नेपाली कला क्षेत्र तथा सिनेमा क्षेत्रमा भारतको अतुलनीय योगदान रहेको तथ्य बाहिरिएको छ ।
२००८ सालतिर भारतको कलकत्तामा बनेको ‘सत्य हरिश्चन्द्र’ नामक चलचित्र नै नेपाली भाषाको पहिलो फिल्म हो । यद्यपि स्वदेशमै छायांकन र स्वदेशी लगानीमा बनेको हुनाले २०२२ सालमा रिलिज भएको ‘आमा’लाई पहिलो नेपाली फिल्म मानिनु न्याय नै हो । तर वर्तमान परिस्थिति विदेशमा छाँयाकन हुनु स्वभाविक र सामान्यीकरण नै मानिन्छ ।
त्यस हिसाबले पछिल्लो परिभाषाअनुसार भारतका छाँयाकन भएको ‘सत्य हरिश्चन्द्र’ चलचित्र पहिलो नेपाली चलचित्र भएको दाबी गर्नेहरुको माग पनि जायज नै देखिन्छ । यसरी नेपाली सिने क्षेत्रमा संस्थापक योगदान भारतको देखिन्छ । चलचित्र ‘आमा’को निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म उद्योग ५४ वर्षे अद्धवैसें अबस्थामा रहेको देखिन्छ । तुलानात्मक रुपमा नेपाली चलचित्रको बजार पनि बढ्दो छ । ७ वर्षअघिसम्म नेपाली चलचित्रको बजार भारतीय चलचित्रले ओगटेको थियो । तर अहिले अवस्था ‘ब्लाक एण्ड ह्वाईट’को अवस्थाबाट अगाडि बढ्दै छ । पछिल्लोसमय लुट, पशुपतिप्रसाद, जात्रा, नाई नभन्नु ल, छक्कापञ्जा तथा शत्रुगतेजस्ता चलचित्रमा भएको आमुल सुधारले व्यवासायिकतामा चलचित्रको स्तर उकालो लागेको महशुस हुन्छ । जुन भारतीय चलचित्र बलिउडको प्रविधि तथा प्रस्तुतीलाई निरन्तर पछ्याईरहेको छ
नेपालमा वाक स्वतन्त्रतामा आएको परिवर्तनले फिल्म क्षेत्रमा नयाँ पिँढीले चाहेजस्तो अभ्यास गर्न पाइरहेका छन् ।
केही वर्षअघिसम्म पनि फिल्म कलात्मक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्नुको सट्टा प्रचारसामग्रीमै सीमित थिए । त्यसैले नेपाली साहित्यमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभहरूले २०२० को दशकमा चलाइरहेको आयामेली अभियानले फिल्मलाई कतैबाट पनि छुन सकेन ।
भारतबाट नेपाली मूलका फिल्म निर्देशक हिरासिंह खत्री झिकाई राजा महेन्द्रले २०२१ सालमा आमाको काम शुरु गराएका थिए । त्यसअघि खत्रीकै निर्देशनमा २०१८ सालमा ‘श्री ५ महेन्द्रको बयालिसौं शुभजन्मोत्सव’ नामक डकुमेन्ट्री बनिसकेको थियो । जसलाई गाउँगाउँमा लगेर देखाइएको थियो ।
त्यसपछि सरकारी लगानीमै खत्रीले ‘हिजो आज भोलि’ र ‘परिवर्तन’ फिल्म बनाए । यी तीनवटै फिल्ममा बदिलँदो परिस्थितिअनुसार पञ्चायत शासन आधुनिक र सान्दर्भिक रहेको आशय प्रस्ट्याइएको थियो । त्यतिखेर हलमा फिल्म प्रदर्शन गर्नुअघि राजपरिवार सङ्लग्न भएका विभिन्न फुटेज पनि देखाइन्थ्यो ।
जन्मिँदै कसैको बोली फुट्दैन । तर, नेपाली फिल्मको फुट्यो । अर्थात् जतिखेर नेपाली फिल्मको निर्माण थालनी भयो, त्यतिबेला फिल्ममा ध्वनिको प्रवेश भइसकेको थियो । त्यसैले नेपालको पहिलो फिल्म नै ध्वनिसहितको बन्न पुग्यो । भारतमा भने सन् १९३१ मा पहिलो साउन्ड फिल्म ‘आलम आरा’ बन्नुअघि १ हजार ३ सयभन्दा बढी साइलेन्ट फिल्म बनिसकेका थिए ।
साइलेन्ट फिल्ममा दर्शकलाई संवादबिनाका दृश्यबाटै कथा बुझाउनुपर्ने बाध्यता हुन्थ्यो । यसका लागि फिल्मकर्मीले विभिन्न विम्ब र दृश्य भाषाको निर्माण गरेका थिए । रुसी फिल्मकर्मी सर्गेइ आइजेन्स्टाइनले रचना गरेको विशेष शैलीको सम्पादन ‘मोन्टाजु साइलेन्ट फिल्मकै उपज थियो ।
सिधै साउन्ड फिल्ममा काम सुरु गर्दा नेपाली फिल्मले दृश्य भाषामा प्रशस्त ‘एक्सपेरिमेन्टु गर्न पाएन । कथानक र भावलाई पात्रको संवादबाटै बुझाउन थालियो । नेपाली फिल्म दृश्य माध्यम नभई रेडियो नाटकजस्तो हुनुको एउटा कारण यसलाई पनि मान्न सकिन्छ । दृश्यबाट स्थापित गर्नसक्ने प्रसंगलाई संवाद वा उद्घोषण (न्यारेसन)बाट प्रस्तुत गर्ने रोग नेपाली फिल्ममा अझै यथावत छ।
दोस्रो विश्वयुद्धपछि हलिउडले स्केपिज्म (पलायनवाद) मा आधारित थुप्रै फेन्टासी फिल्म बनायो । युद्धबाट पीडित जनतालाई समाजभन्दा अर्कै विषयमा भुलाउन त्यस्ता फिल्म उपयोगी पनि ठहरिए । नेपालको पञ्चायतकालमा पनि त्यस्तै खाले एक किसिमको पलायनवादी मान्न सकिने फिल्महरू बने । ती फिल्मले दर्शकको ध्यानलाई समाजका वास्तविक समस्या र मुद्दादेखि अलग्याए ।
२०४६ सालपछिको प्रजातान्त्रिक कालमा पनि पलायनवादी फिल्मले नेपालमा निरन्तरता पायो । महेन्द्रले स्थापित गर्न खोजेको ‘एक भाषा एक भेषु नीतिलाई बढावा दिने फिल्म २०६० को दशकमा पनि बनिरहे । त्यतिबेला नेपाली फिल्मकर्मी आफ्ना फिल्म ‘महेन्द्रीय राष्ट्रवाद’बाट प्रभावित भएको थियो ।
शाही नेपाल चलचित्र संस्थानले भारतीय लगानीकर्ताको सहकार्यमा हिन्दी र नेपाली भाषाको फिल्म ‘पञ्चवटी’ बनाएको थियो । भारतका वासु भट्टाचार्यको निर्देशन, अकबर खान, सुरेश ओबराय, दीप्ति नवल लगायतको अभिनय रहेको उक्त फिल्म भारतमा रिलिज भयो । तर, देवर र भाउजुको प्रेमसम्बन्धको कथा रहेको उक्त फिल्म नेपाली समाजमा विवादित हुनसक्ने डर थियो । त्यसैले नेपालमा चलाइएन ।
नेपाली फिल्मका सुरुका निर्देशकहरू हिरासिंह खत्री, बिएस थापा र प्रकाश थापा सबै भारतमा प्रशिक्षित र अनुभव बटुलेका फिल्मकर्मी हुन् । तर, उनीहरूद्वारा निर्देशित फिल्म हेर्दा त्यतिबेला भारतले फिल्म क्षेत्रमा हासिल गरेको कलात्मक र प्राविधिक उचाइलाई उनीहरूले कति पनि ख्याल गरेका रहेनछन् भन्ने छर्लंग हुन्छ ।
नेपालमा ‘आमाु, माइतीघर र हिजो आज भोलि’ रिलिज हुँदा भारतीय फिल्मको लगभग दुई दशक लामो ‘स्वर्ण युगु अन्तिम चरणमा पुगेर आधुनिक युग शुरु भइरहेको थियो भने चिनियाँ फिल्ममा दोस्रो स्वर्ण युग सकिसकेको थियो । ‘आमा’ रिलिज भएकै वर्ष भारतमा करिब चार घन्टा लामो फिल्म ‘संगम’ सुपरहिट भएको थियो । त्यही वर्ष ‘आई मिलन की बेला’ र ‘दोस्ती’जस्ता हिट फिल्म पनि आएका थिए । ‘आमा’भन्दा सात वर्षअघि भारतीय फिल्म ‘मदर इन्डिया’ अस्कर अवार्डमा मनोनित भइसकेको थियो ।
कलात्मकताका हिसाबले हेर्ने हो भने ‘आमा’लाई एकदमै कमजोर मान्न सकिन्छ । पटकथाको तहदेखि नै फिल्म फितलो छ । पुराना नेपाली फिल्मकर्मीले बजेटका कारण फिल्म राम्रो बन्न नसकेको बहाना बनाउँछन् । जबकि फिल्म बनाउन बजेट होइन, क्राफ्टम्यानसिप र कलात्मकता खाँचो पर्छ । यसको उदाहरण सत्यजित रेको फिल्म‘‘पथेर पाञ्चाली’ हो । सन् १९५५ मा रेले उक्त कालजयी फिल्म मात्रै जम्मा डेढ लाख भारुमा बनाएका थिए । विक्रम संवत् २०२२ सालमा ‘माइतीघर’ निर्माण गर्दा ११ लाख नेरु खर्च भएको थियो । भारतमा पनि त्यो समय त्यतिकै हाराहारीमा फिल्म बन्थे ।
भारतमा पहिलो रंगीन फिल्म ‘किसन कन्या’ बनेको ३८ वर्षपछि २०३२ सालमा नेपालमा पहिलो रंगीन फिल्म ‘कुमारी’को निर्माण शुरु भएको थियो । उक्त वर्ष भारतमा भने ‘शोले’ फिल्मले धमाका मच्चाइरहेको थियो ।
भारतीय फिल्मले सन् १९१३ मा बनेको ‘राजा हरिश्चन्द्र’लाई आधार मानी सन् २०१८ मा एक सय ५ वर्ष भएको छ ।
२०४१र४२ सालपछि निर्माताले मनोरञ्जन करको ५० प्रतिशत फिर्ता पाउन थाले, त्यो पनि भारतीय व्यवस्थाको कपीपेष्टबाट । तर, त्यो सुविधाले निर्मातालाई आकर्षित गरेन । किनभने नेपाली फिल्मको बजार सीमित नै थियो । बरु २०४६ सालसम्म भारतबाट ‘परालको आगो’, ‘लाहुरे’, ‘साइनो’जस्ता १० वटा नेपाली फिल्म बने ।
सन् १९४६ को भारतीय फिल्म ‘निचा नगर’ले पहिलो कान्स फिल्म फेस्टिभलमा ग्रान्ड प्राइज जितेको थियो । अन्तर्राष्ट्रिय रूपमा पहिचान कमाउन सफल पहिलो भारतीय फिल्म चेतन आनन्दद्वारा निर्देशित यही फिल्मलाई मानिन्छ । भारतमा यस फिल्मले यथार्थवादी र कलात्मक धाराको अभियानलाई सुदृढ बनाएको थियो ।
भारतमा सन् १९८० को दशकको सुरुवातसम्म मृनाल सेन, मणि कौल, अदूर गोपालकृष्णन लगायतले जारी राखेको समानान्तर फिल्म अभियानबाट प्रभावित भई लक्ष्मीनाथ शर्माले सन् १९८२ तिर ‘बदलिँदो आकाश’ निर्देशन गरे । उनी सरकारको लगानीमा एफटिआइआईबाट फिल्म निर्देशनसम्बन्धी अध्ययन गरेर फर्केका थिए । पुराना फिल्मकर्मीले उनको पहिलो फिल्मलाई तारिफ गरे पनि प्रकाश सायमीले ‘चलचित्रः कला र प्रविधिु नामक आफ्नो किताबमा ‘तथाकथित कलात्मक फिल्मुको संज्ञा दिएका छन् ।
सार्कस्तरीय फिल्म महोत्सवमा भाग लिने ‘‘कुमारी’ नै अन्तर्राष्ट्रिय सिने जगतमा जाने पहिलो नेपाली फिल्म मानिन्छ । सरकारको लगानीमा उक्त फिल्ममा अंग्रेजी सबटाइटल राखिएको थियो । कागजी रूपमा नेपाली मानिएको ‘क्याराभान’ अस्कर अवार्डमा मनोनित भएको थियो । त्यसपछि छिरिङरितार शेर्पाको ‘मुकुन्डो’ र नवीन सुब्बाको ‘नुमाफुङ’ले केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा नेपाली फिल्मलाई चिनाए । ‘नुमाफुङ’ले ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रजत पुरस्कार जितेको थियो ।
२०६४ सालको ‘कागबेनी’ फिल्मसँगै सुरु भएको डिजिटल प्रोजेक्सनले नेपाली फिल्मको बजारलाई व्यवस्थित बनाइदियो । डिजिटल प्रोजेक्सनका कारण अचेल कुनै पनि नेपाली फिल्म देशभरका ७० भन्दा बढी हलमा एकसाथ रिलिज गर्न सकिन्छ । विगतमा एउटा नेपाली फिल्मको ५–६ वटामात्र प्रिन्ट निकालिन्थ्यो । त्यतिबेला मोफसल, काठमाडौं र अर्धनगर क्षेत्रमा चरणबद्ध रूपमा फिल्म रिलिज गर्नुपर्ने बाध्यता निर्माताको थियो ।
डिजिटल प्रविधिपछि नेपाली फिल्मको निर्माण सस्तो र सरल भएको छ। राम्रो रिजोल्युसन भएका थरीथरीका महँगा डिजिटल क्यामेरा बजारमा आउन थालेपछि ५० लाख रुपैयाँ रहेको नेपाली फिल्मको औसत बजेट २५ लाखमा झरेको छ । यसले धेरैभन्दा धेरै नयाँ युवा फिल्मकर्मीका लागि ढोका खोलिदिने काम गरेको छ ।
२०६८ को ‘लुट’ फिल्म डिजिटल प्रविधिकै कारण कम बजेटमा बनेको थियो। ‘लुट’भन्दा कम बजेटमा ‘चपली हाइट’ तयार भएको थियो । थोरै पैसामा निर्माण हुने भएपछि फिल्म उद्योगलाई मुट्ठीमा लिइरहेका परम्परागत निर्माता–निर्देशकहरू नयाँ प्रतिभाहरूबाट विस्थापित हुँदैछन् ।
२०७० सालमा ९७ वटा फिल्म रिलिज भएका थिए। अचेल प्रत्येक साता लगभग दुईदेखि तीन फिल्मबीच रिलिजका लागि प्रतिस्पर्धा हुन थालेको छ । रिलिजमात्र भएर पुग्दैन, दर्शकको रुचिलाई सम्बोधन पनि गर्नुपर्‍यो ।
विभिन्न देशका राम्रा फिल्मको स्वाद लिएर ‘फिल्म लिटरेसीबढाएका दर्शकको उपस्थिति र अपेक्षा दुवै बढ्दो छ। ‘नेपाली फिल्मलाई माया गरिदिनूु भन्ने खालका अनुरोधबाट उनीहरू बहकिने सम्भावना अब छैन । राम्रा फिल्मलाई ताली र झुर फिल्मलाई गाली दिन उनीहरू कोहीसँग डराउँदैनन् । जसरी राजनीतिमा भारतको परोक्ष भूमिका र योगदान रहेको छ । त्यस्तैगरी नेपाली फिल्मको ५४ वर्षको अद्र्धशताब्दीमा भारतीय योगदान पनि उल्लेखनीय नै मान्नुपर्दछ ।

प्रतिकृया

प्रतिकृया